पूर्वाधार विकासमा पहल «

पूर्वाधार विकासमा पहल

 
दुईवटा फ्लाइओभरसहित निर्माण हुन लागेको नागढुंगा–सिस्नेखोला सुरुङमार्गले नेपालको पूर्वाधार विकासमा नयाँ फड्को मार्नेमा दुईमत हुन सक्दैन ।

पूर्वाधारलाई कुनै पनि मुलुकको आर्थिक विकासको मेरुदण्ड नै मानिन्छ । विडम्बना नै भन्नुपर्छ, नेपालमा संस्थागत विकास अभ्यास थालिएका सात दशकभन्दा लामो समयसम्म पनि मुलुकभित्र पर्याप्त पूर्वाधार विकास हुनै सकेन । सडक सञ्जाल जोडिएपछि आर्थिक गतिविधि आफैं सुचारु हुन्छ भन्ने मान्यता त राख्यौं, तर सडकमा पनि गतिलो पूर्वाधार बनाउन कहिल्यै सोच पु-याएनौं । देशका राष्ट्रिय राजमार्ग भनिने अधिकांश सडक अहिले पनि मुस्किलले दुई लेनका साँघुरा छन् ।
राष्ट्रिय राजमार्गहरूकै हालत यो छ भने सहायक सडकको अवस्था के होला ? सहजै अनुमान गर्न सकिन्छ । मुख्यतया सडकका पूर्वाधार दुई निकायबाट बन्ने गरेको छ, पहिलो सडक विभाग र अर्को स्थानीय तह । स्थानीय तहमा पनि विभिन्न दाताहरूको सहयोगमा ग्रामीण सडक र कृषि सडक गरी भिन्दाभिन्दै मोडलका सडक बन्ने गरेको छ । जनसहभगितामूलक विकासका नाममा ग्रामीण सडक बनाउने बहानामा अहिले देशैभरि अवैज्ञानिक तरिकाले डोजर, स्क्याभेटरजस्ता उपकरण प्रयोग गरेर वातावरणीय क्षति पुग्ने गर िवनपाखा, नदी किनारमात्र होइन, स्थानीयवासीहरूसँग समन्वयन नै नगरी व्यक्तिगत जग्गाजमिन खोतल्ने, खोस्रिने प्रवृत्ति बढेको छ, जसले गर्दा पहिरोसहितका वातावरणीय विनाश बढेको छ नै, आमनागरिकमा स्थानीय तहमाथि असन्तोष बढ्ने क्रमसमेत जारी छ । स्थानीय तहहरूमार्फत निर्माण भएका ६० हजार किलोमिटरभन्दा बढी ग्रामीण तथा कृषि सडकमध्ये आधाभन्दा बढी प्रयोग नै हुन नसक्ने अवस्थामा छन् । त्यो केबल बजेट सक्नका लागि बनाइएका संरचनामात्र हुन् ।
यी अपवादहरूका बाबजुद नेपालमा पछिल्ला समयमा केही दातृ सहयोगमा निकै राम्रा भौतिक पूर्वाधार विकासका काम भइरहेका छन् । काठमाडौं–धुलिखेल, बुटवल र वीरगन्जलगायतका केही स्थानमा स्तरोन्नति गरिएका सडक पूर्वाधारहरू केही नमुनायोग्य कार्य हुन् । यस्ता पूर्वाधार विकासलाई नमुनामा मात्र सीमित नगरी द्रूतताका साथ सबै क्षेत्रमा हुने गरी आवश्यक कार्य अघि बढाउन सकिएको खण्डमा निकट भविष्यमा नै त्यसको प्रतिफल अर्थतन्त्रमा देखिन सुरु हुनेछ । राष्ट्रिय गौरवका आयोजनाका रूपमा विगतदेखि अगाडि बढाइएका काठमाडौं–निजगढ द्रूतमार्गदेखि पूर्व–पश्चिम रेलमार्ग, हुलाकी राजमार्ग, मध्यपहाडी राजमार्ग र उत्तर दक्षिण राजमार्गहरूलाई मात्र तत्काल पूरा गर्ने ठोस योजनासहित सरकार अघि बढ्ने हो भने देशको दिगो र उच्च वृद्धि असम्भव छैन ।
भर्खरैमात्र देशको भौतिक पूर्वाधारमा नयाँ आयामका रूपमा नागढुंगा–सिस्नेखोला सुरुङमार्ग निर्माणका लागि शिलान्यास भएको छ । कुल २२ अर्ब रुपैयाँको लागतमा यो आयोजना आउँदो ४२ महिनाभित्र सम्पन्न हुने योजना सम्पन्न भए यसले ४ किलोमिटर दूरी छुट्ट्याउनेछ । यद्यपि, यो नेपालको पहिलो सुरुङमार्ग भने होइन । सन् १९१७ मा नै चन्द्रशमशेरका समयमा अमलेखगन्ज–भीमफेदी मार्गमा चुरे पहाडमा ७ सय ८५ फिट लामो सुरुङ निर्माण भएको थियो ।
दुईवटा फ्लाइओभरसहित निर्माण हुन लागेको नागढुंगा–सिस्नेखोला सुरुङमार्गले नेपालको पूर्वाधार विकासमा नयाँ फड्को मार्नेमा दुईमत हुन सक्दैन । जापानी निर्माण कम्पनी हाजमालाई निर्माण दायित्व सुम्पिइएकाले नेपाली वा अन्य केही विदेशी ठेकेदारले जस्तो निर्माण कार्यमा लापरवाही गर्ने वा ढिलासुस्ती गर्ने सम्भावना निकै कम छ, किनकी हाजमाले उदयपुर सिमेन्ट उद्योगदेखि बीपी राजमार्गसम्मको निर्माणमा आफ्नो दक्षता प्रस्तुत गरिसकेको छ । सरकारले अढाई किलोमिटर लामो सुरुङमार्गमै सन्तुष्टि लिनेभन्दा मुलुकमा अन्य यस्तै भौतिक पूर्वाधार विकास गर्नका लागि एकीकृत र दीर्घकालीन योजना बनाउनु जरुरी छ ।

प्रतिक्रिया दिनुहोस्