Logo

सयौंलाई रोजगारी दिन्छन् व्यवसायी खतिवडा

पोखरा– श्रमजिवीका आशा र भरोसा बनेका युवा व्यवसायी युवराज खतिवडा प्रायः सधैंजसो सेतो सुटमा देखिन्छन् । घादिङ खाल्टे (निलकण्ठ नगरपालिका) का ३६ वर्षीय खतिवडा हिजोआज पोखरामा व्यवसाय गर्दै सामाजिक काममा समेत लागिपरेका छन् । उनले पोखरामा कमाएको पुँजी आफ्नो जन्मथलोमा पनि सामाजिक क्षेत्रमा खर्च गर्दै आएका छन् । बाबु निलकण्ठ र आमा चित्रकुमारी खतिवडाका काँइला छोरा युवराज श्रीमती भगवतीसहित एक छोरा एक छोरीलाई आफूले सिकेको संस्कार दिन लागिपरेका छन् ।

उनले आफ्नो आम्दानीबाट बचत भएको रकम तीन भाग लगाई सामाजिक, राजनीतिक र निजी जीवन तथा परिवारको लागि खर्च गर्न सुरु गरेका छन् । सानै उमेरमा मुटु सम्बन्धि समस्याले उपचारको खोजीमा काठमाडौं पुगेका खतिवडाले जीवनमा निकै ठूलो सर्घष, हिम्मत, आँट, दृढ इच्छाशक्तिले गर्दा आज सफल व्यवसायी मात्र नभई आफ्नो छुट्टै पहिचान बनाउन सफल भएका छन् । २ पटकसम्म मुटुको भल्भको शल्यक्रिया गराइसकेका खतिवडाको बिहान ४ः०० बजे उठ्नु र नियमित काममा लाग्नु दिनचर्या नै भएको छ । पोखरामा सस्तो बजारदेखि कन्स्ट्रक्सनसम्मको कामको जिम्मा लिएका छन् ।

कक्षा ५ सम्म घादिङको महेन्द्रोदया कालिका निमाविमा अध्ययन गरेका उनले कक्षा ६ देखि १० कक्षासम्म काठमाडौंको बागबजारमा रहेको शहिद शुक्र माविमा अध्ययन गरे । मुटुको शल्यक्रिया गर्नुपर्ने चिकित्सकको सल्लाह अनुसार खतिवडाले तत्कालिन अवस्थामा ३ लाख ५० हजार संकलन गर्नु निकै ठूलो कुरा थियो । किसान परिवारमा जन्मिएका खतिवडाले हुने बिरुवाको चिल्लो पात भने झैं स्कुले जीवनमै पुस्टकारी बनाइ बिक्री गर्दै पैसा जोहो गर्दै आएका थिए । जसोतसो गरेर मुटुको शल्यक्रिया गरेसँगै उनी काठमाडौंमा बिहानमा स्कुल जाने र दिउँसो पत्रिका वितरण गर्न थाले ।

घरको आर्थिक अवस्था कमजोर भएकाले आफैंले २/४ पैसा आम्दानी गरेर स्वास्थ्य उपचार गर्न र पढाइका निम्ति काठमाडौं हानिनु खतिवडाको बाध्ययता थियो । भनेको समयमै आर्थिक जोहो गर्न नसक्दा मुटुको शल्यक्रिया गर्न लामो समय कुर्नु प¥यो । शहिद हृदयरोग केन्द्र बाँसबारीमा डा.भगवान कोइराला, डा.राजिवराज र डा.दिगु तज्य सहितको टोलीले उनको पहिलो शल्यक्रिया गरे । विद्यालयमा अध्ययनकै क्रममा विभिन्न सामग्री बिक्री गरेर आर्थिक जोहो गर्दै उनले २ रोपनी जग्गासमेत खरिद गरेका थिए । पुख्र्यौली बारी धितो बन्दक राखेर प्राप्त रकम, दिदीबाट प्राप्त २५ हजार, छिमेकीको सहयोगले उनको उपचार सम्भव भयो ।

