बजेट सही ठाउँमा उपयोग हुन नसक्दा समस्याः मन्त्री बस्नेत

ललितपुर- ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतले उपलब्ध स्रोत र साधनको अधिकतम उपयोग हुने अवस्था सिर्जना गरिने बताएका छन् ।
जलस्रोत तथा सिँचाइ विभागद्वारा ‘समृद्ध नेपालको आधार, कृषियोग्य जमिनमा पूर्ण सिँचाइको विस्तार’ भन्ने नारासहित आइतबार मनाइएको सिँचाइ दिवस एवं ७१औँ वार्षिकोत्सव कार्यक्रममा मन्त्री बस्नेतले परिस्थिति, सोच र सन्दर्भलाई परिवर्तन गर्दै समय सापेक्ष र परिस्थिति अनुकूल कार्यक्रम सञ्चालन गर्नुपर्ने बताए ।
सिँचाइ क्षेत्रमा पनि पर्याप्त बजेट नपुगेको भन्दै कतिपय अवस्थामा छुट्याइएको बजेट सही ठाउँमा उपयोग हुन नसक्दा समस्या उत्पन्न भइरहेको मन्त्री बस्नेतले बताए । कार्यक्रम एक ठाउँमा र बजेटको लक्ष्य अर्को ठाउँमा हुँदा उपलब्धि हासिल गर्न चुनौती थपिएको उनको भनाइ छ । विकासको गतिशील प्रक्रियालाई ग्रहण गर्दै जाने क्षमता चाहिने भन्दै मन्त्री बस्नेतले नीति, योजना, कार्यक्रम तय गर्दा एकीकृत विकासको सोचबाट अगाडि बढ्नुपर्ने बताए ।
अन्तरसम्बन्ध भएका सबै कानुन निर्माण गरी परिणाम निस्कने गरी परियोजना सञ्चालन गर्नुपर्नेमा उनले जोड दिए । हरेक क्षेत्रका लागि एकआपसमा बाँझिने फरक–फरक कानुन बनाउनुभन्दा समय र समन्वयका आधारमा एउटै कानुन बनाउनु ठीक हुने भन्दै मन्त्री बस्नेतले सिँचाइ क्षेत्रको बृहत् विकासका लागि जलस्रोत तथा सिँचाइ गुरुयोजना तयार पारेर सोही अनुसार लक्ष्य हासिल गर्नुपर्ने बताए ।
विसं २००९ मा नहर विभागको रुपमा स्थापित विभागद्वारा आयोजित सिँचाइ दिवस एवं ७१औँ वार्षिकोत्सवको अवसरमा रानीजमारा कुलरिया सिँचाइ आयोजना टीकापुर कैलाली, सुनकोशी मरिन डाइभर्सन बहुउद्देश्यीय आयोजना सिन्धुली र बृहत् दाङ उपत्यका सिँचाइ आयोजना दाङलाई उत्कृष्ट सिँचाइ आयोजनाका रुपमा सम्मान गरिएको छ । कार्यक्रममा यसवर्ष अवकाश प्राप्त कर्मचारीलाई समेत सम्मान गरिएको छ ।