फेवा किनारमा सुरु भयो महोत्सव

पोखरा– पोखरामा बिहीबारदेखि फेवा नव वर्ष महोत्सव २०८१ सुरु भएको छ । होटल संघ पोखराको आयोजनामा पोखराको ड्यामसाइडदेखि हल्लनचोकको करिब साढे ३ किलोमिटरमा महोत्सव सुरु भएको हो ।
महोत्सवका पाहुनलाई होटल आवासमा २० प्रतिशतसम्म छुटको घोषणा गरिएको संघका अध्यक्ष एवं महोत्सवका संयोजक लक्ष्मण सुवेदीले बताए । नेपाली नयाँ वर्षमा पोखरालाई पर्यटकीय गन्तव्यको रुपमा स्थापित गर्न पनि संघले हरेक वर्ष महोत्सव आयोजना गर्दै आएको उनले जानकारी दिए । तीन दिने सञ्चालन हुने महोत्सवको पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यले उद्घाटन गर्दै पोखरामा रात्रिकालिन व्यवसाय सञ्चालनका लागि आवश्यक मापदण्ड पूरा गर्नुपर्ने बताए ।
रात्रिकालिन व्यवसायका लागि छुट्टै अनुमति लिनुपर्ने उल्लेख गर्दै मेयर आचार्यले आवश्यक मापदण्ड पूरा गरेका व्यवसायको हकमा स्टिकर वितरण गर्ने महानगरको तयारी रहेको बताए । मेयर आचार्यले फेवातालको सिमसार पुरेर फाइदा लिन खोज्नेविरुद्ध महानगर कठोर हुने दाबी गरे । फेवातालका विषयमा अदालतले गरेको ६५ मिटर सम्बन्धि फैसला कार्यान्वयन गर्नका लागि प्राविधिक पक्ष बुझ्ने काम भइरहेको उनले बताए । पोखराको पर्यटन प्रवर्द्धन गर्न यस्ता मेला महोत्सवले थप टेवा पुग्ने मेयर आचार्यले बताए ।
संघका अध्यक्ष सुवेदीले रत्यौली, पञ्चेबाजा, भजनचुड्का र नेपाली खाना महोत्सव जस्ता आकर्षणलाई फेवा महोत्सवले समेटेको बताए । उनले महोत्सवमा निःशुल्क प्रवेशको व्यवस्था भएको उल्लेख गरे । वाराही आरतीको प्रस्तुती र एसके डान्सका तर्फबाट नृत्य प्रस्तुत गरी सुरु गरिएको महोत्सवमा दर्जनौं झाँकी र जातीय तथा सामाजिक पोशाकमा सजिएका समूहहरुको सहभागिता रहेको थियो । महोत्सव उद्घाटन अघि निकालिएका झाँकी र र्याली खहरेचोक र ड्यामसाइड चोकबाट अम्मट पुगेका थिए ।
महोत्सवमा पर्यटक दौड, विभिन्न खाना बिक्री तथा प्रस्तुती, नाचगानका कार्यक्रम, कन्सर्ट र नेपाली कला र संस्कृतिको प्रस्तुती समेटिएको आयोजक संघका महासचिव एवं प्रचार संयोजक राजेन्द्र ढकालले बताए । पोखरा पर्यटन परिषद्का अध्यक्ष पोमनारायण श्रेष्ठले पोखरा क्षेत्रको पर्यटन प्रवर्द्धन गर्न यस्ता मेला र महात्सव फरक ढंगले पर्यटकलाई छुट र प्याकेज आवश्यक भएको बताए । पर्यटन, संस्कृति र खानालाई विशेष जोड दिएर आयोजना गरिएको महोत्सव फेवाताल किनारमा ३ दिन चल्ने छ ।