नयाँ हवाई नीति मस्यौदा तयार गर्न कार्यदल गठन

संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले नयाँ हवाई नीति मस्यौदाको तयारी गरेको छ । मन्त्रालयले नयाँ हवाई नीति तर्जुमा गर्नका लागि सोमवार पूर्वसचिव यज्ञप्रसाद गौतमको अध्यक्षतामा कार्यदल गठन गरेको छ ।
मन्त्रालयका अनुसार ६० दिनको समय सीमा दिएर ७ सदस्यीय कार्यदल गठन गरी हवाई नीतिसम्बन्धी मस्यौदा तयार पार्न लागिएको हो । असोज २९ गतेको बैठकले मन्त्रिपरिषद्ले नयाँ हवाई नीतिको मस्यौदा तर्जुमा गर्नका लागि कार्यदल गठन गर्ने निर्णय गरेको थियो ।
कार्यदलका सदस्यहरुमा नागरिक उड्डयन प्राधिकरण(क्यान) का पूर्वमहानिर्देशक रतिश चन्द्रलाल सुमन, नेपाल वायु सेवा निगमका पूर्व उपमहाप्रबन्धक राजु केसी, क्यानका उप–महानिर्देशक देवानन्द उपाध्याय, वायु सेवा सञ्चालक संघ नेपालका सुमन पाण्डे, वरिष्ठ पाइलट क्याप्टेन दधिराम निरौला र मन्त्रालयका हवाई उद्योग व्यवस्थापन महाशाखाका सह–सचिव सुरेश आचार्य सदस्य सचिव छन् ।
कार्यदलले सरोकारवाला निकायसँग पत्र, फ्याकस, इमेलमार्फत सुझाव संकलन गरी, मातहतका निकायसँग समन्य छलफल गरी मस्यौदा तर्जुमा गर्नुपर्ने छ । जसको लागि २ वटा कार्यशाला गोष्ठीको समेत आयोजना गर्न अधिकार दिएको मन्त्रालयका उप–सचिव प्रकाश शर्मा ढकालद्वारा जारी गरिएको प्रेस विज्ञप्तिमा भनिएको छ ।