Logo

लुम्बिनी अन्तर्राष्ट्रिय म्याराथनको उपाधि तीर्थ र सन्तोषीलाई

भैरहवा– लुम्बिनी अन्तर्राष्ट्रिय म्याराथनको उपाधि तीर्थ पुनले जितेका छन् । शनिबार भएको म्याराथनमा उनले निर्धारित ४२.१९ किलोमिटरको दुरी २ घण्टा २० मिनेट ४९ सेकेण्डमा पूरा गरेका थिए । उनले उपाधिसँगै नगद ५ लाख रुपैयाँ प्राप्त गरेका छन् । त्यस्तै २ घण्टा २१ मिनेट ११ सेकेण्डमा दौड पूरा गर्दै खड्कबहादुर खड्का दोस्रो भए । उनले नगद ३ लाख रुपैयाँ पाए । २ घण्टा २२ मिनेट ४६ सेकेण्डमा दुरी पार गरेर तेस्रो भएका दुर्गाबहादुर बुढाले २ लाख रुपैयाँ पाए ।

प्रतियोगितामा अनिश थापा चौथो, किरण बोगटी पाँचौं, सुशीलकुमार शाही छैठौं, होमलाल श्रेष्ठ सातौं, जुनेश खड्का आठौं, राजन चौधरी नवौं र प्रकाश गैरे दसौं स्थानसम्म आए । चौथोदेखि १० औंसम्म आउनेले क्रमश ८० हजार, ६० हजार, ४० हजार, २० हजार, १० हजार र ५ हजार रुपैयाँ प्राप्त गरे । महिलातर्फको हाफ म्याराथनको उपाधि सन्तोषी श्रेष्ठले जितेकी छन् ।

सन्तोषीले निर्धारित २१.१ किलोमिटरको दुरी १ घण्टा १८ मिनेट ४५ सेकेण्डमा पूरा गरिन् । पूर्णराज्यलक्ष्मी न्यौपानेले १ घण्टा १९ मिनेट २१ सेकेण्डमा दुरी पार गर्दै दोस्रो र पुष्पा भण्डारीले १ घण्टा २५ मिनेट १४ सेकेण्डमा दौड पूरा गर्दै तेस्रो भइन् । विजेता सन्तोषीले २ लाख, पूर्णराज्य लक्ष्मीले १ लाख ६० हजार तथा पुष्पाले १ लाख २० हजार रुपैयाँ प्राप्त गरेका छन् ।

त्यस्तै पाँच किलोमिटरको छात्रातर्फ अरुणा चौधरी पहिलो, कुसुम ठगुन्ना दोस्रो र भुमा चौधरी तेस्रो भए । छात्रतर्फ उमेश बराई, सन्देश पाण्डे र आशिषकुमार क्षेत्री शीर्ष तीन स्थानमा आए । खुला पाँच किलोमिटर पुरुषतर्फ नागेश्वर ऐर प्रथम, अक्कलबहादुर पाल दोस्रो र गणेश सिंह राउत तेस्रो भए । ५ किलोमिटर दौडको महिलातर्फ सिर्जना पाण्डे पहिलो, आशा राउत दोस्रो र निर्मला केसी तेस्रो भएका छन् ।

प्रतिक्रिया दिनुहोस्