ईपीएस भाषा परीक्षामा ६ हजार ३२१ उत्तीर्ण
थप १० हजार कोटाका लागि परीक्षा हुँदै

काठमाडौं– रोजगार अनुमति प्रणाली (ईपीएस) अन्तर्गत पहिलो चरणमा लिइएकोे भाषा परीक्षामा ६ हजार युवा उत्तीर्ण भएका छन् । यो संख्या ३ चरणको भाषा परीक्षासहित छनोट गरिने १६ हजार ४०० मध्येको हो ।
बाँकी १० हजार छनोटका लागि भाषा परीक्षा सञ्चालन भइरहेको छ । फागुन पहिलो हप्ताबाट ४७ हजार ५१५ जनाको लागि लिइएको पहिलो चरणको भाषा परीक्षाबाट ६ हजार ३२१ युवा उत्तीर्ण भएका हुन् । भाषा परीक्षा चैत २४ मा सकिएको थियो भने नतिजा मंगलबार प्रकाशित भएको हो । कोरिया जान रोष्टरमा रहेका युवाको संख्या कम हुन थालेपछि परीक्षा सकिएलगत्तै नतिजा प्रकाशित गरिएको हो ।
कोरियामा नेपाली युवाको माग बढ्न थालेपछि ईपीएसअन्तर्गत १६ देशमध्ये नेपालबाट धेरै कामदार लैजाने योजनाअनुसार परीक्षा सकिएलगत्तै नतिजा प्रकाशित गरिएको हो । परीक्षाका लागि आवेदन दिने नेपालीको संख्या धेरै भएपछि ३ चरणमा परीक्षा भइरहेको छ । तीन चरणकै परीक्षा सम्पन्न गर्न १० महिना अर्थात् २०८१ पुससम्म लाग्ने वैदेशिक रोजगार विभाग ईपीएस शाखाकी निर्देशक मैया कँडेलले जानकारी दिइन् ।
भाषा परीक्षाका लागि १ लाख ६३ हजार ६३५ जनाले आवेदन दिएकोमा १६ हजार ४०० छनोट गरेर पठाउने योजना रहेको निर्देशक कँडेलले बताइन् । पहिलो चरणमा पास भएका ६ हजार युवाको सीप परीक्षण वैशाख ९ गतेबाट हुने र त्यसलगत्तै स्वास्थ्य परीक्षण हुने जनाइएको छ । हाल पास भएका युवालाई जुन महिनामा हुने रोजगारदाता छनोटका लागि तयार हुन भनिएको छ । कोरियाले रोष्टरका रहेका युवालाई त्रैमासिक रुपमा छनोट गर्ने गरेका कारण हाल पास भएका युवालाई यो वर्ष दोस्रो छनोट तालिकाभित्र पार्ने योजना नेपालको छ ।
दक्षिण कोरियाले ईपीएसअन्तर्गत सन् २०२४ का लागि नेपाललाई तोकेको कोटा थप गरेका कारण यो वर्ष हालसम्मकै धेरै नेपालीले कोरियाको रोजगारी पाउने सम्भावना छ । २०२३ मा ईपीएसअन्तर्गत १९ हजार ६९८ नेपाली कोरिया प्रवेश गरेकोमा २०२४ को हालसम्म २ हजार ७९२ जना गइसकेका छन् । अन्य देशको तुलनामा नेपालीहरु कम अवैधानिक बस्ने र मेहनति भएको बताउँदै कोरियाले यो वर्षका लागि निर्धारण गरेको १५ हजार कोटामा १३.२ प्रतिशत थप गरेर १६ हजार ४०० बनाएको छ ।
यसबाहेक कोरियाले सन् २०२३ सम्म कृषि तथा पशुपालन, उत्पादनमूलक र शिप बिल्डिङ क्षेत्रबाट मात्र कामदार लगिरहेकोमा यो वर्षदेखि वन, सेवा र रुट इन्डष्ट्री क्षेत्रसमेत थप गरी यी क्षेत्रमा पनि नेपालबाट कामदार लैजाने भएको छ । विगत वर्षको भन्दा सन् २०२४ मा अझ बढी संख्यामा नेपाली कामदार कोरिया लैजाने व्यहोराको पत्र कोरिया सरकारबाट आएको छ । कोरियाले यो वर्ष नेपालबाट २२ हजारभन्दा बढी युवा लैजाने आश्वासन दिएको छ । कोरियाले थप गर्ने क्षेत्रमा नेपालबाट छिटोछरितो कामदार लैजान हाल रोष्टरमा रहेकाहरुको क्षेत्र परिवर्तन गरेर लैजाने योजना बनाएको शाखाले जनाएको छ ।
हाल उत्पादन, कृषि तथा पशुपालन र शिप बिल्डिङ क्षेत्रको रोष्टरमा रहेकालाई समेत वन, सेवा र रुट इन्डष्ट्री क्षेत्रमा लैजाने योजना रहेका कारण पास भएका सबै युवा कोरिया प्रवेश गर्न सक्ने सम्भावना बढेको छ । ईपीएस अन्तर्गत कोरियाले सन् २०२४ मा १ लाख ६५ हजार विदेशी श्रमिक माग गर्ने भएका कारण नेपालबाट धेरै युवा कोरिया जानेछन् । यो कोटा ईपीएसअन्तर्गतका नेपालसहित १६ देशको लागि निर्धारण भएको हो । १६ देशमध्ये पनि नेपाली श्रमिक रुचाइएका कारण सो कोटा नेपालले धेरै पाउने ईपीएस शाखाले जनाएको छ ।
तोकिएको १ लाख ६५ हजार प्रवासी विदेशी श्रमिकको संख्यामध्ये नयाँ नियमितको लागि १ लाख ४३ हजार ५३० जना तोकिएको छ भने बाँकी २१ हजार ४ सय ६० जना प्रतिवद्ध (कमिटेड श्रमिक) लाई तोकिएको छ । निर्धारण गरिएको क्षेत्रअनुसारको कोटामध्ये उत्पादनमूलक क्षेत्रमा ९५ हजार, कृषि तथा पशुपालन क्षेत्रमा १६ हजार जना, शीप बिल्डिङ ५ हजार जना, निर्माण क्षेत्रमा ६ हजार जना, सेवा क्षेत्रमा १३ हजार जना र अन्य आवश्यक क्षेत्रमा ३० हजार जना तोकिएको छ ।