कोल्ड स्टोरमै कुहियो कृषि सामग्री

झापाको बिर्तामोड नगरपालिकामा रहेको रोयल कोल्ड स्टोरेजमा राखिएको लाखौँ मुल्यको कृषिजन्य सामग्री कुहिएको छ । स्टोरेज सञ्चालकको लापरवाहीका कारण भण्डारण गरेको लाखौँ मुल्यको कृषिजन्य सामग्री कुहिएको हो ।
तीन दिनदेखि मेसिन बिग्रिएकाले कृषक तथा व्यवसायीले राखेको लाखौं मुल्यका कृषिजन्य सामग्री कुहिएको हो । आलु खनेर गोदाममा ल्याएर राखेका किसान बिउ रोप्ने बेलामा कुहिएको पाएपछि निरास बनेका छन् । अब आलुको बीउ बजारमासमेत नपाउने चिन्ता उनीहरुमा बढेको बताउँछन् ।
झापा गाउँपालिकाको न्यू देउमाई कृषि सहकारी संस्थाले स्टोरेजमा ५ सय २४ बोरा आलु भण्डारण गरेको थियो । अधिकांश आलु काम नलाग्ने भएको सहकारीका लेखा समिति संयोजक शरदकुमार तिम्सिनाले बताए । “प्रत्येक बोरामा ५० केजी आलु छ, तीनबोरा आलु छान्दा एक बोरा मात्र प्रयोग गर्न सकिने अवस्थाको पाइयो” तिम्सिनाले भने, “तर, उक्त आलुको ल्याब परीक्षण गर्दा ढुसी लागेको भेटियो, यसमा उमार शक्ति कम हुने, उम्रिएपनि बोट डढ्ने, उपचार महङ्गो हुने लगायतका समस्या आउने रहेछन् ।”
सहकारीले भण्डारण गरेको ५ सय २४ बोरा आलुमा २ सय ७७ बोरा सहकारीले नै रोप्ने र २ सय ७४ बोरा आलुको बिउ बिक्री गर्ने लक्ष्य राखेको तिम्सिनाले बताए । “१६ लाख ५० हजार रुपैंयाँ बराबरको आलुको बिउ नष्ट भएको छ, क्षतिपूर्ति दिन्छौँ भनेको छ” तिम्सिनाले भने, “क्षतिपूर्ति पाएपनि यो जातको बिउ नपाउने चिन्ता हामीमा छ ।” आलु रोप्नका लागि अन्य बाली नलगाई जमिन खाली राखेका थियौँ, स्टोरेजको लापरवाहीले आलुमात्र कुहिएन सहकारीको बचत, शेयर, लगानी र फाइदा समेत डुब्यो, तिम्सिनाले भने, “सहकारीले काभ्रेको पाँचखालबाट आलुको मुल बिउ ल्याएर खेती सुरु गरेको थियो ।”
झापालाई आलुको बिउमा आत्मनिर्भर बनाउने उद्देश्यले आलुको बीउ उत्पादन सुरु गरेको सहकारीमा १ सय ६५ जना कृषक आवद्ध छन् । पाँच वर्ष भित्रमा १५० विगाहमा आलुको बिउ उत्पादन गर्ने लक्ष्य राखे पनि पहिलो वर्ष नै घाटा बेहोर्नु परेको तिम्सिनाले बताए । गत वर्षदेखि सहकारीले उन्नत जातको आलुको बिउ उत्पादन गर्न सुरु गरेको थियो ।
बिर्तामोडका ब्यवसायी सुदर्शन खतिवडाले ५ लाख रुपैयाँको लगानीमा खरिद गरेको फ्रेस क्रिम (केक बनाउन प्रयोग गरिने) मा पनि क्रिममा ढुसी पलाएपछि क्षतिपूर्तिको माग गरेका छन् । वीरगञ्जबाट ल्याएर भण्डारण गरेको सो क्रिममा ढुसी आएपछि बजारबाट फिर्ता आएको बताए । “पञ्चामृत डेरीलाई अलिकति क्रिम पठाएको थिएँ” खतिवडाले भने, “डेरीले क्रिममा ढुसी परेको भन्दै फिर्ता गरेपछि यहाँ आएर चेक गर्दा सबै क्रिम काम नलाग्ने भएको रहेछ ।”
स्टोरेज परिसरमा भेटिएका फूल व्यापारी पिन्टुु शाहले राख्ने कि नराख्ने भन्ने अन्यौलका बीच सयपत्री फूलको माला भण्डारण गरेको बताए । उनले प्रत्येक वर्ष दिपावलीमा भारतीय बजारबाट ठूलो परिमाणमा फूल ल्याएर कोल्ड स्टोरमा भण्डारण गर्ने गरेका छन् ।