देशका विभिन्न स्थानमा वर्षा
काठमाडौं- काठमाडौं उपत्यकालगायत कोसी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी भूभागमा हल्का वर्षाको सम्भावना रहेको पूर्वानुमान गरिएको छ । जल तथा मौसम विज्ञान विभागअन्तर्गत मौसम पूर्वानुमान माहाशाखाले बिहीबार कोसी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी क्षेत्रमा हल्का वर्षा भएको र उपत्यकामा पनि साँझसम्म हल्का वर्षाको सम्भावना रहेको जनाएको छ ।
महाशाखाका अनुसार कोसी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी भूभागको थोरै स्थान साथै बाँकी पहाडी भूभागको एक–दुई स्थानमा मेघगर्जन/चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ । यस्तै, लुम्बिनी प्रदेशलगायत कोशी, बागमती, गण्डकी, कर्णाली र सुदुरपश्चिम प्रदेशको पहाडी भू–भागका केही स्थानमा हावाहुरीको सम्भावना रहेको छ । हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको महाशाखाले जनाएको छ ।
कोसी प्रदेशलगायत देशको पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली तथा बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने छ । कोसी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी भू–भागको थोरै स्थान साथै बाँकी पहाडी भूभागको एक–दुई स्थानमा मेघगर्जन/चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको महाशाखाले बताएको छ ।
माहाशाखाका अनुसार देशको उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानमा हल्का हिमपातको पनि सम्भावना छ । बिहीबार राति भने कोसी, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशलगायत देशको पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहने महाशाखाद्वारा जारी बुलेटिनमा उल्लेख गरिएको छ ।