कालिञ्चोकमा पर्यटकको घुइँचो «

कालिञ्चोकमा पर्यटकको घुइँचो

दोलखा । शुक्रबार साँझ कालिञ्चोकको कुरी पुग्नेलाई लाग्थ्यो, यो कुनै व्यस्त पर्यटकीय सहर हो कि भन्ने । साँझ परेपछि सबै होटलहरूमा नाचगान, आगो ताप्ने व्यवस्था र रमाइलोहरू थिए । यो क्रम राति अबेरसम्म चल्यो ।
पहिलो पटक कुरीमा बास बस्नेलाई लाग्यो, यो काठमाडौंकै ठमेल नै हो कि पोखराको लेकसाइड । हुन पनि आजभोलि कालिञ्चोकको कुरीमा शुक्रबार, शनिबार र विदाको रात यस्तै हुने गरेको छ । पछिल्लो समय आन्तरिक पर्यटकहरूको रोजाइमा कालिञ्चोक पर्न थालेपछि यहाँका होटल व्यवसायीहरूले पनि पर्यटकहरूको रमाइलोका लागि विभिन्न कार्यक्रमहरू आयोजना गर्न थालेका छन् ।
शनिबार दिउँसो कालिञ्चोक पुग्ने पर्यटकहरू १० हजारभन्दा बढी नै थिए । दिनभर होटल व्यवसायीहरू पर्यटकहरूलाई खाना र खाजा खुवाउन व्यस्त थिए । दिनमा मात्र नभएर अहिले कुरीमा बास बस्नेहरू पनि उत्तिकै छन् । शुक्रबार रातिमात्र २ हजार ५ सयभन्दा बढी नै मान्छे बास बसेको होटल व्यवसायी चन्द्र लामाले जानकारी दिए ।
अझ हिउँ परेपछि यहाँ पर्यटकहरू थेगिसाध्य हुन्नन् । तीन साताअघि हिउँ पर्दा पर्यटकहरूका गाडीले २ किलोमिटरसम्म ट्राफिक जाम थियो । “फेरि हिउँ परेको समाचार आयो भने यस्तै हुन्छ,” होटल व्यवसायी समेत रहेका कालिञ्चोक गाविसका पूर्व उपाध्यक्ष बुद्धसिंह तामाङले भने ।
बिदामा परिवार र साथीभाइसहित कालिञ्चोकमा पर्यटकहरू आउँछन् । मन्दिर पनि दर्शन गर्ने र रमाइलोसँग मनोरम दृश्यावलोकन समेत गर्न पाइने हुँदा कालिञ्चोकमा पर्यटकहरू क्रमशः वृद्धि भइरहेका छन् ।
चरिकोटबाट कालिञ्चोक पुग्ने कुरीसम्मको सडक समेत स्तरोन्नति भइरहेको कारण पनि पर्यटकहरूलाई कालिञ्चोक जान सहज भएको छ । चरिकोटबाट १७ किलोमिटरमा कुरी पुगिन्छ । विगतभन्दा कालिञ्चोक जाने सडक सजिलो भएको छ । कालिञ्चोकमा सुविधा सम्पन्न होटलहरू पनि बढ्दै छन् । त्यसैले पनि कालिञ्चोकमा खाना बस्नको असहज छैन ।
समुद्र सतहबाट ३ हजार ८ सय ४२ मिटरको उचाइमा रहेको कालिन्चोक धार्मिक दृष्टिले मात्र नभइ प्राकृतिक रुपमा पनि मनोरम छ । कालिन्चोक मन्दिर टाकुराबाट रोल्वालिङ, जुगल, लाङटाङ लगायतका हिमश्रृंखलाहरूको अवलोकन गर्न सकिन्छ । कालिन्चोक भगवती मन्दिरको दर्शनबाट मनोकामना पूरा हुने जनविश्वास रहेको छ । कुरीबाट कम्तीमा एक घण्टामा र घ्याङडाँडाबाट आधा घण्टामा कालिन्चोक टाकुरो पुग्न सकिन्छ ।
कालिञ्चोकमा राजधानीबाट सबैभन्दा बढी पर्यटकहरू आउने गरेका छन् । काठमाडौंबाट आउने पर्यटकहरू कालिञ्चोक र भीमेश्वर मन्दिर दर्शनको प्याकेज नै बनाएर आउने गरेको कालिञ्चोकका अर्का होटल सञ्चालक सोनाम शेर्पाले बताए ।
कालिञ्चोकमा तराई जिल्लाहरूबाट समेत गाडी रिजर्भ गरी आउन थालेका छन् । कालिञ्चोकमा केबुलकार बन्ने योजनाले पर्यटकहरू झन हौसिएका छन् । कालिञ्चोकको कुरीदेखि मन्दिर नजिकसम्म दसैंसम्ममा तयार हुने गरी केबुलकार निर्माणको काम जारी छ ।
बीचमा ६ किलोमिटर सडक राम्रो भइ दिने हो भने पर्यटकहरू अझ बस्ने कालिञ्चोक दर्शन प्रालिका प्रमुख कार्यकारी अधिकृत अशोक सिवाकोटीले बताए । डिभिजन सडक कार्यालय चरिकोटले स्तरोन्नति गरेको सडकमा ६ किलोमिटर सडकको जिम्मा पाएको ठेकेदार नै सम्पर्कविहीन भएपछि सडकको काम अलपत्र छ । त्यसको सास्ती पर्यटकहरूले खेप्नु परेको छ ।
हिउँदमा बेला बेलामा पर्ने हिउँको मज्जा लिन पनि पर्यटकहरू कालिञ्चोक पुग्ने गरेका छन् । एक पटक परेको हिउँ कम्तिमा एक सातासम्म रहने गरेको छ । बसन्त ऋतुमा गुराँसका थरीथरीका फूलहरूले पनि पर्यटकहरूलाई लोभ्याउने गर्दछ ।
कुरीमा ६० वटा साना ठूला होटलमा २५ सय जतिलाई बास राख्न सक्ने व्यवस्था छ । एक वर्षको बीचमा नै १० वटा सुविधासम्पन्न होटल खुलेका छन् । यो क्रम जारी छ । होटलमा स्थानीय साझेदारीमा बाह्य लगानी समेत आउन थालेको सिवाकोटीले बताए ।
शुक्रबार आएका पर्यटक शनिबार कालिञ्चोक र भीमेश्वर दर्शनपछि फर्कन्छन् । शनिबार राती दोलखा आउँदा काठमाडौं फर्कने गाडीहरू देख्दा मुग्लिनतिर राती पुगे जस्तै लागेको सांसद विशाल खड्काले बताए । दोलखामा पर्यटकहरूको बसाइ लम्ब्याउने योजना बनाएर काम गर्नु अवको आवश्यकता भएको उनको भनाइ छ ।

दिलबहादुर केसी

प्रतिक्रिया दिनुहोस्