माओवादी सशस्त्री द्वन्द्वका समयमा चिप्लेटी ढुंगा सिंचाई आयोजनाको नहर निर्माण भइरहेको सन्दर्भमा नेपाल वातावरण पत्रकार समाजको आँखीझ्याल कार्यक्रम उत्पादन गर्न धादिङ आएका आनन्दकुमार श्रेष्ठसहितको टोलीसँग खतिवडासँग पढ्ने इच्छा भएको बताएपछि श्रेष्ठले बागबजारको शहिद शुक्र विद्यालयमा भर्ना गराए । आर्थिक अभावमा मुटुको रोगी त्यस माथि निवार्हमुखी कृषि तथा पशुपालन व्यवसायमा लागेको परिवारले उनलाई राम्रोसँग स्वास्थ्य उपचार र शिक्षादीक्षा दिन सकिरहेको थिएन । त्यही अवस्थामा खतिवडालाई श्रेष्ठ ढुंगा खोज्दा देउता मिलेका थिए ।

संयोगले धादिङकै विद्यालयमा बोर्ड फस्ट भएका खतिवडाको पढ्ने तीव्र इच्छालाई श्रेष्ठले बुझेर काठमाडौंमा लगेर भर्ना गरी पाँच सय रुपैयाँसमेत दिएको स्मरण गर्दै उनी भगवानकोे रुपमा श्रेष्ठलाई सधैँ पुज्ने गर्छन् । श्रेष्ठसँग भेट नभएको भए खतिवडा धादिङमै निर्वाहमुखी कृषि व्यवसायमै अल्झिनुपर्ने बाध्यता हुन सक्थ्यो । पव्लिक युथ क्याम्पस धोवीचौरमा भर्ना भएसँगै प्रमाणपत्र तहको पहिलो वर्षको परीक्षा दिएपनि दोश्रो वर्षबाटै पढाइ स्थगित गरी उनी व्यावसायिक यात्रामा अघि बढे ।

स्कुल तथा क्याम्पस पोसाकमै काठमाडाैंका ठमेल, सुनधारा, रत्नपार्क, भोटाहिटी, जमल, सोल्टीमोडलगायतका क्षेत्रमा पत्रिका बिक्री गर्दै हिँडेर छुट्टै पहिचान बनाएका खतिवडा अहिले पनि विगतको घटना स्मरण गर्छन् । ३ वर्ष पत्रिका बिक्री गरेका खतिवडाले ५ वर्ष घडी, रेडियो र इलेक्ट्रिक सामान बिक्री गर्दै गर्दा एक दिन सबै सामान लुटिँदा उनको व्यावसायिक यात्राले नयाँ मोड लियो । उनले पोखराको सिद्धार्थ चोकमा रहेको फेवा एग्रिकल्चर प्रा.लि.को नामबाट जग्गा भाडामा लिएर व्यावसायिक सटरहरु बनाए ।

काठमाडौंका श्रेष्ठ र नुवाकोट रातमाटेका रामप्रसाद नेपालको देनका कारण आफूले जीवनमा ठूलो उपलब्धि हासिल गर्न टर्निङ प्वाइट भएको स्मरण गर्दै खतिवडाले उनीहरुलाई प्रेरणाको श्रोतक मान्छन् । भगवती खतिवडासँग विवाह गरेका उनलाई पोखराले आकर्षण गर्‍यो । १२ वर्षअघि ६५ लाख रुपैयाँ पत्याएर धादिङको एउटा युवालाई विश्वास गरेर गरेको लगानीले खतिवडा करोडौंका मालिक भएका छन् । हाल तीन वटा व्यवसायमा हात हालेका खतिवडाको निर्माण, एग्रिकल्चर र मार्केटमा ठूलो लगानी छ ।

वाई यु.के.कस्ट्रक्सन प्रा.लि., वाई यु.के. सुपरमार्केट र पोखरा सस्तो बजार सञ्चालन गरेका खतिवडाले पोखरामा आएको करिब १२ वर्षमा आर्थिक रुपमा आफूलाई कायपलट गर्न सफल भए । पोखरा सस्तो बजार साझेदारीमा छ भने उनका अन्य व्यवसाय एकल रुपमा सञ्चालित छन् । हाल २ हजार जना व्यवसायी प्रत्यक्ष रुपमा जोडिएको दाबी गर्दै खतिवडाले मजदुर व्यवसायी सबै गर्दा २ हजार भन्दा बढीलाई रोजगारी तथा स्वरोजगार हुने अवसर दिएका छन् । पोखराको सेती बगरमा करिब १५ करोड लगानीमा वाई यु के सुपर मार्केटको रुपमा तयार गरेपनि कोभिडका कारणले हालसम्म सञ्चालन हुन सकेको छैन ।

