Logo

राष्ट्रिय सभा उपाध्यक्षमा विमला घिमिरे निर्वाचित

काठमाडौं- नेकपा (एमाले) की सांसद विमला घिमिरे राष्ट्रिय सभाको उपाध्यक्षमा निर्वाचित भएकी छिन् । बुधबार राष्ट्रिय सभामा भएको निर्वाचनमा विमला घिमिरेलाई उपाध्यक्षमा निर्वाचित गरियोस् भन्ने प्रस्तावको पक्षमा बहुमत भएकाले उनी निर्वाचित भएको अध्यक्ष नारायणप्रसाद दाहालले घोषणा गरेका हुन् ।

एमाले, नेकपा (माओवादी केन्द्र), राष्ट्रिय स्वतन्त्र पार्टी, नेकपा (एकीकृत समाजवादी) लगायतका सत्तारुढ दलहरुको साझा उम्मेदवार रहेकी घिमिरेको पक्षमा ३९ मत परेको थियो भने काँग्रेसकी विष्णुदेवी पुडासैनीले १६ मत प्राप्त गरेकी थिइन् । बैठकमा ५५ जना सांसदहरुको उपस्थिति रहेको थियो ।

अध्यक्ष दाहालले नवनिर्वाचित उपाध्यक्ष घिमिरेलाई बधाई दिँदै कार्यकालको पूर्ण सफलताको कामना समेत गरे । गत चैत्र १५ गते तत्कालीन उपाध्यक्ष उर्मिला अर्यालले पदबाट राजीनामा दिएपछि सो पद रिक्त भएको थियो । राष्ट्रिय सभाको अर्को बैठक चैत्र ३० गते शुक्रवार एक बजेर १५ मिनेटमा बस्ने गरी बोलाइएको छ ।

प्रतिक्रिया दिनुहोस्