Logo

महिनामै ५२ करोड ९० लाख रुपैयाँ ऋण लिएर सेयर बजारमा लगानी

बढ्दै सेयर धितो कर्जा

काठमाडौं– पछिल्लो समय बैंक तथा वित्तीय संस्थाबाट ऋण लिएर सेयर बजारमा लगानी गर्ने प्रवृत्ति बढ्न थालेको छ । चालु आर्थिक वर्ष २०८०/०८१ को आठ महिनामा यस्तो कर्जा १२.३ प्रतिशत वृद्धि भएको राष्ट्र बैंकको तथ्यांक छ । साउनदेखि फागुनसम्ममा बैंक तथा वित्तीय संस्थाले सेयर धितोमा ८५ अर्ब ७० करोड १० लाख रुपैयाँ कर्जा लगानी गरेका छन् । यो गत असार मसान्तसम्मको तुलनामा ९ अर्ब ३९ करोड ३० लाख रुपैयाँ बढी हो ।

गत फागुनमा मात्रै लगानीकर्ताले ५२ करोड ९० लाख रुपैयाँ ऋण लिएर सेयर खरिद गरेका छन् । नेपाल राष्ट्र बैंकले लिएको लचिलो नीतिका कारण पछिल्लो समय यस्तो कर्जा बढ्न थालेको हो । चालु आवको पहिलो महिना अर्थात् गत साउनदेखि नै सेयर धितो राखेर कर्जा लिने लगानीकर्ता बढेका छन् । पछिल्लो समय ब्याजदर निरन्तर घट्दै जाँदा पनि सेयर धितोमा राखेर कर्जा लिने क्रम बढेको जानकारहरू बताउँछन् ।

राष्ट्र बैंकका अनुसार चालु आवको पहिलो महिनासम्ममा कुल ७६ अर्ब ४१ करोड ३० लाख, भदौसम्म ७७ अर्ब ६८ करोड ८० लाख, असोजसम्म ८१ अर्ब एक करोड ७० लाख र कात्तिकसम्म ८१ अर्ब १६ करोड रुपैयाँ सेयर कर्जा प्रवाह भएको थियो । यस्तै, गत मंसिर मसान्तसम्ममा ८१ अर्ब १९ करोड, पुससम्म ८४ अर्ब २९ करोड र माघ मसान्तसम्ममा भने ८५ अर्ब १७ करोड बढी सेयर धितो कर्जा प्रवाह भएको छ ।

ठूलो आकारको ऋण लिएर सेयर किन्ने लगानीकर्ता पनि बढेका छन् । सेयर धितो कर्जामा लगाएको केही नीतिगत कडाइ पनि विस्तारै खुकुलो बन्दै गएका छन् । राष्ट्र बैंकले हाल एक व्यक्तिले १५ करोड र संस्थागत लगानीकर्ताले २० करोड ऋण लिन पाउने व्यवस्था गरेको छ भने सेयर धितो कर्जाको जोखिम भार पनि घटाएको छ । २५ लाखसम्मको सेयर धितो कर्जाको जोखिमभार शतप्रतिशत कायम गरेकोमा त्यसको सीमा बढाएर ५० लाख रुपैयाँ पुर्‍याइएको छ ।

यता, बैंकले ५० लाख भन्दा बढीको सेयर धितो कर्जाको जोखिमभार १५० प्रतिशतबाट १२५ प्रतिशतमा झारेको छ । यस्ता नीतिगत लचकताले नै सेयर धितो कर्जा बढेको हो । विशेषगरी एक करोड भन्दा माथिको सेयर धितो कर्जा बढेको छ । राष्ट्र बैंकका अनुसार सो सीमाको कर्जा १७.४ प्रतिशत बढेको छ । गत असार मसान्तसम्ममा एक करोड भन्दा माथिको सेयर धितो कर्जा ४४ अर्ब ७१ करोड ६० लाख रुपैयाँ रहेको थियो । तर, गत फागुन मसान्तसम्म आइपुग्दा भने यस्तो कर्जा बढेर ५२ अर्ब ४८ करोड ८० लाख रुपैयाँ पुगेको छ ।

फागुनमा मात्रै यस्तो सीमाको कर्जा २१ करोड ९० लाख रुपैयाँ प्रवाह भएको राष्ट्र बैंकले जनाएको छ । यस्तै एक करोड माथिको सेयर धितोमा साउनमा ४४ अर्ब ३० करोड ८० लाख, भदौमा ४५ अर्ब २९ करोड ५० लाख, असोजमा ४७ अर्ब ९५ करोड, कात्तिकमा ४८ अर्ब १५६ करोड, मंसिरमा ४७ अर्ब ८४ करोड, पुसमा ५१ अर्ब ३० करोड र माघ मसान्तसम्म आइपुग्दा भने यस्तो कर्जा १६.८९ प्रतिशत बढेर ५२ अर्ब २६ करोड ९० लाख रुपैयाँ प्रवाह भएको थियो ।

समीक्षा अवधिमा २५ लाखदेखि ५० लाखसम्मको सीमा सेयर धितो कर्जा प्रवाह पनि बढेको छ । सो सीमामा प्रवाहित हुने कर्जा ८.८ प्रतिशत बढेको छ । राष्ट्र बैंकका अनुसार गत असार मसान्तसम्मा यस्तो सीमाको कर्जा १२ अर्ब ७८ करोड १० लाख रुपैयाँ प्रवाह भएको थियो । तर, फागुन मसान्तसम्ममा भने १३ अर्ब ९१ करोड रुपैयाँ प्रवाह भएको छ ।

यस्तै, गत साउनसम्म १४ अर्ब ८ करोड, भदौसम्म १३ अर्ब ८८ करोड, असोजसम्म १४ अर्ब १८ करोड, कात्तिकसम्म १३ अर्ब ८० करोड, मंसिरसम्म १४ अर्ब एक करोड, पुस मसान्तसम्ममा १३ अर्ब तीन करोड रुपैयाँ, माघसम्ममा भने १३ अर्ब ८४ करोड ७० लाख रुपैयाँ रहेको थियो । यता, ५० लाखदेखि एक करोडसम्मको सीमामा प्रवाहित हुने सेयर धितो कर्जा पनि ३.१० प्रतिशत बढेको छ ।

यस्तो सीमाको कर्जा गत असार मसान्तसम्ममा ११ अर्ब ७७ करोड ४० लाख रुपैयाँ प्रवाह भएको थियो । तर, फागुन मसान्तसम्ममा आइपुग्दा भने १२ अर्ब १४ करोड ३० लाख प्रवाह भएको छ । यता, २५ लाखभन्दा कम सीमाको कर्जा १.८ प्रतिशत बढेको देखिन्छ । गत असार मसान्तसम्ममा यस्तो सीमाको कर्जा सात अर्ब तीन करोड ५० लाख रहेको थियो । तर, फागुन मसान्तसम्ममा भने बढेर सात अर्ब १५ करोड ९० लाख रुपैयाँ प्रवाह भएको छ ।

प्रतिक्रिया दिनुहोस्