Logo

विभिन्न कार्यक्रमका साथ मनाइयो घोडेजात्रा

काठमाडौं- राष्ट्रपति रामचन्द्र पौडेल नेपाली सेनाद्वारा सैनिक मञ्च टुँडिखेलमा आयोजित ‘घोडेजात्रा समारोह, २०८०’ मा सरिक भएका थिए । समारोहमा उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, सभामुख देवराज घिमिरे सहभागी थिए । सो अवसरमा सेनाले अश्वकलासम्बन्धी प्रतिस्पर्धा तथा प्रदर्शनी गरेको थियो । घोडादौड, म्युजिकल रेस, सोजम्मलगायत विधामा प्रतिस्पर्धा गराइएको थियो ।

त्यस्तै, सैनिक कुकुरको कौशल पनि प्रस्तुत गरिएको थियो । प्रत्येक वर्ष कृष्ण औँसीका दिन घोडेजात्रा मनाइँदै आएको छ । जनविश्वासअनुसार टुँडिखेलको पूर्व–दक्षिण दिशामा रहेको एउटा रूखमा बास गर्ने गुरुमापा भन्ने राक्षसले सहरका बालबालिकालाई खाने गरेको थियो । पीडित स्थानीयले विभिन्न उपायले त्यसलाई सम्हार गरे ।

राक्षसको प्रेतात्मा फेरि जागा भई बालबालिकालाई अनिष्ट गर्नसक्ने भय स्थानीयमा रहिरह्यो । यसै कारण प्रत्येक वर्ष चैत्र कृष्ण औँसीका दिन घोडेजात्रा गरी गुरुमापाको आत्मालाई घोडाको टापले कुल्चाएर दबाउने गरिएको हो । साथै सहरका कुनै पनि बालबालिकामाथि खतरा नहोस् भनी साेमबार राति त्यही रूखको फेदमा गुरुमापालाई खानेकुरा पनि दिइन्छ ।

प्रतिक्रिया दिनुहोस्