Logo

सुक्खा पर्यटकीय मौसम

यस वर्षको पर्यटकीय मौसम सुरु हुँदा अघिल्ला वर्षभन्दा पर्यटक आगमनमा केही सुधार आएको छ । गत वर्ष १० लाख पर्यटक आएकामा यो वर्षको तीन महिनामा ३ लाखभन्दा धेरै आएका छन् । यसले व्यवसायीमा आशा जगाएको छ । तर, मुलुकभित्र पछिल्ला वर्षहरूमा जसरी पर्यटकीय पूर्वाधार थपिएका छन्, त्यसको तुलनामा पर्यटक बढ्न सकेका छैनन् । यही कारण पर्यटक आगमन बढ्दा पनि होटल अकुपेन्सी पर्याप्त छैन । अहिले व्यवसायी आशावादी मात्र बनेका छन्, खुसी हुन सकेका छैनन् ।

नेपालमा फेब्रुअरीदेखि अप्रिलसम्मलाई पर्यटक मौसम मानिन्छ । यो साहसिक पदयात्रादेखि हिमाल आरोहण र धार्मिक पर्यटकका लागिसमेत उपयुक्त समय हो । प्रमुख मौसममा पनि गन्तव्यअनुसार अहिले होटल अकुपेन्सी क्षमताको २० देखि ६० प्रतिशतसम्म मात्र पुगेको छ । अहिले लुम्बिनी क्षेत्र (भैरहवा, लुम्बिनी, बुटवललगायत) को औसत अकुपेन्सी २० प्रतिशतभन्दा कम छ । यस्तै पर्यटकीय राजधानी पोखरामा अकुपेन्सी ५५ प्रतिशत पुगेको छ भने बन्दीपुरमा २० प्रतिशतमात्र छ ।

अर्को पर्यटकीय गन्तव्य चितवनको सौराहामा होटल अकुपेन्सी ६० प्रतिशत हाराहारीमा छ । काठमाडौं उपत्यकामा पनि अकुपेन्सी सन्तोष लिनुपर्ने अवस्थामा पुगेको छैन । मुलुकभर होटल तथा पर्यटन क्षेत्रमा करिब २० खर्ब लगानी पुगेको बताइन्छ । गत आवमा मात्र २० अर्बभन्दा बढी लगानीमा एक दर्जन ठूला होटल तथा रिसोर्ट सञ्चालनमा ल्याइएका छन् । गत आवसम्मको तथ्यांक हेर्दा डिलक्ससहितका पाँचतारे होटलको संख्या १ सय ७३ थियो ।

नेपालमा फेब्रुअरीदेखि अप्रिलसम्मलाई पर्यटक मौसम मानिन्छ । यो साहसिक पदयात्रादेखि हिमाल आरोहण र धार्मिक पर्यटकका लागिसमेत उपयुक्त समय हो ।

यसैगरी तारे स्तरबाहेकका डिलक्स/लक्जरी हेरिटेज बुटिक होटलसहित पर्यटकस्तरीय होटल, लज तथा रिसोर्ट १ हजार २ सय २८ पुगेका थिए । तारेस्तरका ८ सय ५७ होटलमा मात्र बेड संख्या १६ हजार ३ सय ३५ छ । यसबाहेक पर्यटकस्तरीय डिलक्स÷लक्जरी हेरिटेज बुटिक होटल, लज तथा रिसोर्टमा बेड संख्या ३७ हजार ३० पुगेको छ । यो सबै तयार भएको पूर्वाधार र उपलब्ध जनशक्तिलाई हेर्दा वार्षिक ४० लाखभन्दा बढी पर्यटकलाई सेवा प्रदान गर्न यो क्षेत्र सक्षम देखिन्छ ।

पछिल्ला वर्षहरूमा पूर्वाधार धेरै बनेका कारण अहिले १० लाख पर्यटक आउँदा पनि थोरै भइरहेको छ । पछिल्ला तीन महिनालाई हेर्दा औसतमा १ लाखभन्दा धेरै पर्यटक आएका छन् । अहिलेसम्म सरकारी तथ्यांकमा नसमेटिएका सडकमार्ग हुँदै नेपाल आउने भारतीय पर्यटकको संख्या पनि निकै धेरै छ । तराईका धेरै रिसोर्ट, होटल, पोखरा, सौराहा र राजधानीमा समेत सडकमार्ग भएर आउने भारतीयहरू धेरै छन् । तर पनि होटल अकुपेन्सी २० देखि ६० प्रतिशतसम्म मात्र छ ।

जबकि यो प्रमुख पर्यटकीय मौसम हो । वार्षिक १ करोड पर्यटक सजिलै तान्ने गरी हामीसँग पर्याप्त आधार छन् । सगरमाथादेखि लुम्बिनीसम्मका धरोहर छन् । हिमाल चढ्ने, साहसिकदेखि धार्मिक र सांस्कृतिक सबै क्षेत्रका पर्यटकका लागि उत्कृष्ट गन्तव्य भएर पनि हामी १० लाख पर्यटकमा रमाइरहेका छौं । निजी क्षेत्रले यो क्षेत्रमा सम्भावना देखेर नै खर्बौंको लगानी गरेको हो । सरकारले सडक र हवाईमार्गमा सुधार नगरेका कारण पर्यटक धेरै नआएको आरोप लगाइने गरेको छ ।

स्वदेशी पर्यटकका हकमा यो सत्य भए पनि विदेशीका लागि यो पूर्ण सत्य होइन । मुख्य विषय विदेशमा हाम्रो राम्रो प्रचारप्रसार नपुग्नु नै हो । सगरमाथा मात्र होइन, संसारकै उच्च हिमश्रृंखलामध्ये आठवटा हामीसँगै छन् । तर हामीले यसलाई विश्वभर पुर्‍याउन सकेका छैनौं । एक–दुईवटा सामुद्रिक तट भएका मुलुकले लाखौं पर्यटक तान्न सकेका छन् । हामी उच्च सम्भावना भएर पनि असफल भइरहेको अवस्था छ । सरकार र निजी क्षेत्र दुवै मिलेर काम गर्न सके वार्षिक १ करोड पर्यटक ल्याउन सकिने सम्भावना छ । खाँचो जाँगरको हो ।

प्रतिक्रिया दिनुहोस्