हिमाल देखिने पहाडका टाकुरा आम्दानीका स्रोत

म्याग्दी– संसारको सातौं अग्लो (आठ हजार १६७ मिटर) धवलागिरि हिमाल म्याग्दीमा पर्छ । म्याग्दीका अग्ला दुई दर्जनभन्दा बढी टाकुराबाट सूर्योदयसँगै पूर्वी रुकुमको चुरेन हिमालदेखि गोर्खाको मनास्लुसम्मका १८ भन्दा बढी हिमाल अवलोकन गर्न पाइन्छ ।
म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ स्थित पहाडको टुप्पोमा रहेको सुन्दर पर्यटकीय स्थल घोडेपानीको पुनहिलबाट हिमाल हेरेबापत गाउँपालिकाले वार्षिक रूपमा ६३ लाख रुपैयाँ आम्दानी गरेको छ । अन्नपूर्ण चक्रीय पदमार्गमा पदयात्राका लागि आएका पर्यटक घोडेपानीबाट बिहानै सूर्योदय र हिमशृंखलाको मनोरम दृश्य अवलोकन गर्न पर्यटकीयस्थल पुनहिल पुग्ने गर्छन् ।
पर्यटकको प्रवेश शुल्क, कफी सप तथा रेस्टुरेन्ट सञ्चालन गर्न पालिकाले वार्षिक रूपमा पुनहिललाई आय ठेक्कामा लगाउने गरेको छ । उक्त आय ठेक्कामा लगाएबापत चालु आर्थिक वर्षमा पालिकाले ६३ लाख ११ हजार रुपैयाँ आम्दानी गरेको प्रमुख प्रशासकीय अधिकृत अमृत सुवेदीले जानकारी दिए । म्याग्दीको अत्याधिक बढी पर्यटक आउने ठाउँ घोडेपानी पुनहिल हो ।
पर्यटकीय स्थलमा प्रवेश शुल्क, कफी सप तथा रेस्टुरेन्ट सञ्चालन गर्न एक वर्षका लागि अनुमतिसहित पालिकाले आय ठेक्का सम्झौता गर्दै आएको छ । पर्यटक याममा यहाँ दैनिक रूपमा एक सयदेखि पाँच सयसम्म विदेशी पर्यटक आउने गर्दछन् । पुनहिल प्रवेशका लागि गाउँपालिकाले आन्तरिक पर्यटकलाई ५० र विदेशी पर्यटकका लागि १५० रुपैयाँ शुल्क तोकेको छ ।
पुनहिलसँगै, मोहरेडाँडा, खोपारा, बेलढुंगाा, गाम्फाधुरी, भेडीओढार, दुरुलेक, मालिकाधुरी, टोडकेलगायतका पर्यटकस्थलबाट चुरेन, गुर्जा, धौलागिरि, मानामाथि, निलगिरि साउथ, निलगिरि नर्थ, अन्नपूर्ण प्रथम, तिलिचो पिक, बराहशिखर, माछापुच्छ्रे, गंगापूर्ण, लमजुङ हिमाल, मनास्लु लगायतका साना ठूला हिमाल अवलोकन पाइन्छ ।
हिमाल र प्रकृतिका दृष्यहरु हेर्न पुग्ने आन्तरिक बाह्य पर्यटकले गाउँका साना–साना होमस्टे सञ्चालन गर्न सहयोग पुगेको छ भने टोडेके, रुइसे, खोपारा, मोहरेडाँडालगायतका क्षेत्रमा स्थानीयले व्यक्तिगत र सामुदायिक लगानीमा पर्यटक लक्षित होटलहरु सञ्चालन गरेका छन् । अग्ला टाकुराबाट हिमालका दृष्य हेर्ने पर्यटक बढेपछि सडक स्तरोन्नती, पदमार्ग र प्रतीक्षालयलगायतको पूर्वाधार बनाउने योजनामा संघ, प्रदेश र स्थानीय तहका जनप्रतिनिधिले ध्यान दिएका छन् ।