स्थानीय तहमा बैंक नपुग्दा सेवाग्राहीलाई समस्या

फेदाप र मेन्छ्यायेम गाउँपालिकामा बैंक नहुँदा बैंकिङ कामकाज गर्न सेवाग्राहीलाई समस्या भएको छ । गाउँपालिकाको केन्द्रबाटै सरकारी कामकाज हुँदै आए पनि आर्थिक कारोकारका लागि भने बैंक नहुँदा स्थानीय सेवाग्राहीहरूलाई सास्ती भएको हो । गाउँपालिका स्तरमा सञ्चालन हुने साना तथा ठूला योजनाका बैंक खाता सञ्चालन गर्न, योजनाको भुक्तनी गर्न, शिक्षक तथा अन्य कर्मचारीको तलब भत्तालगायतका सुविधाका लागि समस्या भोग्नु परेको फेदाप गाउँपालिकाका अध्यक्ष हरि चोङबाङले बताए ।
बैंक नहँुदा गाउँपालिका बासीलाई वित्तीय कारोबार गर्न धेरै नै सास्ती छ अध्यक्ष चोङबाङले भने । योजना सम्झौताका लागि खाता खोल्नसमेत एकदिन लगाएर सदरमुकाम म्याङलुङ धाउनुपर्ने बाध्यता रहेको उनले बताए । उपभोक्ता समितिले योजना सम्झौताका लागि गाउँपालिका र सदरमुकाम दुवै ठाउँ धाउनुपर्दा सेवाग्राहीको समय र खर्च बढेको मेन्छ्यायेम गाउँपालिकाका अध्यक्ष यादवबहादुर खापुङले बताएका छन् । सेवाग्राहीले मात्र नभई सरकारी कर्मचारीले समेत बैंक नहुँदा समस्या भोगिरहेका छन् । स्थानीय तहमा बैंक सञ्चालनमा नआउँदा सामाजिक सुरक्षाका लागि छुट्टयाइएको लाखौं रकम बोकेरै ल्याउनुपर्दा नगद सुरक्षामा समेत जोखिम रहेको कर्मचारीको भनाइ छ ।
जिल्लाको व्यावारिक केन्द्र मानिएको लालिगुसार नगरपालिकाको बसन्तपुरमा पनि बैंकको स्थापना नहुँदा समस्या उस्तै छ । स्थानीय स्तरमा खुलेको माउन्ट मकालु बैंकले सामान्य रूपमा वित्तीय कारोबार गर्दै आएको छ । तर, यो बैंकमा सम्पूर्ण सरकारी कारोबारको खाता सञ्चालन गर्न अनुमति नभएको कारण सेवाग्राहीलाई म्याङलुङ धाउनुको विकल्प नभएको मेयर अर्जुनबाबु माबोहाङले बताए । निकट भविष्यमा सञ्चालनमा आउने गरी राष्ट्रिय वाणिज्य बैंक र एनसीसीले बैंकले बसन्तपुर बजारमा पूर्वाधार निर्माण गरिरहेका छन् । बजार क्षेत्रमा वाणिज्य बैंकले घर नभेटाएकाले आफ्नै घर भाडामा दिएको नगरपालिकाका मेयर माबोहाङले बताएका छन् ।