सम्भव छ एक घण्टामै श्रमस्वीकृति ?

काठमाडौं– श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री बनेपछि डोलप्रसाद अर्यालले पटकपटक वैदेशिक रोजगारीमा जानेका लागि एक घण्टामै श्रमस्वीकृति दिने बताउँदै आएका छन् ।
निजामती कर्मचारीदेखि मेनपावर व्यवसायीसम्मले एकै घण्टामा श्रमस्वीकृति दिने विषय जटिल रहेको बताउँदा समेत मन्त्री अर्यालले यो व्यवस्था गरिछाड्ने अडान राखिरहेका छन् । आइतबार आयोजित पत्रकार सम्मेलनमा पनि मन्त्री अर्यालले यही कुरा दोहो¥याए । सामान्य अवस्थामा अधिकतम ३ कार्यदिनमा जारी हुँदै आएको श्रमस्वीकृति मन्त्री अर्यालले भनेजस्तै एकै घण्टामा प्रदान गर्न सकिने–नसकिनेमा अहिले सरोकारवालाबीच बहस भइरहेको छ ।
मन्त्री अर्यालले विभिन्न चुनौतीका बीच विदेश जाने व्यक्तिलाई श्रमस्वीकृतिको सेवा १ घण्टामै दिने लक्ष्यसहित काम गरिरहेको जानकारी दिए । अर्यालका अनुसार ताहाचलस्थित वैदेशिक रोजगार कार्यालयले कागजपत्र पुगेको अवस्था एक घण्टामै सबै खालको श्रमस्वीकृति उपलब्ध गराउने छ ।
श्रमिकले सबै प्रक्रिया पूरा गरी आवश्यक कागजपत्रसहित कार्यालय समयमा अनलाइनबाट आवेदन दिए २ मिनेट ४४ सकेण्डमा श्रमस्वीकृति प्रदान गर्न सक्ने व्यवस्था बनाएको अर्यालले बताए । ताहाचल कार्यालयमै आयोजित पत्रकार सम्मेलनमा मन्त्री अर्यालले प्राविधिक समस्या, विद्युतको आपूर्ति र इन्टरनेटको स्पिडलाई ध्यानमा राखेर श्रमस्वीकृति दिन एक घण्टा भनिएको बताए ।
नीतिगत र प्राविधिक सुधारका साथै कर्मचारीको अथक प्रयासले एक घण्टामा श्रमस्वीकृति उपलब्ध गराउन सम्भव भएको मन्त्री अर्यालले बताए । ‘यो सबै कर्मचारीको मेहनत हो । मलाई कर्मचारीमाथि पूरै विश्वास छ । यो क्रमलाई उहाँहरुले आगामी दिनमा पनि निरन्तरता दिनु हुनेछ,’ मन्त्री आर्यालले भने, ‘हाफ पाइन्ट, टिसर्ट र चप्पल लगाएर मिटरब्याजमा ऋण लिएर वैदेशिक रोजगारी जानका लागि श्रमस्वीकृति लिन आउने श्रमिकलाई तीन–चार दिन अल्झाउने कुरा कुनै पनि हालतमा स्वीकार्य छैन । श्रमिक कुनै पनि बहानामा ठगिनु हुँदैन । त्यसैले मेरो पहिलो एजेण्डा श्रमस्वीकृतिको प्रक्रियालाई छिटो गराउनु थियो ।’
श्रममन्त्री अर्यालले पदभार ग्रहण गरेसँगै श्रमस्वीकृतिको प्रक्रियालाई एक घण्टामा छोट्याउन फेमिसका सफ्टवेयर तथा हार्डवेयरका आपूर्तिकर्ता तथा कर्मचारीलाई निर्देशन दिएका थिए । यद्यपि, फेमिस प्रणालीमा बेलाबेला सर्भर डाउन हुने समस्याले सेवा प्रवाहमा चुनौती आउने देखिन्छ । यसैगरी सेवा निरन्तरताका लागि समय–समयमा अनुगमन समेत हुनुपर्ने देखिएको छ ।
निःशुल्क लिन सकिने श्रमस्वीकृतिका लागि श्रमिकले आफ्नै मोबाइल वा कम्प्युटरबाट अनलाइन आवेदन दिन सक्नेछन् । श्रमस्वीकृति पनि अनलाइनबाट नै प्राप्त गर्न सक्नेछन् । यसका लागि कार्यालय जानु पर्दैन । एक घण्टामा नै श्रमस्वीकृति प्रदान गर्नका लागि वैदेशिक रोजगार कार्यलयले हाल पुनः श्रमस्वीकृतिलाई एउटै तहबाट प्रदान गर्न थालेको छ । यसअघि एउटा तहले कागजपत्र प्रमाणीकरण गर्ने र अर्को तहले स्वीकृति गर्ने व्यवस्था थियो । अहिले वैदेशिक रोजगार व्यवस्थापन सेवा प्रवाह कार्यविधि २०७९ संशोधन गरी एकै तहबाट श्रमस्वीकृति दिने व्यवस्था गरिएको छ । यसले श्रमस्वीकृतिको प्रक्रिया निकै सहज बनाएको छ ।
त्यस्तै, फेमिस सफ्टवेयर परामर्शदाताका एक जना प्राविधिकलाई विभागमा डेडिकेटेड रुपमा राखिएको छ । यसका साथै कर्मचारीहरुलाई दुई वटा सिफ्टमा परिचालन गरिएको छ । बिहान ७ देखि बेलुका ९ बजेसम्म कर्मचारीले दुई सिफ्टमा काम गर्दै आएका छन् । त्यस्तै, सार्वजनिक बिदा र शनिबारको दिनमा पनि कर्मचारी परिचालन गरिएको छ । आगामी दिनमा भने कर्मचारीलाई एकै सिफ्टमा कार्यालय समयमा मात्रै काम गर्ने गरी सुधार गरिने योजना छ ।
काठमाडौं कार्यालयबाट बाहेक ६ वटै प्रदेशबाट नयाँ कम्तिमा ५० र पुनः श्रमस्वीकृतिका लागि १०० वटा टोकनको व्यवस्था गरिएको छ । पहिले कार्यालयले चाहेजति मात्र टोकन पाउने व्यवस्था थियो । श्रमस्वीकृतिको लागि श्रमिकले पासपोर्ट, भिसा र रोजगारदातासँगको सम्झौतापत्र पेश गर्नुपर्ने हुन्छ । यसैगरी बीमा, कल्याणकारी कोष र सामाजिक सुरक्षा कोषको शुल्क पनि भुक्तानी गरेको हुनुपर्छ । श्रमिकलाई सहज रुपमा श्रमस्वीकृति प्रदान गर्न वैदेशिक रोजगार विभागले वैदेशिक रोजगार व्यवस्थापन सूचना प्रणाली (फेमिस) सञ्चालनमा ल्याएको छ । अहिले दैनिक औषत एक हजार ६०० जनालाई श्रमस्वीकृति प्रदान गरिएको छ ।
चालु आर्थिक वर्षको हालसम्म ३ लाख ७१ हजार ७३० श्रमस्वीकृति जारी भएकोमा पछिल्लो एक महिनामा ३४ हजार ७४१ र एक हप्तामा ६ हजार ८६१ जारी भएको छ । कार्यालयले गत वर्षसम्म श्रमस्वीकृतिका लागि औषत ८८ घण्टा लगाउने गरेकोमा गत महिना ६० घण्टामा झारेको छ भने गत एक हप्तामा १२ घण्टाभित्र सेवा दिएको थियो । अब १ घण्टामा सेवा दिने भएको छ ।