भैरहवा सेजमा थप चार उद्योग सञ्चालनको तयारी

भैरहवा– भैरहवा विशेष आर्थिक क्षेत्र (भैरहवा सेज)मा थप चार उद्योगहरु सञ्चालनको तयारीमा रहेका छन् । सञ्चालनको तयारीमा रहेका उद्योगहरुमा इको नेपाल इनर्जि, आरसी इण्डष्ट्रिज, स्पट इलेक्ट्रिक तथा हिमालयन ग्रेनाइट प्रालि रहेका छन् । भैरहवा सेजका कार्यालय प्रमुख एवं इन्जिनियर सबुत डुम्रेका अनुसार ती चार उद्योगहरुमा अहिले पूर्वाधार निर्माणका साथै मेशिनरी जडान कार्य अन्तिम चरणमा पुगेको छ ।
आउँदो असार भित्रै उत्पादन सुरु गर्ने गरी काम भइरहेको छ । फर्निस आयल उत्पादन गर्ने योजनासहित स्थापना भएको इको नेपाल इनर्जि बुटवलका युबाहरुको हो । त्यसैगरी स्थापित अर्को उद्योग आरसीले पुरानो ब्याट्रीको लिड प्रशोधित गरी नयाँ लिड उत्पादन गर्छ । स्पट इलेक्ट्रिक गुजराती कम्पनी हो । विद्युतीय साइकलको पार्टसहरु ल्याएर यहाँ एसेम्बल गरी विद्युतीय साइकल तयार गर्छ । हिमालयन ग्रेनाईटलले भने कच्चा ढुंगा ल्याएर मार्वल टायल बनाउने बताएको छ ।
अन्य १२ कम्पनीहरुले पनि उद्योग सञ्चालन गर्ने भनी सेजसँग सम्झौता गरेकोमा लुम्बिनी मेशीनरी इण्डस्ट्रिज प्रालि र अलाइन्स मेटावयर प्रालिले उद्योगका नक्सा एवं प्रशासनिक काम गरिरहेको छ । लुम्बिनी मेशीनरी इलेक्ट्रिक ओभन तथा अलाइन्स स्टिलका भाडा बनाउने उद्योग हो । सम्झौता गरेका बाँकी १० उद्योगमध्ये ६ वटा सम्पर्कमा रहेको र अन्य ४ सम्पर्कमा नरहेको सेज प्रमुखले डुम्रेले बताए ।
सम्झौता गरेका कम्पनीले हर्बल प्लान्ट, गार्मेन्ट, गहना, जुत्ता, छालाका सामानलगायतका उद्योग स्थापना गर्ने गरी सम्झौता गरेका छन् । सम्झौता गर्न आउँदा आफूले लिने प्लटको भाडा एक वर्षको बैंक ग्यारेन्टीका रूपमा राख्नु पर्ने प्रावधान छ । एक वर्षभित्र सम्पर्कमा नआए बैंक ग्यारेन्टीका रूपमा रहेको रकम सेजले फिर्ता गर्न नपर्ने व्यवस्था रहेको छ । उद्योग सञ्चालनमा आए बैंक ग्यारेन्टीका रूपमा रहेको रकमबाट एक वर्षको भाडा कटाउने प्रावधान छ ।
यसअघि भैरहवा सेजमा स्थापना भएका ७ उद्योगमध्ये ६ वटा अहिले चालु अवस्थामा छन् । ती उद्योगहरु शक्ती मिनरल्स, विस्तार ग्लोवल, ब्रिलियन्ट लाइट, तिरुपति मेटल, एस पोलिमर्श, पञ्चकन्या इण्डष्ट्रिज र जयबुद्ध मेटल क्राफ्ट छन् । सञ्चालनमा रहेका ६ वटा र सञ्चालनमा आउन लागेका ४ उद्योगहरुले सेजको ६८ प्लटमध्ये २७ प्लट ओगटेका छन् । सबैभन्दा धेरै शक्री मिनरल्सले ८ प्लट लिएको छ । यो उद्योगले चुनढुंगा प्रशोधन गर्दछ ।
