Logo

काठमाडौंबाहिर घरजग्गा-१

पोखरामा १५ प्रतिशतसम्म घट्यो मूल्य

पोखरा– गण्डकी प्रदेशको राजधानी पोखरा क्षेत्रमा अहिले घरजग्गा कारोबार सुस्त भएसँगै मूल्य पनि खस्किएको छ । कोभिड महामारीअघिको तुलनामा अहिले पोखरामा घरजग्गाको मूल्य १५ प्रतिशतसम्म सस्तिएको हो ।

गण्डकी जग्गा तथा आवास विकास संघका अध्यक्ष अरुण त्रिपाठीले अहिले पोखरा क्षेत्रमा न्यूनतम ५ देखि १५ प्रतिशतसम्म ठाउँ हेरेर घरजग्गाको मूल्यमा कमी आएको जानकारी दिए । उनले भने, ‘पोखरामा घरजग्गा कारोबार उच्च हुँदा मूल्य आकासिएको थियो । अब त्यो आफ्नै आकार अथवा सतहमा आउन थालेको छ । बैंकहरुले ब्याजदर घटाउँदै गएकाले अब घरजग्गा कारोबार बढ्छ ।

उनका अनुसार कोभिडअघि व्यक्ति–व्यक्तिबीच अस्वस्थ प्रतिष्पर्धा हुँदा मूल्य पनि अस्वाभाविक रुपले बढेको थियो । अहिले पोखरामा घरजग्गा कारोबार संस्थागत हुँदै गएको छ र यसले अस्वाभाविक मूल्यलाई नियन्त्रण गरेको छ । कोभिडपछि घरजग्गा कारोबारमा आएको गिरावटले यसमा संलग्न व्यक्तिहरु पेसाबाट नै विस्थापित भएको जानकारी दिँदै त्रिपाठीले हाल संस्थागत ढंगले व्यवसाय गर्नेहरुमात्र रहेको बताए । सरकारले घरजग्गा कारोबाराई निमयन गरी निश्चित लगानी गर्ने वातावरण बनाउनुपर्ने अध्यक्ष त्रिपाठीको सुझाव छ । संघमा आबद्ध करिब २ सय संस्थागत व्यवसायी भए पनि उत्तिकै संख्यामा अव्यवस्थित ढंगले घरजग्गा कारोबार गर्ने व्यक्ति तथा संस्थाहरु रहेको त्रिपाठीले जनाए ।

पोखरामा ठाउँ हेरीकन १० देखि ५०-६० लाख रुपैयाँसम्म प्रतिआना पर्ने गरेको उनले जानकारी दिए । आवश्यकताले लिएका र उपयुक्त स्थानका जग्गाको मूल्य र कारोबारमा कुनै प्रभाव नपरेको अध्यक्ष त्रिपाठीले दाबी गरे । व्यावसायिक हिसाबले र ह्विममा लिएका जग्गाको मूल्य घटेको उनको तर्क छ । राज्यले अझै यसलाई नियमन नगरे देशमा थप आर्थिक संकट हुने दाबी गर्दै अध्यक्ष त्रिपाठीले घरजग्गा व्यवसाय संसारकै उत्कृष्ट व्यवसायमा पर्ने भएकोले यसको भविष्य पोखरामा राम्रो रहेको बताए ।

पोखरा नेपालकै पहिलो पर्यटकीय राजधानी घोषणा हुनुले पनि अब घरजग्गाको कारोबार र मूल्य बढ्ने विश्वास उनको छ । घरजग्गा मूल्यांकनको आधारमा ७५ प्रतिशत कर्जा माग गरेको अवस्थामा बैंकहरुले मुस्किलले ५० प्रतिशतमात्र लगानी गर्ने गरेको उनको भनाइ छ । युवाहरु बाहिरिने क्रम बढ्दा पनि घरजग्गा कारोबारमा केही कमी आएको बताउँदै त्रिपाठीले युवा स्वदेश फर्के कारोबार बढ्ने दाबी गरे ।

अघिल्लो वर्षदेखि पोखरासहित कास्की क्षेत्रमा घरजग्गा कारोबारमा कमी आएको मालपोत कार्यालय कास्कीले जनाएको छ । कोभिडपछि आर्थिक २०७९–८० मा मालपोत कार्यालयले ८८ करोड १४ लाख राजस्व संकलन गरेको मालपोत प्रमुख रामचन्द्र अधिकारीले बताए । उनका अनुसार चालु आर्थिक वर्षको पुस मसान्तरसम्ममा ४२ करोड २३ लाख संकलन भएको छ ।

कोभिडअघि आव २०७५–७६ मा ८२ करोड १० लाख संकलन भएको थियो भने कोभिडकै वर्ष २०७६–७७ मा पनि ७६ करोड ४५ लाख राजस्व उठेको थियो । यसैगरी आर्थिक वर्ष २०७७–७८ मा मालपोत कार्यालयले १ अर्ब २३ करोड राजस्व संकलन गरेको थियो । २०७८–७९ मा १ अर्ब २६ करोड संकलन गर्न सफल भएको थियो । आर्थिक वर्ष २०७९–८० मा अघिल्लो वर्षको तुलनामा ३०.१८ प्रतिशतले राजस्व घटेको छ । जग्गाको थैलीको मूल्य पहिलेकै कायम रहेकोले राजस्वमा खासै प्रभाव नपरेको मालपोत कार्यालयको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्