Logo

फिस रिसोर्टमा वाटर साइकलिङ

धनगढी– आर्थिक मन्दका कारण होटल र रिसोर्टहरु खुम्चिरहेको बेला धनगढीको एक रिसोर्टले ग्राहक आकर्षित गर्न सहासिक पर्यटकीय सुविधा दिन थालेको छ । धनगढी–३, बडहरामा रहेको फिस रिसोर्टले आफ्ना ग्राहकलाई जिपलाइन, वाटर बल, वाटर बोट सुविधा दिंदै आएकोमा आइतबारदेखि वाटर साइकलिङ सेवा दिन थालेको हो ।

रिसोर्टले कपल र सिंगल वाटर साइकलिङ गर्न तीन वटा वाटर साइकल चीनबाट ल्याइएको छ । आफ्नै तालमा जिपलाइन, वाटर बल र पाटर बोट सेवा दिंदै आएको रिसोर्टले सुरु गरेको वाटर साइकलिङ सेवा नेपाल पत्रकार महासंघ कैलालीका अध्यक्ष हिमालय जोशीले उद्घाटन गरे । सो अवसरमा रिसोर्टका सञ्चालक गोविन्दराज भण्डारीले सुदूरपश्चिम प्रदेशमा फिस रिसोर्टले पहिलो पटक वाटर साइकलिङ सेवा दिन थालेको दावी गरे ।

रिसोर्टका सञ्चालक करिना अन्सारीले केही दिनमै वाटर स्केटिङ सुविधा दिने तयारी गरिरहेको बताइन् । बालबालिकाका लागिसमेत वाटर स्केटिङ गर्ने सामान आइसकेको उनले सामान फिट गरेर केही दिनमा सो सुविधा दिइने बताइन् । सो रिसोर्टले रेष्टुरेन्टसहितको सहासिक पर्यटन सेवा लिन कैलाली, कञ्चनपुर र भारतको खिरी जिल्लाका मानिस आउने गरेको उनले बताइन् । करिब २ विघामा फैलिएको रिसोर्टमा एक विघा भन्दा बढि मानवनिर्मित ताल छ ।

त्यसमा चार जना युवाले डेढ करोड रुपैयाँ लगानी गरेर सहासिक पर्यटकीय सुविधासहित रिसोर्ट सञ्चालन गरेका छन् । सञ्चालक अन्सारले नयाँ वर्षको अवसरमा रिसोर्टले स्थानीय कलाकारको प्रस्तुतीमा सांस्कृतिक कार्यक्रम आयोजना गर्ने बताइन् । उनले रिसोर्टले प्रानसँगको सहकार्यमा आफ्नै इनर्जी ड्रिंक, सफ्ट ड्रिंकलगायतका पेयपदार्थसमेत उत्पादन गरी रिसोर्टबाट बिक्री गरिरहेको बताइन् ।

प्रतिक्रिया दिनुहोस्