इलाम–२ मा २० जनाको उम्मेदवारी पर्दा महिलाको संख्या शून्य
इलाम र बझाङमा उम्मेदवारी दर्ता

इलाम– आगामी वैशाख १५ का लागि तय भएको उपनिर्वाचनअन्तर्गत इलाम क्षेत्र नम्बर २ मा २० जनाले उम्मेदवारी दर्ता गराएका छन् । १२ राजनीतिक दल र ८ स्वतन्त्रसहित २० जनाको उम्मेदवारी परेको सहायक निर्वाचन अधिकृत इन्द्र श्रेष्ठले जानकारी दिए । नेकपा एमाले, नेकपा एकीकृत समाजवादी, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), नेपाल मजदुर किसान पार्टी, मंगोल नेश्नल अर्गनाइजेशनसहित स्वतन्त्र उम्मेदवारले मनोनयन दर्ता गराएका हुन् ।
एमालेबाट सुहाङ नेम्वाङ, कांग्रेसबाट डम्बर खड्का, नेकपा एसबाट जितबहादुर राई, राष्ट्रिय स्वतन्त्र पार्टीबाट मिलन लिम्बू, जनमत पार्टीबाट प्रेमकुमार थाम्सुहाङ, नेपाल मजदुर किसान पार्टीबाट श्यामबहादुर दर्जी, मंगोेल नेश्नल अर्गनाइजेशनका मनेबहादुर लिम्बू, स्वतन्त्र उम्मेदवार डकेन्द्रसिं लिम्बू, डाकप्रसाद गौतमले उम्मेदवारी दर्ता गराएका हुन् ।
त्यस्तै राप्रपाबाट लक्ष्मी गुरुङ, राप्रपा नेपालबाट गणेशबहादुर चौहान, राष्ट्रिय मुक्ति आन्दोलन दलबाट जयवन्त विक्रम शाह, नेपाली जनता दलबाट रेशमबहादुर सुनार, नेश्नल रिपब्लिकन पार्टीबाट धनराज रानामगरको उम्मेदवारी दर्ता भएको छ । उम्मेदवारी दर्ता गर्न विभिन्न दलका शीर्ष नेताहरु र्यालीसहित आफ्ना उम्मेदवार लिएर मुख्य निर्वाचन अधिकृतको कार्यालय पुगेका थिए ।
पूर्व प्रधानमन्त्री एवम् नेकपा एसका नेता झलनाथ खनाल, श्रम तथा रोजगार मन्त्री डीपी अर्याल, नेपाली कांग्रेसका सहमहामन्त्रीद्वय भीष्मराज आङदेम्बे र बद्री पाण्डे, कोशी प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री शमशेर राई, पूर्व मुख्यमन्त्री हिक्मत कार्कीलगायतका र्यालीसहित निर्वाचन कार्यालयमा पुगेका थिए । उम्मेदवारी दर्ता गरेका उम्मेदवारविरुद्ध आइतबार दिउँसो ३ बजेसम्म उम्मेदवारविरुद्ध उजुरी दिने कार्यसूची छ ।
त्यसपछि ३ देखि ५ बजेसम्म मनोनयन पत्र र उजुरी जाँचबुझ गरी निर्णय गर्ने कार्यसूची रहेको निर्वाचन आयोगले जनाएको छ । चैत २६ गते उम्मेदवारको नामावली प्रकाशन गर्ने, चैत २७ गते उम्मेदवारले नाम फिर्ता लिने, अन्तिम नामावली प्रकाशन गर्ने र चुनाव चिन्ह दिने कार्यसूची रहेको छ । गत भदौ २६ गते राती नेकपा एमालेका उपाध्यक्ष एवम् इलाम क्षेत्र नं २ का सांसद सुवास नेम्वाङको काठमाडौंमा हृदयघातका कारण निधन भएपछि रिक्त स्थानमा उपनिर्वाचन हुन लागेको हो ।
बझाङमा एक महिलासहित १२ जनाको उम्मेदवारी दर्ता
बझाङमा १२ जनाले उम्मेदवारी दर्ता गराएका छन् । बझाङ क्षेत्र नम्बर–१ ‘क’का निम्ति १२ जनाको उम्मेदवारी दर्ता गरिएको जिल्ला निर्वाचन कार्यालय बझाङले जानकारी गराएको छ । शनिबार बिहान १० देखि बेलुका ५ बजेसम्मको निर्धारित समयमा १२ जनाले उम्मेदवारी दर्ता गराएको जिल्ला निर्वाचन अधिकृत मानबहादुर धामीले जानकारी दिए ।
उम्मेदवार दर्ता गराउनेमा राष्ट्रिय मातृभूमि पार्टीका तर्फबाट गजेन्द्रबहादुर थापा, नेपाल मजदुर किसान पार्टीका खगेन्द्रबहादुर शाही, नेसनल रिपब्लिक नेपाल पार्टीबाट कमल घर्तीमगर छन् । यस्तै, नेकपा (एकीकृत समाजवादी)का दिलबहादुर सिंह, जनता समाजवादी पार्टी (जसपा)का रामबहादुर जाग्री, नेपाली कांग्रेसका अभिषेक सिंहले उमेदवारी दर्ता गराएका छन् । यस्तै राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का तर्फबाट किशोरकुमार खड्का, नेकपा (एमाले)का दमनबहादुर भण्डारीको उम्मेदवारी परेको छ ।
नेकपा (माओवादी केन्द्र) का जनक बुढा, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका तर्फबाट दीपकबहादुर खड्काले उम्मेदवारी दर्ता गराएका छन् । धामीले जनमत पार्टीका सुशीलादेवी विष्ट र नेपाली जनता दलका तर्फबाट अशोक सुनारले उम्मेदवारी दर्ता गराएको बताए । सुदूरपश्चिम प्रदेशका तत्कालीन आन्तरिक मामिलामन्त्री पृथ्वीबहादुर सिंहको सवारी दुर्घटनामा निधन भएपछि रिक्त प्रदेशसभा सदस्य पदमा उपनिर्वाचन हुन लागेको हो ।