Logo

लुप्राङ खानेपानी, स्थानीय हर्षित

पर्वत– लामो समयदेखि काकाकुल रहेको जलजला गाउँपालिका–८ नाग्लीवाङस्थित लुप्राङमा अब चौबिसै घण्टा पानी पुग्ने भएको छ । सिङ्गो बस्ती नै एकमात्रै कुवामा निर्भर हुनुपर्दा भोग्नुपरेको सास्तीका कारण बसाइँसराइ बढिरहेको बेला लामो प्रयासपछि पानीको सुविधा पुग्न लागेको हो । बर्खाका बेलामा आकाशको पानीले काम चलाए भए पनि हिउँद लागेपछि कुवाको पानी भर्न घण्टौं कुरेर बस्नुपर्ने अवस्था थियो ।

वडाध्यक्ष हरि विकास जिसीले वर्षाैंदेखिको समस्या समाधानका लागि लामो समयदेखि नै प्रयास गरे पनि बल्ल सफल भएको बताए । लुप्राङ गाउँबाट करिब चार किलोमिटर टाढा रहेको जलजला गाउँपालिका–९ बनौंको लस्ती खोलाबाट पाइप बिछ्याएर ल्याइएको हो । गाउँमा झरेको पानी एक लाख लिटर क्षमताका ‘रिर्जभ ट्यांकी’ मा खसालेर टोलटोलमा वितरण गर्ने योजना छ । एक करोडभन्दा बढी रुपैयाँ लगानीमा पूरा हुने योजना सकिएपछि लुप्राङवासीले नयाँ जुनी फेर्ने वडाध्यक्ष जिसी बताउँछन् ।

‘त्यहाँको पानीको समस्या वर्षौंदेखिको हो । त्यहाँका बासिन्दा अहिलेसम्म पनि कुवाको पानीमा भर पर्दै आएका छन् । गाउँको सबैभन्दा ठूलो पिर नै पानी थियो, उनले भने, ‘गाउँमा आएपछि लुप्राङबासीले पानीको विषयमा नयाँ जुनी नै फेर्न लागेको महसुस भएको छ,’ उनले भने । वडाध्यक्ष जिसीका अनुसार पानीको समस्याकै कारण गाउँ रित्तिँदै जाँदा चिन्ता थपिएको थियो । अहिलेको आधुनिक जमानामा एक गाग्री पानी नपाउने भएपछि गाउँ छाड्ने बढेका थिए ।

केही वर्षअघिसम्म लुप्राङमा करिब १३० घर भए पनि तीमध्येका करिब ४० परिवार बसाइँ सरेको वडाध्यक्ष जिसी बताउँछन् । स्थानीय हरिनारायण रेग्मीले वर्षौंदेखि पानीको प्रतीक्षामा बसेका लुप्राङबासीको मागको सुनुवाइ बल्ल भएको बताए । यससँगै एक गाग्री पानीका लागि राति र दिउँसो कुवाको छेउमा लाइन लागेर बस्नुपर्ने बाध्यता अन्त्य हुने उनको भनाइ छ । विगतमा पनि लस्ती खोलाको पानी लुप्राङमा ल्याउन प्रयास नभएको भने होइन ।

तर एउटा वडामा रहेको स्रोत अर्को वडामा लगेर प्रयोग गर्ने कुरामा राजनीतिक दलका प्रतिनिधि नै सहमत नहुँदा समस्या भएको थियो । यही विषयले गाउँपालिकाका बैठकमा समेत विवाद हुने गरेको थियो । तर यो पटक भने गाउँपालिकाका अध्यक्ष राजुप्रसाद आचार्य, जिल्ला समन्वय समितिका उपप्रमुख सोम जिसी, जलजला गाउँपालिकाका उपाध्यक्ष दीपक आचार्य, नाग्लीवाङका वडाध्यक्ष हरि विकास जिसी, बनौंका वडाध्यक्ष गौबहादुर पुर्जा र स्थानीय राजनीतिक दलका प्रतिनिधिबीच भएको छलफलले पानीको टुंगो लगाएको हो ।

जलजलाको दोस्रो आवधिक योजनाको मस्यौदा तयार
पर्वतको जलजला गाउँपालिकाको दोस्रो पञ्चवर्षीय आवधिक योजनाको मस्यौता तयार भएको छ । आवधिक योजना तयार पार्ने जिम्मेवारी लिएको परामर्शदाता प्रज्ञा रिसर्च एण्ड डेभलपमेन्ट प्रालि काठमाडौंले सोमबार मस्यौदा प्रस्तुत गरेको हो ।

मस्यौदामा सरोकारवालाको सुझाव संकलन गर्नका लागि छलफल भएको छ । पहिलो आवधिक योजनाको उपलब्धिको जगमा टेकेर दोस्रो आवधिक योजनाको मस्यौदा बनाएको र सरोकारवालाको सुझावको आधारमा अन्तिम रूप दिइने परामर्शदाता कम्पनीका लीलाधर सुवेदीले जानकारी दिए ।

आर्थिक, पूर्वाधार, सामाजिक, वन वातावरण तथा विपद् व्यवस्थापन र संस्थागत सुशासनका क्षेत्रमा पहिलो पञ्चवर्षीय योजनाको लक्ष्य र उपलब्धिलाई मूल्यांकन गरी अधुरा योजना तथा कार्यक्रमलाई पूर्णता दिन र नयाँ आवश्यकता सिर्जना भएका विषयलाई समावेश गरिएको छ । जलजला गाउँपालिकालाई कृषि क्षेत्रमा प्राथमिकता दिएर विकासका योजना तथा कार्यक्रम सञ्चालन गरिने मस्यौदामा उल्लेख छ ।

सामाजिक रूपान्तरण, शिक्षा र स्वास्थ्य सेवाको गुणस्तर सुधार गरी पहुँच विस्तार, वातावरणमैत्री र दिगो पूर्वाधार विकास, प्रविधिमैत्री, सुशासनयुक्त र पारदर्शी गाउँपालिकाको परिकल्पना गरिएको छ । गाउँपालिकाका उपाध्यक्ष दिपक आचार्यको अध्यक्षतामा भएको कार्यक्रममा विषय विज्ञले प्रस्तुत गरेको मस्यौदाका विषयमा जनप्रतिनिधि, कर्मचारी, विषयगत समितिका सदस्य, राजनीतिक दल र संघ संस्थाका प्रतिनिधिले सुझाव दिएका थिए ।

सरोकारवालाको सुझावको आधारमा अवधारणापत्र र लक्ष्य निर्धारण गरी आवधिक योजनाको मस्यौदालाई परामर्शदाताले पूर्णता दिएपछि आर्थिक वर्ष २०८१/०८२ देखि २०८५/०८६ सम्मका लागि लागू गरिने प्रमुख प्रशासकीय अधिकृत फणिन्द्रप्रसाद आचार्यले बताए । आवधिक योजनामा तथ्य र विवरणलाई वास्तविक बनाउन परामर्शदातालाई सुझाव दिएका जनप्रतिनिधिले पालिकाको हरेक योजना र कार्यक्रममा सोही योजनालाई आधार मान्ने प्रतिबद्धता जनाएका छन् ।

प्रतिक्रिया दिनुहोस्