भन्सार एजेन्टलाई जिम्मेवार बन्न आग्रह

भैरहवा– भन्सार एजेन्टलाई जिम्मेवार बन्न आग्रह गरिएको छ । सोमबार भैरहवामा आयोजित नेपाल भन्सार एजेन्ट संघ, रुपन्देहीको २५औं साधारण सभा तथा ११औं अधिवेशनमा त्यस्तो आग्रह गरिएको हो । कतिपय भन्सार एजेन्ट क्षणिक स्वार्थमा परेर भारतीय बिचौलियालाई नेपालमैं पूर्ण रूपमा भन्सार एजेन्टको काम सुम्पिदा नेपाली भन्सार एजेन्टको छविमाथि प्रश्न उठ्न थालेको छ । सोही कारण भन्सारको जाँचपासलगायतका एजेन्टले गर्नु पर्ने काममा जोखिम बढ्न थालेको हो ।
बिचौलियाका कारण सिंगो भन्सार एजेन्टमाथिनै प्रश्न चिन्ह बारम्बार उठने भएकाले जिम्मेवार भएर एजेन्टको भूमिका निर्वाह गर्नु पर्ने बताइएको छ । ‘हाम्रो आफ्नै कारणले गर्दा नेपाली भन्सार एजेन्टको काम भारतीय बिचौलिया र ट्रान्सपोर्ट कम्पनीहरुले गर्न थालेका छन्’, नेपाल भन्सार एजेन्ट महासंघका केन्द्रीय अध्यक्ष भरतराज घिमिरेले भने,‘भन्सार प्रशासनिक कार्य सम्पादनका लागि हामी आफ्नो कम्पनीको कागजात, एजेन्टको सही र दस्तखत उनीहरुलाई दिन्छौं’ ।
भारतीय भन्सार एजेन्टले नेपाली भन्सार एजेन्टबाट काम गरेवापत सम्बन्धित एजेन्टलाई पैसा दिने र त्यस्ता नेपाली एजेन्ट बसिबसी आफ्नो हस्ताक्षर गरे बापत पैसा आउने स्वार्थले गर्दा नेपालको भन्सार प्रशासनिक कार्यमा भारतीय बिचौलिया हाबी हुँदै जान थालेकको घिमिरेको भनाइ छ । यस्तो काम बढ्दै जाँदा एजेन्ट साथीहरु काम विहीन भइरहेको उनले बताए ।
रुपन्देही– ५ का प्रतिनिधिसभा सदस्य बासुदेव घिमिरेले भन्सार ऐजेन्ट व्यवसायीमा देखिने गरेका सबै खालका विकृति र विसंगति अन्त्यको सुरुवात नेपाल भन्सार एजेन्ट संघ रुपन्देहीले गरेर नमुना बन्न आग्रह गरे । भैरहवा भन्सार कार्यालयका प्रमुख नारद गौतमले भन्सार प्रशासनले गर्ने अधिकांश कार्यशैलीप्रति आम मानिसको धारणा सकारात्मक नरहेकाले यस खालको सोचाइमा परिवर्तन ल्याउन भन्सार एजेन्ट व्यवसायीको पनि महत्वपूर्ण भूमिका हुने बताए ।