कनेक्ट आइपिएसमा जुनोको क्रस बोर्डर रिक्वेस्ट टु पे सुरु

काठमाडौं– नेपाल क्लियरिङ हाउसले अमेरिकाको जुनो र ठमेल रेमिटमार्फत् क्रस बोर्डर रिक्वेस्ट टु पे सेवाको थालनी गरेको छ । एनसिएचएलद्वारा सञ्चालित मल्टी बैंकिङ प्ल्याट्फर्म कनेक्ट आइपिएसमा थप सेवाको रूपमा सुरू गरिएको उक्त रिक्वेस्ट टु पेको सेवा एक पृथक खालको मेसेजिङ सोलुसन हो ।
जसबाट नेपालको ग्राहकले संयुक्त राज्य अमेरिकामा रहेका भुक्तानीकर्ता व्यक्ति, व्यवसाय वा संस्थासँग सजिलै भुक्तानी रिक्वेस्ट पठाउन र भुक्तानी प्राप्त गर्न सक्ने भएका छन् । यसरी नेपालको राष्ट्रिय स्तरको भुक्तानी पूर्वाधारमा क्रस बोर्डर रिक्वेस्ट टु पेलाई एक्सयुएनओसँग इन्टिग्रेट गरी अमेरिकामा रहेको नियो बैंकिङ नेटवर्कमा रहेका बैंकबाट भुक्तानी प्राप्त गर्न सकिने सेवाको थालनी गर्ने एनसिएचएल र जुनो पहिलो संस्था बनेको छ ।
रिभर्स रेमिटेन्स सुविधाको रुपमा रहेको यस सेवामार्फत् नेपालका लाभग्राहीले संयुक्त राज्य अमेरिकाका भुक्तानीकर्तालाई भुक्तानी अनुरोध पठाउन र कनेक्ट आइपिएस प्ल्याट्फर्ममार्फत् नेपालमा तोकिएको बैंक खातामा रियल टाइममा भुक्तानी प्राप्त गर्न सक्नेछन् ।