Logo

कृष्णनगर नाकाको राजस्व संकलन खुम्चियो

भैरहवा– कृष्णनगर नाकाबाट संकलन हुने राजस्व खुम्चिएको छ । विगत वर्षका तुलनामा दैनिक उपभोग्य सामग्री, औद्योगिक कच्चा वस्तु र माल्टलगायतका सामानहरू कम आउँदा राजस्व असुली खुम्चिएको हो । लुम्बिनी प्रदेशमा भैरहवा, नेपालगन्जपछि कृष्णनगर भन्सार तेस्रो ठुलो नाकाको रूपमा रहेको छ ।

राजस्व विभागले चालु आर्थिक वर्षमा ६ अर्ब १९ करोड राजस्व संकलनको लक्ष्य दिएकोमा गत साउनदेखि फागुनसम्म कुल लक्ष्यको ४५ प्रतिशत अर्थात २ अर्ब ७८ करोड राजस्व संकलन भएको कृष्णनगर भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत मानबहादुर पौडेलले बताए । अघिल्ला वर्षहरू भन्दा यस वर्ष वस्तु तथा सामानहरू कम आउँदा लक्ष्य अनुसार राजस्व संकलन हुन नसकेको प्रमुख भन्सार अधिकृत पौडेलको भनाइ छ ।

यो नाका हुँदै आउने मुख्य वस्तुमा चामलका साथै कोइला, माल्ट, फ्लाई एस, फलफूल, ग्लास क्यानलगायतका छन् । कृष्णनगर भन्सार कार्यालयका सूचना अधिकारी लेखनाथ भटराईका अनुसार गत वर्षको यही अवधिको तुलनामा यस वर्षको ८ महिनामा यो नाका हुँदै चामल आयात ९३ प्रतिशतले घटेको छ । अघिल्लो वर्षको साउनदेखि फागुनसम्ममा चामल आयात हुँदा त्यसबाट मात्रै २९ करोड ४ लाख रुपैयाँ राजस्व संकलन भएको थियो । यो वर्षको ८ महिनामा २ करोड १ लाख रुपैयाँ मात्र संकलन भएको भट्टराईले बताए ।

त्यसैगरी माल्टको आयात पनि गत वर्षको ८ महिनाको तुलनामा यो वर्ष ३४ प्रतिशतले घटेको छ । गत वर्ष माल्ट आयात हुँदा २५ करोड ५८ लाख रुपैयाँ राजस्व उठेकोमा यो वर्षको ८ महिनामा १६ करोड ७९ लाख रुपैयाँ मात्र राजस्व उठेको कार्यालयले जनाएको छ । त्यसैगरी सिमेन्ट बनाउँदा आवश्यक पर्ने फ्लाइ ऐसको आयात गत वर्षभन्दा २९ प्रतिशतले घटेको छ । चन्द्रौटा कृष्णनगर औद्योगिक करिडोरमा रहेका ४ भन्दा बढी सिमेन्ट उद्योगहरू बन्द रहेको र बाँकीका उद्योगहरू पनि ३० प्रतिशत क्षमतामा चलिरहेकाले सिमेन्टमा आवश्यक पर्ने फ्लाइएस कम आयात भएको हो ।

अघिल्लो वर्ष फ्लाइएस आयातमा १५ करोड ७६ लाख राजस्व उठ्दा यो वर्ष ११ करोड १० लाख रुपैयाँ राजस्व उठेको छ । त्यसैगरी खाने स्याउ आयात पनि ४५ प्रतिशतले कम भएको छ । गत वर्षको ८ महिनामा स्याउ आयातले १० करोड ५ लाख रुपैयाँ राजस्व दिँदा यो वर्षको सोही अवधिमा ५ करोड ४४ लाख रुपैयाँ मात्र राजस्व दिन सक्यो । गत वर्षको समीक्षा अवधिमा आयात नभएका स्पन्ज आइरन र गहुँले भने क्रमशः १४ करोड ७८ लाख र ५ करोड ८ लाख रुपैयाँ राजस्व दिँदा पनि लक्ष्यलाई भेट्न सकेको देखिदैन् ।

नेपालको राष्ट्रिय फल घोषणाको तयारी भएको सुन्तलाको आयात भने कृष्णनगर नाकाबाट ५५ प्रतिशतले वृद्धि भएको छ । गत वर्षको ८ महिनामा सुन्तला आयात हुँदा ४ करोड ६५ लाख रुपैयाँ राजस्व उठेको थियो भने यो वर्षको ८ महिनामै सुन्तलाबाट ७ करोड २३ लाख रुपैयाँ राजस्व संकलन भएको छ । समग्रमा यो नाकाबाट विगतमा हुँदै आएका मुख्य वस्तुसँगै अन्य वस्तुका आयातमा कमी साथै भन्सार विभागले प्रत्येक वर्ष राजस्व असुलीमा बढोत्तरी गर्दै जानुले लक्ष्य अनुसारको राजस्व संकलन हुन नसकेको व्यवसायीहरूले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्