चार तारे होटलमा ३५० रुपैयाँमा नेवा खाजा

भैरहवा– सामान्यतया तारे होटलमा खाजा खान निकै महँगो हुने अनुमान सबैको हुन्छ । त्यो पनि चार तारे होटलमा । महँगो अनुमान स्वाभाविक पनि हो । तर भैरहवामा रहेको चार तारे नान्स होटलले ग्राहकले सोचेभन्दा निकै कम मूल्यमा नेवारी खाजा सेट उपलब्ध गराउने सेवा सुरु गरेको छ ।
होटलको पछाडि पट्टी स्विमिंगपुल साइडमा ‘कुची भ्वय’ रेष्ट्रो सञ्चालनमा आएको छ । जहाँ ३५० रुपैयाँमै नेवारी खाजा सेट पाइन्छ । कुची भ्वयमा प्राय बफ आइटमहरू पाइन्छ । नेवा खाजा सेटमा बफ नखानेका लागि भने बफको सट्टा चिकेन दिइने गरिन्छ । नेवारी खाजाका पारखीहरू पछिल्लो समय बढी रहेका छन् ।
तर सबै ठाउँमा खाजा सेटनै पाइँदैन, त्यसैले नेवारी खाजाको पनि संरक्षण हुने र स्थानीयसँगै होटलमा आउने बाह्य तथा आन्तरिक पर्यटकहरूलाई सस्तोमा गुणस्तरीय नेवारी खाजाको सहज उपलब्धता होस भनेर एकदमै सस्तोमा नेवा खाजा सेटको व्यवस्था गरिएको नान्स होटलका प्रबन्ध निर्देशक चन्द्र प्रकाश श्रेष्ठले बताए ।
अन्यत्र छोयला, सुकुटी पाइएला तर सबै ठाउँमा बारा, चटामरीलगायतका नेवारी परीकार पाइँदैन । त्यसैले हामीले नेवारी खाजाको संरक्षण पनि हुने र होटलमा आउने ग्राहकले नौलो स्वाद पनि पाउने भएकाले कुची भ्वयमा नेवा खाजाको सुरु गरेको श्रेष्ठले बताए । ठूलो र तारे होटलको रेस्टुरेन्ट भनेपछि सामान्य मानिसहरू खानपिन एकदमै महँगो हुन्छ भनेर आउन चाहदैनन् ।
सर्वसाधारणको पहुँच तारे होटलमा पनि होस भनेर कुची भ्वय सञ्चालनमा ल्याएको श्रेष्ठको भनाइ छ । कुची भ्वयमा पाइने ३५० रुपैयाँको खाजा सेट एक जनाको लागी बढी नै छ । खाजा सेटमा बफ छोयला, बफ सुकुटी, बोडीको गेडाको तरकारी, साग, मुलाको अचार, बजी, लसुन भटमास, अन्डा रोटी र बारा रहेका छन् ।