रेसुंगामा रिसोर्टको तयारी «

रेसुंगामा रिसोर्टको तयारी

गुल्मीमा पर्यटन प्रवद्र्धन गर्ने र आन्तरिक तथा बाह्य पर्यटकको संख्या बढाउन मद्दत गर्ने उद्देश्यसहित पर्यटकीय स्थल रेसुंगामा रिसोर्ट बनाउन थालिएको छ ।
जिल्ला तथा आसपासकै धार्मिक, ऐतिहासिक एवं पर्यटकीय महत्व बोकेको पवित्र स्थल रेसुंगामा रिसोर्टको तयारी थालिएको हो । जसका लागि स्थानीय तहले रेसुंगा क्षेत्रको जमिना भाडामा लगाएको छ ।
सदरमुकाम तम्घासको शिरमा पर्ने धार्मिक एवं पर्यटकीय क्षेत्र रेसुंगामा रिसोर्ट बनाउनको निम्ति रेसुंगा नगरपालिका र पौवा होटल प्रालिबीच सम्झौता भएको छ । रिसोर्ट बनेसँगै पर्यटकीय गतिविधि बढ्ने ठूलो आशा राखिएको छ ।
रिसोर्टको लागत १० करोड हुनेछ । सरकारले नेपाल भ्रमण वर्ष २०२० को अभियान चलाइ सोही अनुसारका पूर्वाधार विकासका काम गरिरहेको अवस्थामा यस कार्यले गुल्मी तथा आसपासको पर्यटन विकासलाई मद्दत पुग्ने विश्वास गरिएको छ ।
सम्झौमा नगरप्रमुख डिल्लिराज भुसाल र होटल पौवा प्रालिको तर्फबाट प्रबन्ध निर्देशक विष्णुप्रसाद ज्ञवालीले हस्ताक्षर गरेका छन् ।
सम्झौतानुसार आउने २५ वर्ष रेसुंगाको जमीन पौवा होटललाई भाडामा दिइएको छ । यही वर्षदेखि २१०१ असोज मसान्तसम्म २५ वर्षसम्म लिज अवधी हुने गरी सम्झौता भएको नगर प्रमुख भुसालले बताए ।
२५ वर्षसम्मको अवधिमा सुरुको चार वर्ष होटलले नगरपालिकालाई कुनै पनि शुल्क तिर्न नपर्ने, तर त्यसपछि ५ वर्ष वार्षिक ५० हजार, त्यस पछिको पाँच वर्ष वार्षिक ७५ हजार, त्यसपछि प्रतिवर्ष १ लाख रुपैयाँ होटलले नगरपालिकालाई तिर्नुपर्ने छ ।
सम्झौतानुसार रेसुंगा क्षेत्रको पुरातात्विक महत्व खलबल नहुने गरी भारी उपकरणहरू प्रयोग नगर्ने, त्यस क्षेत्रका रुखहरू नकाट्ने, र २५ वर्षपछि सबै संरचना नगरपालिकाको हुने भनिएको छ ।
प्रालिले रेसुंगा पोखरी क्षेत्र नजिकै करिब ३० रोपनी क्षेत्रफलको जग्गामा उपभोग गर्न पाउने भएको छ भने नगरपालिकाकै स्टिमेट तथा डिजाइनमा तीन तलाको भवन निर्माण गरिनेछ ।
होटलका प्रवन्ध निर्देशक विष्णुप्रसाद ज्ञवालीले आफ्नो जन्मथलो पनि गुल्मी भएकाले आफूले आफ्नै ठाउँको विकास र रेसुंगाको पुण्य क्षेत्रमा काम गर्न पाउँदा खुसी लागेको बताए ।
सम्झौता गर्न रेसुंगा नगरपालिकाको कार्यालयमा भएको कार्यक्रममा रेसुंगा नगरपालिकाबाट निर्वाचित जनप्रतिनिधिहरूको समेत सहभागिता रहेको थियो । नगरपालिका भित्रमा १० करोड लगानी भित्रिन लागेको प्रति नगरपालिका टिम खुसी भएको छ भने यस क्षेत्रका जनताले पनि खुसी मानेका छन् ।
विचित्रको क्षेत्र
रेसुंगा नेपालको चारधाम मध्येकै एक धाम मानिन्छ । रेसुंगाको शिखरमा त्रेतायुगमा अयोध्याका राजा दशरथका राजकीय ऋषि ऋष्यश्रृंगले तपस्या गरेको र आध्यत्मिक महत्व रहेको जनश्रुति छ । यस क्षेत्रमा धार्मिक र सांस्कृतिक महत्वका स्थलहरू पनि छन् ।
