स्वर्गद्वारीमा दुई महिनामा ६० हजार पर्यटक

पवित्र धार्मिक तथा पर्यटकीय तीर्थस्थल स्वर्गद्वारी दर्शनका लागि पछिल्लो पटक आगमन वृद्धि भएको छ । पछिल्लो पुसदेखि माघ मसान्तसम्ममा ६० हजार बढी पर्यटक तथा धार्मिक तीर्थयात्रीहरूले स्वर्गद्वारी दर्शन तथा अवलोकन गरेका छन् ।
मकर संक्रान्तिले यस पटक पर्यटक तथा तीर्थयात्रीको संख्यामा उल्लेख्य वृद्धि आएको स्वर्गद्वारी आश्रमले जनाएको छ । “मकर संक्रान्तिमा आउने पर्यटक तथा तिर्थालुमा वर्षेनी वृद्धि हुदै आएको छ,” आश्रमका व्यवस्थापक वासुदेव भट्टराईले भने, “पछिल्लो समय भारतीय तीर्थयात्रीको भिड हुने गर्छ ।” ६० हजार पर्यटक तथा तिर्थालुमध्ये मकर संक्रान्तिलाई केन्द्रित गरेर आउने पर्यटक तथा तिर्थालुको संख्या २० हजार बढी छ । यसमध्ये भारतीय तिर्थालु उल्लेख्य छन् ।
मकर संक्रान्तिमा नियमित पूजाआजा भन्दा बेग्लै मेला नलागे पनि पछिल्लो पटक भारतीय पर्यटक तथा तिर्थालुहरू यस समयमा बढी आउने गरेको व्यवस्थापक भट्टराईले जानकारी दिए । आश्रमका अनुसार बुद्धजयन्ती, श्रावण र पुस महिनामा भारतीय तिर्थालुहरू तीर्थयात्राका लागि बढी आउने गर्छन् । आन्तरिक पर्यटक भने बाह्रै महिना नियमित आउने भट्टराईले बताए ।
तीर्थालुहरू बढेसँगै आश्रमको आम्दानीमा समेत वृद्धि भएको आश्रमले जनाएको छ । पुसदेखि माघ १५ गतेसम्म मात्रै ७९ लाख भेटी संकलन भएको व्यवस्थापक भट्टराईले जानकारी दिए । “गत आर्थिक वर्षमा कुल १ करोड ७० लाख भेटी संकलन भएको थियो,” उनले भने, “अहिलेको दरले हेर्दा भेटी संकलनमा पनि वृद्धि हुने अनुमान छ ।”
वार्षिक ५ लाख पर्यटक तथा तीर्थालुहरू आश्रमको दर्शनका लागि आउने अनुमान भए पनि अढाईदेखि तीन लाखसम्म पर्यटक भित्रने गरेको तथ्याङ्क छ । वैशाखे पूर्णिमा (वुद्धजयन्ती), महाप्रभुको जन्मदिन श्रावण शुल्क एकादशी, कार्तिक शुक्ल औसी र महाप्रभुको देहावसान भएको माघ शुक्ल चौथीका दिन विशेष पूजाआजासँगै मेला लाग्ने गर्दछ । यस बेला पनि पर्यटक तथा तिर्थालुको घुइँचो हुन्छ ।
वि.सं. १९१६ साल श्रावण शुक्ल एकादशीमा वृहस्पतीवार अनुराधा नक्षत्रमा श्री १०८ महाप्रभुको रोल्पाको रुम्टीमा जन्म भएको र पछि उनी प्यूठानको स्वर्गद्वारीमा आएर तपस्या गरी स्वर्गद्वारीमा पूजाआजा सञ्चालनमा ल्याएको किम्बदन्ती छ । आश्रममा १ सय १७ वर्षदेखि महाप्रभुले सुरु गरेको अखण्ड दीप बलिरहेको छ ।