Logo

कृषिमा लगानी थप

बैंक तथा वित्तीय संस्थाहरूले कर्जा लगानी वृद्धि गर्न नसकेको धेरै समय भइसकेको छ । गत वर्ष मौद्रिक नीतिमार्फत १२ प्रतिशत हाराहारीमा निजी क्षेत्रमा जाने कर्जा बढाउन लक्ष्य राखेकोमा ५ प्रतिशत पनि पुगेन । चालु आवको कर्जा लगानीको तथ्यांक पनि राम्रो छैन । खासमा कोभिडपछिका एकाध वर्षबाहेक निजी क्षेत्रमा जाने कर्जा बढ्न सकेको अवस्था छैन ।

आन्तरिक अर्थतन्त्र सुस्त भएकाले बजारमा माग सिर्जना हुन सकेको छैन । माग नभएका कारण उद्योगी–व्यवसायीले आन्तरिक उत्पादन बढ्न सकेको छैन । माग नभएकै कारण आयात पनि घटेको छ । यी सबै कारणले निजी क्षेत्रमा जाने कर्जा बढ्न सकेको छैन । चालु मौद्रिक नीतिले ११.६ प्रतिशतले कर्जा बढाउने लक्ष्य लिएको छ । यो फागुनसम्ममा बैंक तथा वित्तीय संस्थाले लक्ष्यको ४.२ प्रतिशत कर्जा प्रवाह गरेका छन् । फागुनसम्म निजी क्षेत्रमा प्रवाहित कर्जा १ खर्ब ९९ अर्बले बढेको छ ।

अघिल्लो वर्ष यस्तो कर्जा १ खर्ब २८ अर्ब अर्थात् लक्ष्यको २.८ प्रतिशतले बढेको थियो । चालु आर्थिक वर्षका आठ महिनामा बैंक तथा वित्तीय संस्थाहरूको कुल लगानीमध्ये सबैभन्दा धेरै लगानी औद्योगिक क्षेत्रमा गएको छ । औद्योगिक उत्पादन क्षेत्रतर्फको कर्जा ८.७ प्रतिशतले बढेको देखिन्छ । गत साउनमा यस्तो कर्जा १.१ प्रतिशतले मात्रै बढेकोमा फागुनसम्ममा क्रमशः बढ्दै यो अवस्थामा आएको हो । साउनपछि भदौमा ३.२, असोजमा ५.१, कात्तिकमा ५.९, मंसिरमा ६.३, पुसमा ८ र माघमा ८.८ प्रतिशतले बढेको थियो ।

औद्योगिक उत्पादनतर्फ गत आवका आठ महिनामा ५० अर्ब ८८ करोड रुपैयाँ कर्जा लगानी भएको थियो । यो वर्ष त्यो बढेर ६५ अर्ब ४५ करोड पुगेको छ । यो वर्ष फागुनसम्ममा औद्योगिक क्षेत्रपछि यातायात, सञ्चार तथा सार्वजनिक सेवा क्षेत्रतर्फको कर्जा ८.३ प्रतिशतले बढेको छ । यस्तै, निर्माण र उपभोग्य क्षेत्रतर्फको कर्जा ६–६ प्रतिशतले बढेका छन् । थोक तथा खुद्रा व्यापार क्षेत्रतर्फको कर्जा ३.२ प्रतिशत र सेवा उद्योग क्षेत्रतर्फको कर्जा ५.२ प्रतिशतले बढेको छ ।

हाम्रो कृषि निर्वाहमुखी छ । यो पेसामा संलग्न व्यक्ति वा परिवार आफ्नो दैनिक गुजाराका लागि मात्र खेती गर्छन् । कृषिलाई आय आर्जनको स्रोत बनाउन सकिएको छैन ।

निर्माण क्षेत्रमा गत आवको तुलनामा ६ प्रतिशतले कर्जा बढेर १२ अर्ब २४ करोड रुपैयाँ लगानी भएको छ । कर्जा लगानी विस्तार हुन नसकेको यो वर्षमा कृषिक्षेत्रमा लगानी झनै न्यून देखिन्छ । यो वर्षको सुरुदेखि नै कृषिक्षेत्रमा बढ्न नसकेको कर्जा लगानीको अवस्था आठ महिनासम्म पनि निरन्तर छ । यो साउनमा ०.९ प्रतिशतले घटेको कृषि कर्जा लगानी भदौमा १.२ प्रतिशतले ऋणात्मक बन्न पुगेको थियो । असोजमा ०.४ र कात्तिकमा ०.९ प्रतिशतले बढेको कृषि कर्जा मंसिरमा ०.१ प्रतिशतले घटेको थियो ।

यस्तै पुसमा १.१, माघमा ०.८ र फागुनमा ०.३ प्रतिशतले बढेको छ । यो वर्षका आठ महिनामा सबैभन्दा उच्च वृद्धि पुसमा भएको देखिन्छ । हाम्रो मुलुकले सयौं वर्षदेखि कृषिलाई प्राथमिकता दिँदै आएको छ । नेपाल कृषिप्रधान मुलुक हो । कृषिमा आश्रित जनसंख्या सबैभन्दा उच्च छ । तर, यही कृषि सबैभन्दा बढी हेपिएको छ । सरकारको प्राथमिकतामा कृषि परेको छैन । सरकार मात्र होइन, कर्जा विस्तारको तथ्यांकले बैंक तथा वित्तीय संस्थाबाट पनि सहयोग पाएको छैन ।

कृषिप्रधान मुलुक भनिँदा कृषिमै कर्जा लगानीले प्रश्रय नपाउनु दुःखद विषय हो । त्यसै पनि हाम्रो कृषि निर्वाहमुखी छ । यो पेसामा संलग्न व्यक्ति वा परिवार आफ्नो दैनिक गुजाराका लागि मात्र खेती गर्छन् । कृषिलाई आय आर्जनको स्रोत बनाउन सकिएको छैन । अधिकांश स्थानमा परम्परागत रूपमा मात्र खेती भइरहेको छ । अहिलेको जमाना व्यावसायिक कृषि हो । उत्तरी छिमेकी चीनले कृषिको आधुनिकीकरणमा फड्को मारेको छ । भारत पनि त्यसको पछि लागेको अवस्था छ ।

दुवै मुलुकको बीचमा रहेका हामी पुरानै ढर्रामा छौं । कृषिलाई जीवननिर्वाहबाट आय आर्जनको स्रोतका रूपमा लैजान प्रशस्त लगानी हुनु आवश्यक छ । बिनालगानी उन्नति हुने विषय रहेन । तर, सरकार लगानी बढाउन तयार छैन । बैंक तथा वित्तीय संस्थाले कृषिक्षेत्रमा प्रवाह गरेको कर्जा लगानीको तथ्यांकले पनि कृषिमा सरकारको ध्यान नगएको पुष्टि गर्छ । त्यसैले कृषिलाई अहिलेको अवस्थाबाट माथि लैजाने हो भने लगानी बढाउनुको विकल्प छैन ।

प्रतिक्रिया दिनुहोस्