धागीथुम, रामकुण्ड, सिद्धस्थान, अर्जुनडाँडा, महापोखरी, यज्ञशाला, गौशाला, साउने शिवालय, जस्ता धार्मिक स्थलहरू यसै संरक्षित वनक्षेत्र भित्र पर्छन् । यहाँ विभिन्न अवसरहरूमा पराम्परागत मेलाहरू लाग्ने गर्छन् ।
रेसुंगा संरक्षित वनको उच्च स्थानमा धौलागिरिदेखि मनास्लुसम्मको हिमश्रृंखलालगायत नौ जिल्लाको दृश्यावलोकन गर्न सकिने भ्यूटावर रहेको छ । सदरमुकाम तम्घासबाट करिब ३० मिनेटको गाडीको यात्रापछि उक्त स्थानमा पुग्न सकिन्छ ।
रेसुंगामा साउन महिना बाहेकअन्य दिनहरूमा दैनिक पूजा हुन्छ भने साउन महिनामा भव्य मेला लाग्ने गरेको छ । जिल्लाको गौरवको रूपमा रहेको धार्मिक तथा ऐतिहासिक पर्यटकिय स्थल जैविक विविधतामा धनि छ । पन्छी संरक्षण संघ नेपालको अभिलेख अनुसार रेसुंगा क्षेत्रमा ३ प्रजातिका विश्वव्यापी रूपमा लोपोन्मुख गिद्धको वासस्थान छ ।
नेपालमा मात्र पाइने रैथाने चरा काँडे भ्याकुरलगायत २ सय ८ प्रजातिका चराहरू भेटिएको तथ्यांकमा उल्लेख छ । धार्मिक, ऐतिहासिक एवं पर्यटकीय स्थल रेसुंगमा १ सय ६४ भन्दा बढी प्रकारका वनस्पति छन् ।
रेसुङ्गा क्षेत्र २८ प्रकारका जनावर दुर्लभ तथा महत्वपूर्ण वन्यजन्तुहरूको बासस्थानको रुपमा महत्वपूर्ण छ ।
धार्मिक तथा ऐतिहासिक क्षेत्र चरा अवलोकनको लागि एक उपयुक्त स्थलको रुपमा रहेको छ । भौगोलिक उचाइगत विविधताले गर्दा उस क्षेत्रमा ६८ प्रजातिका विरुवा,३४ प्रजातिका झाँडी, ४६ प्रजातिका जडिबुटिजन्य वनस्पतिहरू र बिभिन्न प्रकारका वन पाइएको अध्ययनले देखाएको छ ।
त्यस्तै टिमुर, चिराइतो, कालीकाफल, सुनखरी, पाषणभेद, आकाशेबली, खमला, हर्रो, बर्रो, गानेगुर्जो, सुगन्धवाल, र अन्य गैरकाष्ठ वन पैदवारहरू छन् ।
यस संरक्षित वनक्षेत्र समुद्री सतहदेखि ५ सय ७५ देखि २ हजार ३ सय ४५ मिटर उचाइसम्म फैलिएको छ ।
यो क्षेत्र रतुवा, मृग र चितुवाको राम्रो बासस्थानको रुपमा रहेको छ । यहाँ कालिज प्रशस्तै पाइन्छन् । रेसुंगा वनक्षेत्र यस आसपासको जल आपूर्तिको प्रमुख स्रोतको रुपमा छ । यस वनक्षेत्रमा रहेका ३ सय ५० भन्दा बढी खानेपानीको मुहान र कुवाबाट वरिपरिका साबिकका ७ गाविसका ६२ हजार जनसंख्यालाई पिउने पानी र अन्य प्रयोजनका लागि पानी उपलब्ध भइरहेको छ । रेसुंगा क्षेत्रको कुल क्षेत्रफल १९ हजार २ सय ८१ दशमलव ३७ हेक्टर छ ।
यसको ५० प्रतिशत भाग कृषि क्षेत्र र ४१ प्रतिशत भू–भाग वनक्षेत्रले ढाकेको छ । यो क्षेत्रले कालीगण्डकी जलाधारअन्तर्गत बडिगाढ खोला रसो अन्र्तगत तल्लो छल्दी खोला, जोगीखोला, बलिथुम खोला, रटुकुवा खोला उप–जलाधारहरू समेटेको छ ।

 

प्रतिक्रिया दिनुहोस्