‘विद्युत विधेयक व्यवसायीको हितमा अघि बढ्छ’

काठमाडौं– ७० लाख सेयर लगानीकर्ता र हाइड्रो व्यवसायीको हितलाई पहिलो प्राथमिकतामा राखेर विद्युत विधेयक अगाडि बढ्ने पूर्वाधार विकास समितिका सभापति दीपकबहादुर सिंहले बताएका छन् ।
सोमबार हाइड्रो व्यवसायीहरुको छाता संगठन स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था (इप्पान)ले आयोजना गरेको वातावरणीय प्रभाव मूल्यांकन प्रक्रिया र दीर्घकालिन महत्वको अन्तरक्रिया कार्यक्रममा सभापति सिंहले विद्युत विद्येयक लगानीकर्ता र हाइड्रो व्यवसायीहरुको हितमा ल्याउने बताएका हुन् । उनले भने, ‘जलविद्युतमा व्यवसायीमात्रै नभएर ७० लाख सर्वसाधारण लगानीकर्तासमेत छन् । सबैको हितमा हुने गरी विधेयक अघि बढ्नेछ ।’
सभापति सिंहले व्यवसायीहरुले घर, खेत धितो राखेर उद्योग सञ्चालन गरिरहेको भन्दै सरकारले लगानीमैत्री वातावरण तयार नगर्दा पलायन हुनुपर्ने अवस्था आउन सक्ने बताए । ‘मुलुकको हित र भएका उद्योग बचाउनको लागि पनि उद्योगी–व्यवसायी बाहेक अन्य विकल्प छैन । त्यसैले लगानीमैत्री नीति र वातावरण हुन आवश्यक छ,’ उनले भने । सभापति सिंहले देशलाई उज्यालो बनाउने ऊर्जा व्यवसायी भएको भन्दै निर्माण व्यवसायीहरुको जस्तो अवस्था जलविद्युत व्यवसायीले पनि भोग्नुपरे ऊर्जा क्षेत्रको भविष्य संकटमा पर्ने बताए ।
पर्याप्त जलस्रोत भएको मुलुक भएकाले यसको संरक्षण र सम्वद्र्धन गर्दै उर्जा उत्पादनमा जोड दिनुपर्ने उनको भनाइ थियो । सरकारले ८ देखि १० वटा ठूला हाइड्रोपावर बनाउन सके लाखौं युवा पलायन हुनबाट समेत रोकिने बताए । अहिलेकै अवस्थामा विदेश पलायन हुने हो भने केही वर्षमा इन्जिनियर लगायतका जनशक्ति विदेशबाट ल्याउनुपर्ने अवस्था आउने उनको भनाइ छ । व्यवसायी र युवालाई मुलुकमा रोक्ने दायित्व पनि सरकारको भएकाले निजी क्षेत्र एक ढिका हुन आवश्यक रहेकोमा उनले जोड दिए ।