१६ हिमाल आरोहण गर्न ३३४ जनाले लिए अनुमति

काठमाडौं– वसन्तयाममा एक दर्जन बढी हिमाल आरोहणका लागि ३३४ जनाले अनुमति लिएका छन् । आरोहण अनुमति लिने क्रम सुरु भएसँगै सर्वोच्च शिखर सगरमाथासहित करिब डेढ दर्जन हिमाल आरोहणका लागि ३३४ जनाले अनुमति लिएका छन् ।
पर्यटन विभागका अनुसार आइतबारसम्म ३६ समूहका लागि (२६० पुरुष/७४ महिला) गरी ३३४ जनाले आरोहणको अनुमति लिएका छन् । जसमा सगरमाथाका लागि १३ समुहबाट (११९ पुरुष/३० महिला) गरी १४९ जनाले आरोहण अनुमति लिएका छन् । देशगत रुपमा आरोहीको तथ्यांक हेर्ने हो भने सबै भन्दा बढी सगरमाथा आरोहणका लागि ३६ अमेरिकी ३६ र २२ चिनियाँ नागरिक रहेका छन् ।
दोस्रोमा आमादब्लम (६८१४ मिटर) का लागि पनि ४ समुहबाट ३२ पुरुष र ६ महिला गरी ३८ जना, हिम्लुङ हिमाल (७१२६ मिटर) का लागि १ समूहबाट ५ जना, र जुगल हिमाल (६१८४ मिटर) का लागि एक जनाले अनुमति लिएका छन् । त्यस्तै, अन्नपूर्ण प्रथम (८०९१ मिटर) का लागि ३ समुहबाट २५ जना, पुठा हिमचुली (७२४६ मिटर) का लागि ७ जनाले अनुमति लिएको विभागले जनाएको छ । साथै धौलागिरिका लागि १५ जना र लोत्से हिमालका लागि ४५ जनाले आरोहण अनुमति लिएका छन् ।
त्यस्तै, जुलग १, जुलग २, जुगल ५ गरी २४ जनाले आरोहण अनुमति लिएका छन् । जसबाट सरकारलाई २३ करोड ७५ लाख रुपैयाँ राजस्व जम्मा भएको छ । सगरमाथा आरोहण अनुमति लिन विदेशी नागरिकले प्रतिव्यक्ति ११ हजार अमेरिकन डलर रोयल्टी तिनुपर्छ भने नेपालीको हकमा प्रतिव्यक्ति ७५ हजार रुपैयाँ रोयल्टी तिर्नुपर्ने छ । सगरमाथा आरोहणका लागि बढिमा १५ जनाको समूह बनाउन पाउने व्यवस्था रहेको विभागले जनाएको छ ।
पछिल्लो समय हिमाल आरोहणका लागि अनुमति लिन आउनेको संख्यामा वृद्धि हँदै गएको छ । कोभिड–१९ का कारण आरोहणमा कमि आएपनि सन् २०२२ देखि यो संख्या वृद्धि हुन थालेको छ । गत वर्षको वसन्तयाममा २८ हिमाल आरोहणबाट ७६ करोड ५७ लाख रुपैयाँ रोयल्टी संकलन भएको थियो । गएको वसन्तयाम (२०२३) मा सगरमाथासहित २८ हिमालबाट ७६ करोड ५७ लाख ५८ हजार रुपैयाँ रोयल्टी संकलन भएको थियो ।
जसमा सगरमाथाबाट मात्र ६६ करोड ६४ लाख रुपैयाँ संकलन भएको थियो । गत वर्ष २८ हिमाल आरोहणका लागि ८० देशका कुल ११ सय ७६ (२७७ महिला/८९९ पुरुष) आरोहणका लागि अनुमति लिएका थिए । सगरमाथा आरोहणका लागि ६५ देशका ४७ समुहका कुल ४७८ (३७६ पुरुष र १०२ महिला) ले अनुमति लिएकोमा ४७० जनाले आरोहण पुरा गरेका थिए । जुन संख्या ७० वर्ष यताकै सगरमाथा आरोहणका लागि अनुमति लिनेको संख्या धेरै भएको विभागको जनाएको थियो ।
सन् २०२४ मा पनि आरोहीको संख्यामा खासै परिवर्तन नहुने विभागका निर्देशक राकेश गुरुङले बताए । समग्रमा हिमाल आरोहीको संख्यामा वृद्धि नभएपनि सगरमाथा र लोत्से हिमालमा भने गत वर्षकै हाराहारीमा आरोहण हुने आंकलन विभागले गरेको छ । निर्देशक गुरुङले भने, ‘यो याममा तिब्बत तिरबाट पनि सगरमाथा आरोहण खुल्ला गरिएको छ । केही प्रभाव पर्नसक्ने हाम्रो आकलन हो ।’
पर्वातारोहण सञ्चालक संघ नेपालका महासचिव ऋषिराम भण्डारीले समग्र हिमाल आरोहीको संख्या वृद्धि नभएपनि सगरमाथा र लोत्सेमा भने आरोही राम्रो रहेको बताए । उनले भने, ‘अन्य हिमाल आरोहीको संख्यामा कमि आएको छ । तर सगरमाथा, लोत्से र आमादब्लम हिमालमा भने गत वर्षकै हाराहारीमा आरोहीको संख्या पुग्ने अनुमान गर्न सकिन्छ ।’ तिब्बततर्फबाट पनि यस वर्ष सगरमाथा खुल्ला गरेको भएपनि नेपालतर्फबाट आरोहण गर्न आरोहीको संख्यामा खासै फरक नपर्ने महासचिव भण्डारीले बताए ।