Logo

वीरगन्जमा छैन घरजग्गाको बहार

वीरगन्ज– आर्थिक मन्दीका कारण आर्थिक तथा औद्योगिक नगरी वीरगन्जमा घरजग्गा कारोबारमा कमी आएको छ। कोभिड महामारीले विश्वव्यापी रुपमा खस्किएको अर्थतन्त्रको नकारात्मक प्रभावले घरजग्गा कारोबारमा पनि असर गरेको हो।

मन्दीले व्यापार–व्यवसाय ठप्प भएर बजार चलायमान हुन नसक्दा त्यसको असर घरजग्गा कारोबारमा पनि परेको हो। वैदेशिक रोजगारीमा गएकाहरुले पठाएको रकमबाट घरजग्गा किन्नेहरुले पनि दैनिक उपभोग्य वस्तुमा नै बढी खर्च गर्नुपर्ने अवस्थाले बचत गर्न नसक्दा घरजग्गा खरिदबिक्रीमा कमी आएको जानकारहरु बताउँछन्।

ऋणमा राष्ट्र बैंकको कडाइ र सरकारी नीतिले पनि खरिदबिक्री कम भएको घरजग्गा कारोबारीहरुको भनाइ छ। घरजग्गा रजिष्ट्रेशन गर्दा जग्गाको मूल्यांकन बराबरकै थैली रकमको बैंक भौचर दाखिला गर्नुपर्ने बाध्यकारी प्रावधानले घरजग्गा कारोबारमा कमी आएको जग्गा कारोबारी नितेन्द्र साहले बताए। मध्यम वर्गसँग पैसा कम भएको र पैसा हुनेहरुले पनि सरकारको कडा नीतिले गर्दा घरजग्गा कारोबार बन्द गरेको उनको भनाइ छ। जुनसुकै कारोबार पनि बैंकमार्फत गर्नुपर्ने र त्यसो गर्दा आयस्रोत देखाउनुपर्ने व्यवस्थाले पनि घरजग्गा खरिद गर्नेहरु हिच्किचाएको र कारोबार ठप्प भएको जग्गा कारोबारीहरु बताउँछन्।

राष्ट्र बैंकको कडाइका कारण बैंकहरुले पनि घरजग्गामा लगानी कम गरेको र अहिले बैंकमा लगानीयोग्य रकम थुप्रिएर तरलताको अवस्थामा पनि चर्को ब्याजदरका कारण घरजग्गा कारोबार हुन सकिरहेको छैन। सरकारकै नीतिले घरजग्गा कारोबारदेखि रियलस्टेट व्यवसायमा समेत नकारात्मक असर परेको सम्बद्ध व्यावसायीहरु बताउँछन्।

वीरगन्जमा भर्खरैमात्र शुरु भएको रियलस्टेट व्यावसायीहरुको अपार्टमेन्ट पनि अहिले बिक्री ठप्प भएको छ। रियलस्टेट व्यवसायी प्रभात रुंगटा भन्छन्, ‘वीरगन्जमा राम्रै गरौं भनेर शुरु गरियो। रियलस्टेट अवधारणाको बारेमा सरकारले कुरा बुझेन। हामीले बैंकमा धितो राखेर ऋण लिएर नै बनाएका हौं। अहिले आर्थिक मन्दीले गर्दा बिक्री ठप्प भएको छ। अपार्टमेन्ट बुक गरेकाहरुले पनि कसैले लिने चासो देखाएका छैनन्। लिने विषयमा कुरा गर्दा कतिपयले सम्झौता रद्द गर्न खोज्छन्।’

घरजग्गा कारोबारमा व्यापक कमी आएको बैंकका कर्मचारी पनि बताउँछन्। एक कर्मचारीले भने, ‘घरजग्गा बिक्री गर्ने धेरै छन्, किन्ने थोरै छन्। ठूला व्यापारीलाई आफ्नै व्यापार जोगाउने चिन्ता छ। खर्च बढेको छ, आम्दानी घटेको छ। यसले पनि कारोबारमा कमी आएको हो।’ उनका अनुसार मध्यम वर्गका मानिसले घरजग्गामा लगानी गर्नुभन्दा भैपरी आउने काममा काम लाग्ने भन्दै नगद नै राख्ने गरेका छन्।

प्रतिक्रिया दिनुहोस्