त्यस्तै ३ प्लट लिएको बिस्तारले स्टीलका भाडाकुडा उत्पादन गर्दै आएको छ भने २ प्लट लिएको तिरुपति मेटल इण्डष्ट्रिजले पुराना ब्याट्रीको लिड प्रशोधन गरी नयाँ लिड बनाउँछ । त्यस्तै १ प्लट लिएको एस पोलिमर्शले प्लास्टिकका झोला, बोतल प्रशोधन गरी प्लास्टिकको दाना उत्पादन गर्छ भने २ प्लट क्षेत्रफल ओगटेको पञ्चकन्या स्टिल प्रालिले स्टिलको खानेपानी टंकी उत्पादन गर्छ । धातुका मुर्ति एवं उपहारका सामान बनाउँदै आएको जयबुद्ध भने अहिले बन्द छ ।
उद्योग सञ्चालनकै क्रममा उद्योग हेर्ने जिम्मा लिएका एक सञ्चालकको निधनपछि उद्योग बन्द रहेको सेज प्रमुख डुम्रेले बताए । ‘हामीले सञ्चालकहरुलाई उद्योग सञ्चालनका लागि पत्र पठाएर ताकेता गरिरहेका छौं, उनीहरुले भाडा पनि बुझाउनु भएको छैन, तोकिएको समय भित्र सम्पर्कमा आएनन् भने उद्योगका सबै सामानहरु सरकारको हुन्छ । सेजलाई दिनुपर्ने दायित्व त्यसैबाट असुल उपर गरिनेछ,’ डुम्रेले भने ।
सेज सुरु हुँदा भाडा प्रति वर्ग मिटर १५० रुपैयाँ रहेकोमा अहिले २० रुपैयाँमा झरेको छ । यसलाई पनि घटाएर प्रति वर्ग मिटर १० रुपैयाँ बनाउने प्रस्ताव सेजले मन्त्रालयमा पठाएको छ । त्यसैगरी सेजमा उत्पादित सामानमध्ये ७५ प्रतिशत भारत निकासी एवं २५ प्रतिशत स्वदेशमा खपत गर्नुपर्ने २०७३ सालमा आएको सेज ऐनमा थियो । सेजमा उद्योगीहरुको उत्साह नदेखिएपछि २०७५ सालमा ऐन संशोधन गरी ६० प्रतिशत निकासी र ४० देशभित्र खपत गर्ने बनाइयो ।
अझै पनि उद्योगहरु आउन सकेका छैनन् । गत वर्षको बजेटमा सेजलाई पूर्ण रुपमा सञ्चालनका लागि व्यवस्था मिलाउने भनिएपछि ऐन संसोधन गरी ३० प्रतिशत निकासी र ७० प्रतिशत स्वदेशमा खपत गर्ने गरी प्रस्ताव मन्त्रालय पठाइएको छ । भाडा पनि १० रुपैयाँ प्रति वर्ग मिटरको गरिएको छ । भैरहवा सेजका प्रमुख डुम्रेले आर्थिक वर्ष २०८१/०८२ भित्र सेजमा तोकिएअनुसार उद्योग स्थापना हुने अपेक्षा रहेको बताएका छन् ।
‘अब वस्तुको सीमा र भाडा घटाउन प्रस्ताव भइसकेको छ । यो पास भएपछि उद्योगीहरु आकर्षित हुने अपेक्षा गरिएको छ । सेजमा जहिले पनि उद्योगीले विद्युत राम्रो भएन भन्ने गुनासो गरिररहेका छन् । अब त्यो पनि हट्छ । सेजभित्रै सबस्टेशन निर्माण अन्तिम चरणमा छ । त्यसलाई आवश्यक पर्ने डेडीकेटेड विद्युत लाइन सेज गेटमै आइसकेको छ,’ प्रमुख डुम्रेले भने ।
सेजमा अहिले सर्वसाधारणले प्रयोग गर्ने सिटी फिडरको विद्युत उपलब्ध छ । सेज भित्रका उद्योगमा आवश्यक कच्चा पदार्थ ल्याउँदा भन्सारमा सत प्रतिशत छुट छ भने उद्योग सुरु भएको पहिलो पाँच वर्ष आयकरमा सत प्रतिशत र त्यसपछि ५० प्रतिशत छुटको व्यवस्था ऐनमा छ । निकासी बढी गरेर व्यापार घाटा कम गराउने लक्ष्यसहित विशेष आर्थिक क्षेत्र स्थापना भएको हो ।