Logo

क्रिस्टिलो वाटरमा लगानी विस्तार

नेपालगन्ज– नेपालगन्जमा रहेको क्रिस्टिलो वाटर इन्डस्ट्रिज प्रालिले लगानी विस्तार गरेको छ । उपभोक्तालाई शुद्ध र गुणस्तरीय पानी उपलब्ध गराउने ध्ययले सञ्चालित उद्योगले उत्पादन क्षमताका साथै गुणस्तरीयतामा ध्यान दिँदै पानी प्रशोधन गर्ने (आरओ) मेसीन र पूर्वाधार थप गरी लगानी विस्तार गरेको हो ।

पहिलो चरणमा दुई करोड ६० लाख लगानीमा पानी उत्पादन गर्दै आएको उद्योगले दोस्रो चरणमा पानी प्रशोधन गर्ने (आरओ) मेसिन र संरचना निर्माण गरेको उद्योगका सञ्चालक शरदप्रसाद रिजालले बताए । अत्यधिक बजार माग बढेपछि उपभोक्ताको माग सम्बोधन गर्न लगानी विस्तार गरी उत्पादन क्षमता र थप गुणस्तर वृद्धिका लागि उद्योगको स्तरोन्नति गरिएको उनको भनाइ छ ।

‘स्तरोन्नतिपछि उद्योगले अब दैनिक प्रतिघण्टा १० हजार लिटर पानी उत्पादन गर्नेछ,’ उनले भने, ‘४८ हजार लिटर प्रशोधनयोग्य पानी र ३० हजार लिटर प्रशोधित पानी भण्डार गर्न सकिने गरी क्षमता विस्तार गरिएको छ ।’ उद्योगको स्तरोन्नति गरेसँगै अब ग्राहकको मागअनुसार आपूर्ति गर्न सहज हुने उनले बताए । अनियमितरूपमा समय समयमा बत्ती जाने आउने हुँदा ग्राहकको आवश्यक्ता अनुसार पानीको आपूर्ति गर्न नसकिरहेको अवस्थामा उद्योगको स्तरोन्नति गरिएपछि राहत भएको उनी बताउँछन् ।

‘स्तरोन्नतिपछि बत्तीको अनियमितका कारण यसअघि उत्पादन गर्न नसकिने समस्याबाट छुट्कारा मिलेको छ,’ उनले भने, ‘अब ग्राहकले भनेकै समयमा मागअनुसार आपूर्ति गर्न सहज हुनेछ ।’ नेपालगन्ज औद्योगिक क्षेत्रमा रहेको क्रिस्टिलो उद्योगमा बेला बेलामा बत्तीको समस्याका कारण उद्योग सञ्चालनमा समस्या हुँदै आएको छ । समस्याका साथै थप गुणस्तरीयतामा ध्यान दिँदै उद्योगले झण्डै एक करोड बढी लगानी विस्तार गरी मेसिन र संरचना निर्माण गरेको जनाएको छ ।

दोस्रो चरणको लगानी विस्तार योजनाअन्तर्गत क्रिस्टिलोले करिब ३९ लाख रुपैयाँ पानी प्रशोधन गर्ने (आरओ) मेसिनमा, ३२ लाख रुपैयाँ पानी ढुवानी गर्ने सवारीसाधन खरिदमा र ६० लाख रुपैयाँ संरचना निर्माणमा लगानी भएको जनाएको हो । उद्योगले यसअघि दैनिक ६ सय पेटी बोतल पानी र ६ सय जारको पानी उत्पादन गरी नेपालगन्जमा बिक्री वितरण गर्दै आएकोमा दोस्रो चरणको लगानीपछि दैनिक करिब एक हजार पेटी बोतल पानी र दुई हजार जार पानी बिक्री वितरण गर्ने लक्ष्य लिएको जनाएको छ ।

उत्पादन वृद्धि गरेसँगै बजार पनि विस्तार भएको संचालक रिजालले बताए । पहिले नेपालगन्जका मुख्य बजार क्षेत्रमा मात्र सीमित रहेको उद्योगले हाल राप्तीपारिको कुसुम, अगैयासम्म बजार विस्तार गरेको छ । यस्तै उत्तरतर्फ कोहलपुर, गाभर, चिसापानी, बबई र पश्चिमतर्फ खजुरा र बर्दियाको गुलरियासम्म विस्तार भएको रिजालले बताए । आर्थिक मन्दीका कारण बजारमा बोतलको पानीको खपत तुलनात्मक रूपमा नबढे पनि सर्वसाधारणमा शुद्ध पानी पिउनुपर्छ भन्ने चेतना जागेसँंगै सहरी क्षेत्रमा जारको पानी खाने उपभोक्ताको संख्या भने बढिरहेको उनले सुनाए ।

मन्दीका कारण पर्यटक र यात्रुको संख्यामा कमी आएपछि होटलको कारोबार पनि घटेको छ । त्यसको प्रत्यक्ष प्रभाव बोतलको पानीमा पनि पर्दछ । तर जारपानी बजारमा नियमित बिक्री वितरण भइरहँदा अरु व्यवसाय जस्तो असर पानीमा नपरेको उनी बताउँछन् । गर्मीयाममा यस क्षेत्रका धारामा पानी सुक्नुका साथै शुद्ध पानी नभएका कारण सेवाको भावनाले पानीको गुणस्तर मापनमा ध्यान दिँदै सस्तोमा गुणस्तरीय पानी घरघरमा पुर्‍याउने ध्येयका साथ जारपानीलाई जोड दिएको उद्योगले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्