प्लास्टिकजन्य फोहोरबाट ब्लक उत्पादन

बिर्तामोड– झापामा फोहोर व्यवस्थापनमा सकस भइरहेको बेला झापाको कनकाई नगरपालिका–२ मा रहेको कनकाई–बिर्ता–अर्जुन नवीकरणीय ऊर्जा तथा फोहोरमैला व्यवस्थापन कम्पनीले प्लास्टिकजन्य फोहोरबाट ब्लक (पेवर्स) को उत्पादन सुरु गरेको छ ।
फोहोर व्यवस्थापनसँगै वायोग्यास उत्पादन गरिरहेको कनकाई–बिर्ता–अर्जुन नवीकरणीय ऊर्जा तथा फोहोरमैला व्यवस्थापन कम्पनीले प्लास्टिक ब्लक मेकिङ मेसिन सञ्चालनमा ल्याएर त्यसबाट प्लास्टिकजन्य फोहोरबाट ब्लक (पेवर्स) को उत्पादन सुरु गरेको कम्पनीका मेकानिकल इन्जिनियर मोहमद नसिम अलीले जानकारी दिए । एक करोड ७१ लाख रुपैयाँको लगानीमा सञ्चालनमा ल्याइएको प्लास्टिक ब्लक मेकिङ मेसिन सञ्चालनका लागि १० जना जनशक्ति आवश्यक पर्ने र उनीहरूले २४ घण्टा मेसिन सञ्चालन गर्ने अलीले बताए ।
भारतबाट ल्याइएको अटोमेटिक मेसिनले बालुवा र प्लास्टिकको मिश्रण आफैं मिलाउने र ७०/३०, ६०/४० मिश्रण हुने प्लास्टिक र बालुवाबाट ब्लक तयार गरिने उनको भनाइ छ । पहिलो चरणमा प्लास्टिकलाई टुक्राएर ६० देखि ७० डिग्री तापक्रममा गलाएर लेदो बनाइने, लेदोलाई प्रेस मेसिनमा राखेर ३० टनको लोड दिएर ब्लक निर्माण गरिने र ब्लकलाई विभिन्न आकारमा निर्माण गरेर केहीबेर पानीमा राखिने उनले बताए ।
ब्लकको भार क्षमता ८० टन रहेको र मेन्टिनेन्स राम्रो भएमा ३०औं वर्षसम्म ब्लकले काम गर्ने उनले बताए । फुलफेजमा मेसिन चलाउन दैनिक चार टन प्लास्टिक चाहिने र चार टन प्यास्टिकबाट दुई हजार ब्लक बनाउने सकिने उनले बताए । प्लास्टिक ब्लक मेकिङ मेसिनको उद्घाटन कनकाई नगरपालिकाका प्रमुख राजेन्द्रकुमार पोखरेलले गरेका थिए । मेसिनको उद्घाटन गरेसँंगै प्लास्टिकजन्य फोहोरबाट ब्लकको उत्पादन पनि सुरु गरिएको र एक हप्ता परीक्षणकालीन उत्पादन गर्ने उनको भनाइ छ ।
झापाको बिर्तामोड, अर्जुनधारा र कनकाई नगरपालिकाको फोहोर व्यवस्थापनका लागि सञ्चालनमा ल्याइएको कनकाई–बिर्ता–अर्जुन नवीकरणीय ऊर्जा तथा फोहोरमैला व्यवस्थापन कम्पनीले प्लास्टिकजन्य फोहोरबाट दैनिक दुई हजार थान ब्लकको उत्पादन गर्ने परियोजनाका मेकानिकल इन्जिनियर मोहमद नसिम अलीले जानकारी दिए । प्लास्टिक र बालुवाबाट निर्मित ब्लकको मूल्य प्रतिगोटा १२ रुपैयाँ पर्ने बताउँदै उनले सिमेन्टबाट निर्मित ब्लकको मूल्यभन्दा झण्डै आधा खर्चमा पाइने भएकाले सडक निर्माणदेखि घर कम्पाउण्डमा उक्त क्लक प्रयोग गर्न सकिने जनाए ।
ब्लकमा आगलागी नहुने भएकाले ब्लक सुरक्षित र बलियो हुने उनको भनाइ छ । प्लास्टिकजन्य फोहोरबाट ब्लकको उत्पादन सुरु गरेसँगै देशका विभिन्न ठाउँबाट निजी प्रयोजन तथा व्यापारीले समेत ब्लकको माग गरिरहेको अलीले जानकारी दिए । दैनिक १० देखि १५ जनाले ब्लक खरिदका लागि माग गर्न फोन सम्पर्क गरिरहेको बताउँदै उनले अहिले परीक्षणकालीन उत्पादन भइरहेकाले व्यावसायिक उत्पादन सुरु भएपछि मूल्य निर्धारण गरी बिक्री सुरु गरिने जनाए ।
परीक्षणकाल सकेर कम्तीमा १० हजार ब्लक स्टक गरेपछि बिक्री प्रारम्भ गर्ने योजना रहेको उनको भनाइ छ । झापाको बिर्तामोड, अर्जुनधारा र कनकाई नगरपालिकाको फोहोर व्यवस्थापनका लागि सञ्चालनमा ल्याइएको कनकाई–बिर्ता–अर्जुन नवीकरणीय ऊर्जा तथा फोहोरमैला व्यवस्थापन कम्पनीमा संकलित फोहोरको वर्गीकरण गरेर प्लास्टिकबाट ब्लक उत्पादन गरिएको कम्पनीका अध्यक्ष मिनाल तिम्सिनाले बताए । प्लास्टिकजन्य फोहोरबाट ब्लकको उत्पादन सुरु गरेसँगै फोहोर व्यवस्थापनमा सहज हुने उनको भनाइ छ ।