राजस्व चुहावट नियन्त्रणमा निर्मम हुन निर्देशन

वीरगन्ज– उपप्रधानमन्त्री तथा गृहमन्त्री रबि लामिछानेले देशको शान्ति सुरक्षा र राजस्व चुहावट नियन्त्रणमा निर्मम भएर लाग्न मातहतका निकायलाई निर्देशन दिएका छन् । राजस्व चुहावट नियन्त्रण सम्बन्धी वीरगन्जमा आयोजना गरिएको गोष्ठीमा गृहमन्त्री लामिछानेले त्यस्तो निर्देशन दिएका हुन् ।
उनले अहिलेको आर्थिक संकटको अवस्थामा पार पाउनका लागि धेरै चुनौती रहेको, यसमा राजस्व चुहावट नियन्त्रण र शान्ति सुरक्षाको प्रमुख भूमिका रहने भएकोले सोही अनुसार अगाडि बढ्नु पर्नेमा जोड दिए । गृहमन्त्री लामिछानेले भने, ‘शान्ति सुरक्षा, राजस्व चुहावट नियन्त्रणमा निर्मम ढंगले लाग्नुपर्छ । आयातमा प्रतिबन्धत लगाएका वस्तुहरु पनि बजारमा पाइने गरेको छ । यसले सीमा क्षेत्रमा खटिएका सुरक्षा निकायमाथि पनि नैतिक प्रश्न उठेको छ । यहाँहरू सीमाक्षेत्रमा तस्करी नियन्त्रण र राजस्व चुहावट नियन्त्रणमा निर्मम हुनोस् ।’
नेपालको प्रमुख प्रवेशद्वार र देशको मुख्य राजस्व संकलन हुने नाका वीरगन्जबाट तस्करीमा वृद्धि भएको र राजस्व संकलनमा कमी आएपछि गृहमन्त्री लामिछाने बिहीबार राजस्व चुहावट नियन्त्रण गोष्ठीमा सहभागी हुन वीरगञ्ज आएका हुन् । पर्सा, बारा र रौतहटका प्रमुख जिल्ला अधिकारी, सुरक्षा निकायका प्रमुख, भन्सार कार्यालयका प्रमुखलगायत अन्य सरोकारवाला निकायसहितको गोष्ठीमा चोरी तस्करी र राजस्व चुहावट नियन्त्रणमा प्रधानमन्त्रीले पनि स्पष्ट निर्देशन दिएको हुँदा सरकारको चाहाना अनुसार काम गर्न निर्देशन गरे ।
भन्सार नाकाबाट जाँच पास भएर आएका मालवाहक सवारी साधनमा पनि बिलविजक शंकास्पद रहेको भन्दै राजमार्गमा दिनहुँजसो ट्रक नियन्त्रणमा लिने गरेको र आयात प्रतिबन्धित वस्तु पनि बजारमा पाउने गरेको भन्दै गृहमन्त्री लामिछानेले तस्करी नियन्त्रण र राजस्व वृद्धिमा गम्भीर भएर लाग्न मातहतका अधिकारीहरुलाई निर्देशन दिए । राज्यको अर्थतन्त्रमा महत्वपूर्ण योगदान गर्ने निजीक्षेत्रको भूमिका रहेकोले शान्ति सुरक्षा र व्यावसाय प्रवर्द्धनमा सुरक्षा निकायले सहजीकरण गर्नुपर्ने उल्लेख गर्दै गृहमन्त्री लामिछानेले गलत गर्नेहरुलाई निर्मम भएर प्रस्तुत हुनु पर्ने बताए ।
अहिलेको आर्थिक अवस्थालाई सुधार गर्नका लागि आर्थिक क्रियाकलापहरु बढाउन आवश्यक रहेको बताउँदै उनले सुरक्षा निकायहरुले कुनै किसिमको असहज व्यावहार नगर्न सजग गराए । छलफलमा पर्साका प्रमुख जिल्ला अधिकारी दिनेशसागर भुसाल, बाराका प्रमुख जिल्ला अधिकारी शशिधर घिमिरे, जिल्ला प्रहरी कार्यालय पर्साका प्रमुख प्रहरी उपरीक्षक कुमोद ढुंगेल, बाराका प्रमुख प्रहरी उपरीक्षक महेन्द्र खड्का, वीरगञ्ज उद्योग वाणिज्य संघका अध्यक्ष अनिल अग्रवाल, उद्योगी व्यवसायी, भन्सारका कर्मचारी लगायतका सुरक्षा निकाय एवं सरोकारवालाको उपस्थिती रहेको थियो ।
गोष्ठीमा वीरगन्ज उद्योग वाणिज्य संघको तर्फबाट विभिन्न माग र सुझाव सहितको ध्यानकर्षण पत्र पनि बुझाएको छ । संघले सीमा नाकाबाट हुने अवैध व्यापारले वैध व्यापारमा असर गरेको, सरकारले लिएको असम्भव राजस्व लक्ष्य, उधारो कानुन ल्याउनुपर्ने र भन्सार तथा कर नीतिले पनि राजस्व संकलनमा चुनौती देखिएकोले केही पुनरावलोकन गर्न सुझावसहितको सात बुँदे ध्यानाकर्षण पत्र बुझाएको वीरगन्ज उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष हरि गौतमलले बताए ।