Logo

१० टन फोहोर तथा ५ वटा शव व्यवस्थापन गर्ने लक्ष्य

सफा हिमाल अभियान सुरु

काठमाडौं– नेपाली सेनाले सफा हिमाल अभियानको चौथो संस्करणअन्तर्गत शुक्रबारदेखि अभियान सुरु गरेको छ । बिहीबार नेपाली सेनाको जङ्गी अड्डामा प्रधान सेनापति प्रभुराम शर्माले सफा हिमाल अभियान २०२४ को ब्यानर हस्तान्तरण गरेर अभियानको शुभारम्भ गरेका हुन् । बिहीबारबाट सुरु भएको अभियान वि.सं २०८१ जेठ २३ विश्व वातावरण दिवसको दिन सकिने बताइएको छ ।

कार्यक्रममा प्रधान सेनापति शर्माले हिमाल सफा गर्ने अभियानले सफलता पाउने विश्वास व्यक्त गरे । अभियानअन्तर्गत सगरमाथा, ल्होत्से र नुप्त्से हिमालबाट १० टन फोहोर तथा ५ वटा मानव शव व्यवस्थापन गर्ने लक्ष्य लिइएको छ । सेनानी आदित्य कार्कीलाई ब्यानर हस्तान्तरण गर्दै प्रधान सेनापति शर्माले पर्वतीय पर्यावरण सुरक्षा एक सार्वजनिक महत्तको विषय भएकाले हिमाल सफाइ अभियान सरोकारवाला सबैको साझा प्रयास, समन्वय र सहकार्यबाट मात्र सफल हुने बताए ।

उनले भने, ‘पर्यावरण सुरक्षामा करिब ५ दशकको सक्रिय सहभागिता एवम् सफा हिमाल अभियानमा विगत पाँच वर्षदेखिका अनुभव र यस वर्षको विस्तृत र व्यवहारिक योजनाले गर्दा यस अभियानले सफलतापूर्वक आफ्नो लक्ष्य प्राप्त हुने छ ।’ प्रधान सेनापति शर्माले अभियानको सफलता फोहोर संकलनको मात्राले मात्र नभई अभियानमार्फत प्रसारित हुने सचेतना तथा कार्यक्रमले हिमाल संरक्षणमा थप टेवा पुग्ने बताए ।

उनले भने, ‘हिमाललाई धार्मिक, सांस्कृतिक एवं मानव सभ्यताको समेत विकास भएको प्रमुख अंगको रुपमा लिने गरिएकोले जलाधार, जैविक विविधताको संरक्षण, साहसिक पर्यटनको सम्भावनाका कारण हिमालय क्षेत्रको उत्तिकै महत्व रहेको छ ।’ पछिल्ला वर्षहरुमा हिमाल आरोहणमा वृद्धि हुँदै गएको र फोहोर पनि थुप्रिन थालेकाले सरसफाइमा सरकारको नीति अन्तर्गत नेपाली सेनाले यसको जिम्मेवारी लिएको प्रधान सेनापति शर्माको भनाइ थियो ।

कार्यक्रममा नेपाली सेनाका सहायक रथी एवं सफा हिमाल अभियान, २०२४ का अभियान निर्देशक सञ्जय देउजाले अभियानका क्रममा सगरमाथा, ल्होत्से र नुप्से हिमालका बेसक्याम्प र सो भन्दा माथिका उचाइबाट १० टन फोहोर तथा ५ वटा मानव शव संकलन गर्ने लक्ष्य लिएको जानकारी दिए । उनले नेपाल सरकारको वार्षिक कार्यक्रममा उल्लेख भए बमोजिम हिमालहरुको स्वच्छता कायम गर्ने उद्देश्य अनुरुप सफा हिमाल अभियान २०२४ गरिएको बताए ।

जैविक विविधता तथा प्राकृतिक स्रोतको सुरक्षा तथा व्यवस्था सबैको साझा दायित्व हो भन्ने कुराको आत्मसात् गर्दै सरोकारवाला निकायको सक्रिय सहभागिताको आवश्यकताको महशुस गरिएकाले यस अभियानमा विभिन्न सरकारी तथा गैरसरकारी निकाय, स्थानीय निकाय तथा संरक्षण कार्यमा सरोकार राख्ने विभिन्न संघसंस्थासँग सहकार्य गरी अभियानलाई अगाडी बढाएको सेनाको भनाइ छ । मानिसका कारण हिमालमा धेरै फोहोर थुप्रिइरहेका कारण सफा गरेर हिमालको स्वच्छता कायममा लागिरेको सेनाले जनाएको छ ।

सरकारको राष्ट्रिय कार्यक्रमअन्तर्गत नेपाली सेनाको अगुवाइमा सञ्चालन हुने अभियान सफल बनाउन वन तथा वातावरण मन्त्रालय, खुम्वु पासाङ्ग ल्हामु गाउँपालिका, नेपाल पर्वतारोहण संघ, हिमालयन उद्दार संघ, पर्वातरोहण सञ्चालक संघ नेपाल, एभरेष्ट लिंकलगायतका संघसंस्थाको प्राविधिक सहयोग रहेको छ । सफाइ टोली वैशाख २ गते सगरमाथा आधार शिविरतर्फ प्रस्थान गरी करिब ५० दिनको कार्य योजना अनुसार सफाइको कार्यमा संलग्न रहनेछ ।

संकलित फोहोर मध्ये सड्ने फोहोर स्थानीय निकायलाई र नसड्ने फोहोर पुनः प्रयोग गर्ने संस्थालाई व्यवस्थापनको लागि हस्तान्तरण गरी समापन गर्ने योजना रहेको छ । अभियानले विश्वव्यापी चुनौतीको रूपमा रहेको वातावरणीय प्रदूषण तथा तापमान परिवर्तनको असरलाई केही हदसम्म न्यून गर्न सहयोग पुग्ने विश्वास नेपाली सेनाले लिएको छ । नेपाली सेनाले विभिन्न सरकारी तथा गैर सरकारी संघसंस्थासँगको समन्वय र सहकार्यमा सन् २०१९ देखि सफा हिमाल अभियान सञ्चालन गर्दै आएको हो ।

प्रतिक्रिया दिनुहोस्