Logo

वैशाख ४ बाट रुपन्देहीमा सहकारी पीडितको आन्दोलन

बुटवल– रुपन्देहीमा सहकारी पीडितहरुले वैशाख ४ बाट आन्दोलन गर्ने घोषणा गरेका छन् । सुप्रिम बचत तथा ऋण सहकारी संस्था लिमिटेडबाट पीडितहरुले आफूहरुको धैर्यता र संयमतालाई सरकारले नजरअन्दाज गरेको भन्दै आन्दोलन गर्ने बताएका हुन् । पीडित समूहले बिहीबार पत्रकार सम्मेलन गर्दै सरकारलाई जगाउन अब सडक संघर्ष गर्नु परेको बताए ।

‘हाम्रो धैर्यता र संयमतालाई वर्तमान सरकारले नजर अन्दाज गरेको महसुस गरेका छौं,’ पीडित समूहका संयोजक विजयकुमार नेपालले भने । उनले सरकारलाई दबाब दिन र पीडितहरुको न्यायको लागि दबाबमूलक विरोधका कार्यक्रम गर्नुपरेको बताए । सुप्रिम सहकारीका संरक्षक तथा सञ्चालक जीवी राई र व्यवस्थापक सागर केशीलगायतलाई पक्राउ गर्न राज्यले उदासीनता देखाएको र गृहमन्त्रीप्रति आशंका उब्जिएको पीडित समूहका संयोजक नेपालको भनाइ छ ।

‘राईले सञ्चालन गरेको गोरखा मिडिया प्रालिका सहकर्मी रवि लामिछाने गृहमन्त्री भएको थुप्रै दिन भइसक्दा पनि जीवी राईलगायत घटनामा संलग्न व्यक्तिहरु पक्राउ पर्न सकेका छैनन्,’ उनले भने,‘पक्राउ गर्न राज्यले देखाएको उदासीनताले सरकार पीडितलाई न्याय दिनभन्दा पनि पिडकलाई उम्काउन लागि परिरहेको हो कि भन्ने शंका पैदा गरेको छ ।’ उनीहरुले राज्यले सहकारी पीडितलाई न्याय दिन भन्दा पनि गृहमन्त्री चोख्याउन तल्लीन रहेको आरोप लगाए ।

बचतकर्ताको बचत रकम हामीले कहिले पाउने भन्दै उनीहरुले प्रश्न गरे । पत्रकार सम्मेलनमा अर्का पीडित देवीलाल भट्टराईले जनतालाई देशमा सहकारीको माध्यमबाट लुट्न, ठग्न खोजिएको आरोप लगाए । अर्की पीडित चिना थापाले सहकारीमा आफ्नो ४५ लाख रुपैयाँ डुबेको बताइन् । छोरालाई बाहिर पठाउने तयारी गरेको पैसा अन्तिममा सहकारीमा डुबेको गुनासो गरिन् ।

बुटवलमा रहेको सुप्रिम बचत तथा ऋण सहकारी संस्थाका १० हजार ३९१ बचतकर्ताको रकम अपचलन भएको बताइएको छ । बचतकर्ताहरुको ७८ करोड ५० लाख रुपैयाँभन्दा बढी रकम हिनामिना भएको बताइएको छ । प्रहरीले सहकारीका वर्तमान अध्यक्ष ओमप्रकाश गुरुङ र भैरहवा शाखाकी व्यवस्थापक दुर्गा पाण्डेय चापागाईलाई गत फागुन ४ गते पक्राउ गरिसकेको छ ।

प्रतिक्रिया दिनुहोस्