Logo

आर्थिक भार कम गर्न वडामै सम्झौता गरिने

दोलखाको गौरीशंकर गाउँपालिकाले वडा वडामै पुगेर योजना सम्झौता गर्ने भएको छ । भौगोलिक रूपमा ठूलो गाउँपालिकाका विभिन्न वडाबाट उपभोक्ता समिति र नागरिक आउँदा जाँदा समय र आर्थिक भार बढ्ने भएकाले चालू आर्थिक वर्षका योजना सम्बन्धित वडामै पुगेर सम्झौता गर्न लागेको हो ।
गाउँपालिका अध्यक्ष सोयमबहादुर खड्काले भौगोलिक रूपमा टाढा रहेका वडाका उपभोक्ता समितिलाई गाउँपालिकासम्म पुग्नु पर्ने झण्झटको अन्त्य गर्न गाउँपालिकाको टोली वडा वडामै जान लागेको जानकारी दिए । योजनाको छुट्टाछुट्टै स्टिमेट तयार गर्न, उपभोक्ता समिति गठन, अनुशिक्षण गर्न समय लाग्ने र सम्झौता गर्न जाँदा कहिले कर्मचारी नभेटिने भएकाले वडास्तरमै पुगेर सबैको सम्झौता गर्न लागेको उनले बताए ।
वडामा पुग्दा सम्बन्धित वडामा सञ्चालन हुने योजनाको स्टिमेट तयार गर्ने, उपभोक्ता समिति गठन र अनुशिक्षण पूरा गरेपछि सबैको एकै दिन सम्झौता हुनेछ । वडामै गाउँपालिका पुग्दा उपभोक्ता समिति आउँदा जाँदा हुने व्ययभारसमेत घट्ने उनले बताए ।
गाउँपालिकासम्म पुग्न सबै वडाबाट सिधा यातायातका साधनसमेत चल्दैन । यायातातका साधन नहुँदा वडाबाट गाउँपालिकासम्म पुग्न खर्चसमेत बढ्ने गरेको उपभोक्ता समितिको गुनासो छ । समितिले गर्ने खर्चसमेत योजनाबाटै खर्च हुने गरेको छ । गाउँपालिकाको टोली वडामा जाँदा बैंकको टोलीसमेत सँगै लगेर खाता नभएका उपभोक्ता समितिको खातासमेत स्थलगत रूपमै खोल्ने योजना रहेको अध्यक्ष खड्काले बताए ।
गत आवमा सञ्चालित योजनाहरूको सार्वजनिक सुनुवाइपछि मात्र नयाँ योजनाको सम्झौता गर्र्ने भएको छ । गाउँपालिकाले वडा वडामै स्थानीयस्तरमा सञ्चालन भएका योजनाहरूको सार्वजनिक सुनुवाइ र समीक्षा र उपभोक्ता सम्झौताको मितिसमेत तय गरेको छ ।
दसैंअघि नै बसेको गाउँकार्यपालिकाको बैठकले नै वडा वडामै सार्वजनिक सुनुवाइको मिति तय भएको प्रमुख प्रशासकीय अधिकृत प्रदीपकुमार खड्काले जानकारी दिए । ९ वटा वडा रहेको गाउँपालिकामा दसैंलगत्तै सार्वजनिक सुनुवाइ र उपभोक्ता समिति गठन गर्ने योजना भए तापनि विभिन्न कारणले नभ्याएकाले तिहारलगत्तै यी काम सुरु गरी कात्तिकभित्रमै सकिने उनले बताए ।
साउन र भदौ महिनाभर गाउँपालिकाका विभिन्न स्थानमा गएको पहिरोका कारण त्यसको व्यवस्थापनमा समय बितेकाले अरु तयारी गर्न नसक्दा योजनाको काम ढिला सुरु हुन लागेको उनले बताए । गाउँपालिकामा कर्मचारी अभावका कारण पनि कार्यालयभित्र र बाहिरका काममा समयमा कार्ययोजना अनुसार काम गर्न नसकिएको उनले बताए ।
गाउँपालिकामा अहिले प्रमुख प्रशासकीय अधिकृत, एक नायब सुब्बा र एकजना लेखाका कर्मचारीमात्रै छन् । विभिन्न वडामा वडा सचिवका लागि प्रशासनका कर्मचारी नुहँदा स्वास्थ्यका कर्मचारीलाई जिम्ममा दिएकोमा उनीहरू समेत समायोजनबाट अन्यत्र सरुवा हुँदा वडा सचिवसमेत ७ वटा वडामा रिक्त छ ।
देशकै ठूला भूगोल भएको गाउँपालिका मध्येमा पर्ने गौरीशंकरमा पूर्वाधारका योजनाका ३ जना सबइन्जिनियरको भरमा चलेको छ । समायोजन भएर कर्मचारी जाने तर नयाँ आउने अझै टुंगो नहुँदा समस्या परेको उपाध्यक्ष उर्मिला केसीले जानकारी दिइन् ।
भदौभर वडा वडामा पुगेर स्वास्थ्य शिविरसँगै अपांगता परिचयपत्र वितरण गरेको गाउँपालिकाले मंसिरभित्र सबै योजनाको सम्झौता गर्ने र वैशाखभित्र सबै योजना पूरा गरी भुक्तानीसमेत गर्ने कार्ययोजना बनाएको छ । जेठ र असार नयाँ आर्थिक वर्षका लागि योजना तर्जुमा र बजेट निर्माणका लागि समय खर्च गर्ने योजना बनाएको छ ।

प्रतिक्रिया दिनुहोस्