Logo

आजदेखि इलाममा अन्तु पर्यटन महोत्सव

इलाम- अन्तुलाई पर्यटकीय गन्तव्यका रूपमा स्थापित गर्ने उद्देश्यले सूर्योदय नगरपालिका–४ स्थित अन्तुमा शुक्रबारदेखि दुईदिने ‘अन्तु पर्यटन महोत्सव’ आयोजना हुँदैछ । महोत्सवको पहिलो दिन शुक्रबार ‘सूर्योदय आइडल’ को ‘ग्रान्ड फिना’, विभिन्न खाद्य परिकारका स्टल, दीपावली र सांगीतिक कार्यक्रम राखिएको छ ।

महोत्सवको दोस्रो दिन भोलि (शनिबार) अन्तुडाँडाबाट सूर्योदय अवलोकन, शुभकामना आदानप्रदान, लोपोन्मुख लाप्चा जातिको वेशभूषा प्रदर्शन, विभिन्न जातजातिको सांस्कृतिक झाँकी प्रदर्शन, खाद्य परिकारका स्टल, ‘सूर्योदय आइडल’को विजेता घोषणा, पुरस्कार वितरण र सांगीतिक कार्यक्रमलगायत राखिएको छ ।

‘सूर्योदय आइडल’को ग्रान्ड फिनालेमा आठजना प्रतिस्पर्धीबाट विजेता छनोट गरिनेछ । महोत्सवमा कलाकार याम बराल, भूपेन्द्र राई, पुजन प्रधान, गणेश पराजुली, शोभा पराजुली, फुटी शेर्पालगायतको प्रस्तुति रहनेछ । महोत्सवका अवसरमा नगरपालिकाले लागुपदार्थ दुर्व्यसनी, मदिरा तथा सुर्तीजन्य वस्तुको नियन्त्रण तथा व्यवस्थापनसम्बन्धी सन्देशमूलक कार्यक्रम राखिएको छ ।

महोत्सवमा आउने पर्यटकका लागि अन्तुमा रहेका ६६ वटा घरबास (होमस्टे), निजी ढंगले चलेका होटल र कटेजमा गरी पाँच हजार जनाले रात बिताउन सक्नेगरी व्यवस्थापन गरिएको छ । आयोजकका अनुसार महोत्सव अवधिभर १० हजार पर्यटक भित्रिने अपेक्षा गरिएको छ । महोत्सव आयोजना गर्न रु १० लाख खर्च हुने आयोजकको अनुमान छ ।

प्रतिक्रिया दिनुहोस्