उक्त मार्केटमा भुई तलामा १ सय वटा व्यावसायिक सटर छन् । पहिलो तला तथा माथिल्लो तलामा केही सटरसहितका सभाहल छन् । धादिङबाट पोखरा आएर बस्ने जो कोहीलाई आर्थिक र भौतिक सर्मथनदेखि उनीहरुलाई रोजगार दिनसमेत कटिवद्ध भएको उनले बताए । कुनै समय धादिङमा राजनीति गर्ने सपना देखेका खतिवडाले आफूले कमाएको रकमसमेत धादिङ केन्द्रित गर्दै आएका छन् । पोखरा क्षेत्रका ११ ठाँउमा बजार स्थापना गरेका खतिवडाले सस्तो बजार, प्रस्याङमा मजदुर निवास, बसन्त निवास (कर्मचारी भाडामा बस्ने) लगायतका बजार स्थापित गरेका हुन् ।

मजदुर निवासमा १ सय जना मजदुर रहेका छन् भने स्टाफ रुम १० परिवार त्यही उनीहरुको रेखदेख गर्न बस्ने गर्दछन् । धादिङबाट पोखरा आई बस्ने ज्यालादारी मजदुरलाई खाना बस्न र रोजगारका लागि कोभिडबाटै उनले राहत वितरणदेखि कर्मचारी निवास र बसन्त निवासको अवधारणा ल्याएका हुन् । आफूसँग आबद्ध व्यवसायीका छोराछोरीको शिक्षादीक्षाका लागि छुट्टै मन्टेश्वरी समेत खोल्ने खतिवडाको धोको छ । त्यसैगरी उनले कुखुरा र माछा पालनको समेत योजना कोर्दैछन् । सस्तो बजारमा २०१ व्यावसायिक स्टल, सिद्धार्थचोकमा १ सय व्यावसायिक सटर रहेका छन् ।

सिर्जना चोकको सस्तो बजार, अम्मरसिंह चोकको सस्तो बजार, खसी बजारलगायतका क्षेत्रमा हाल राम्रो व्यवसाय सञ्चालन हुँदै आएको छ, जुन खतिवडाले सुरुवात गरेका थिए । कृषिमा आत्मनिर्भर बनाउने उद्देश्यले आफूले खाली तथा बाँझो जमिनमा फलफूल र तरकारी उत्पादनको अभियानमा जुटेको उनले बताए । उत्पादन, ढुवानी र आफ्नै बजारबाटै आम पोखरेली उपभोक्तालाई सिधै बिक्री गर्ने लक्ष्य रहेको उनले जनाए । हेमजा र बहुमारामा करिब ७० रोपनीमा मौसम अनुसारको कृषि उत्पादन सुरु भएको छ । भौगोलिक हिसावले भौतिक पूर्वाधार निर्माणसहितको विकास गर्ने उद्देश्यले डोजर, स्काभेटर, ट्रिपर सञ्चालन समेत गरेका छन् ।

हजारौंलाई रोजगारी दिएका खतिवडा हाल करोडपत्ति बनेका छन् । नेपालको राजनीति सेवामुलक हुनुपर्नेमा व्यवसायी भएको उल्लेख गर्दै खतिवडाले आफूले कमाएको पैसा सामाजिक क्षेत्रमा खर्च गर्न रमाउने गर्दछन् । गरिब परिवारमा जन्मेर उपचारको अभावमा छटपटीको पीडाबाट उन्मुक्ति पाएका खतिवडा गरिब र अभाव देख्न सक्दैनन् । कोभिडका बेला सडक पेटीमा खान नपाएकालाई उनले धेरै सहयोग गरे । आफूसँग भएको सहनशिलता, दृणता, इच्छाशक्तिले सफलता आउने उनको बुझाइ छ । पोखरा बनाउन र फेवाताल बनाउने विषयमा स्थानीय सरकारले सहकार्य गरे करोेडौं लगानी गर्न तयार रहेको उनले सुनाए ।

प्रतिक्रिया दिनुहोस्