Logo

पोखरामा पर्यटकलाई सावेर बन्जीको सुविधा

पोखरा– पोखरा आउने पर्यटकले साबर (पानीको फोहोरा माथि) बन्जी गर्न पाउने भएका छन् । निश्चित शुल्कमा साहसिक पर्यटकले उक्त साबर बन्जी गर्न पाउने हाइग्राउण्ड एडभेन्चर नेपाल प्रा.लि.का निर्देशक दिनेश मर्हजनले बताए । पोखरा महानगरपालिका–२५ हेम्जामा साहसिक पर्यटकीय गतिविधि सञ्चालन गर्दै आएको कम्पनीले पर्यटकको बसाई अवधि लम्ब्याउने उद्देश्यले पछिल्लो समयमा यस्तो सुविधा ल्याएको उनले बताए ।

बञ्जीका क्रममा ८२ मिटर माथिबाट हाम फालेका पर्यटक तल झरिसके पछि पानीको फोहरामा रमाउन पाउने उनले जानकारी दिए । उक्त साबर बन्जी गर्दा आन्तरिक तथा बाह्य पाहुनाले प्रतिव्यक्ति ६ हजार ५ सय रुपैयाँ शुल्क निर्धारण गरिएको कम्पनीले जनाएको छ । आगन्तुक पाहुनालाई भिडियो, फोटो र टिसर्ट पनि कम्पनीले निःशुल्क उपलब्ध गराउने भएको छ । पानीको फोहोरा भने करिब १० मिटर माथि जाने कम्पनीले जनाएको छ ।

बन्जी गर्दा भने ७० मिटरसम्म तल जाने गरेको छ । १२ वर्ष अघि पोखरामा साहसिक खेल गतिविधि अघि बढाएको हाइग्राउण्ड एडभेन्चरले पोखरामा पछिल्लो प्रोडक्टको रुपमा साबर बन्जी ल्याएको हो । पर्यटनको क्षेत्रमा ठूलो लगानी रहेको बताउँदै मर्हजनले पर्यटकीय पूर्वाधारमा लगानी गर्ने क्रम अहिले पनि जारी रहेको उल्लेख गरे । कम्पनीले एक दिनमा ६० जना पर्यटकलाई सावर बञ्जीको अनुभव दिलाउन सक्ने दाबी गरेको छ ।

हाइग्राउण्ड एडभेन्चर्स नेपालमा शरद गोल्छा, भरत गोल्छा, अभिनव चुरिवाल र दिनेश महर्जनले संयुक्त लगानी गरेका छन् । कम्पनीले सावर बञ्जी सञ्चालन गर्नका लागि मात्र थप ५० लाख रुपैयाँ लगानी मर्हजनले बताए । यसअघि पनि हाइग्राउण्ड एडभेन्चर्स नेपालले गरेको लगानी करिब ५० करोड रुपैयाँ पुगिसकेको कम्पनीको दाबी छ । आगामी दिनमा थप साहसिक पर्यटनका क्षेत्रमा लगानी बढाउने कम्पनीको योजना छ ।

पोखरामा पर्यटकका लागि नयाँ प्रोडक्टको रुपमा उक्त साबर बन्जी सञ्चालन गरिएको कम्पनीका निर्देशक महर्जनले जानकारी दिए । जिपलाइन, बञ्जी, स्वीङ र एटिभीलगायतका प्रोडक्टमार्फत पाहुनालाई सेवा दिँदै आएको कम्पनीले साबर बञ्जीमा रमाउन चाहने स्वदेशी तथा विदेशी पर्यटकका लागि पानीको फोहोरामा फरक अनुभव लिन सक्ने निर्देशक महर्जनले बताए । वार्षिक ६ हजार जनाले बञ्जी गर्दै आएको कम्पनीले जनाएको छ । जसमध्ये ४० प्रतिशत नेपाली, त्यसपछि भारत, चीन र युरोपदेखिका पर्यटक रोजाइमा बन्जी परेको कम्पनीको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्