काँकडभिट्टाबाट ४४ करोडको मुसुरो आयात

बिर्तामोड– पूर्वी नाका काँकडभिट्टा भएर चालु आर्थिक वर्षको आठ महिनामा ४४ करोड रुपैयाँभन्दा बढीको मुसुरो दाल आयात भएको छ । काँकडभिट्टा भएर साउनदेखि फागुनसम्म ४४ करोड ११ लाख रुपैयाँ मूल्यबराबरको ४४ लाख ११ हजार केजी मुसुरोको दाल आयात भएको हो ।
अस्ट्रेलिया र भारतबाट काँकडभिट्टा हुँदै मुसुरो दाल आयात भइरहेको छ भने बंगलादेशतर्फ निर्यात भइरहेको मेची भन्सार कार्यालय काँकडभिट्टाका सूचना अधिकारी एवं भन्सार अधिकृत गणपति कँडेलले जानकारी दिए । काँकडभिट्टा भएर चालु आर्थिक वर्ष २०८०/८१ को फागुनसम्म अस्ट्रेलियाबाट ३४ करोड १३ लाख मूल्यबराबरको ३५ लाख २५ हजार केजी र भारतबाट ९ करोड ९८ लाख रुपैयाँबराबरको ८ लाख ८६ हजार केजी मुसुरोको दाल आयात गरेको उनले बताए ।
गत आर्थिक वर्ष २०७९/८० को साउनदेखि फागुनसम्म सोही नाका भएर अस्ट्रेलियाबाट ३५ करोड ९९ लाख रुपैयाँको ३५ लाख ६२ हजार केजी र भारतबाट १० करोड ७२ लाख मूल्यबराबरको १० लाख ९ हजार केजी गरी कुल ४६ करोड ७१ लाख रुपैयाँबराबरको ४५ लाख ७१ हजार केजी मुसुरो दाल आयात गरेको सूचना अधिकारी कँडेलले जानकारी दिए ।
काँकडभिट्टा भएर नेपालले बंगलादेशतर्फ मुसुरो दाल निर्यात गर्ने गरेको उनले बताए । सन् १९९७ जुन १ देखि काँकडभिट्टा–फूलबारी–बंगलाबन्द मार्ग सञ्चालना आएयता नेपालले बंगलादेशमा मुसुरो निर्यात गर्दै आएको छ । पूर्वी नाका भएर चालु आर्थिक वर्षको फागुनसम्म १३ करोड १५ लाख रुपैयाँको ९ लाख २ हजार केजी मुसुरो दाल बंगलादेश निर्यात गरेको उनले बताए ।
गत आर्थिक वर्षको फागुनसम्म २६ करोड ४९ लाख मूल्यबराबरको १८ लाख ६ हजार केजी मुसुरोको दाल निर्यात भएको थियो । नेपालको बंगलादेशसँगको द्विपक्षीय व्यापारको मुख्य हिस्सा ओगट्ने मुसुरो दालको निर्यात पछिल्लो समय घट्दै गएको उनले बताए । सरकारले मुसुरो दाल निर्यात प्रोत्साहन गर्न भन्दै व्यवसायीलाई निर्यात प्रोत्साहन स्वरूप एक्सपोर्ट इन्सेन्टिभ निर्यात प्रोत्साहन भन्दै पाँच प्रतिशत सहुलियत प्रदान गरे पनि पूर्वी नाकाबाट मुसुरो दाल निर्यात घट्दो क्रममा रहेको उनको भनाइ छ ।
कुनै समय बंगलादेशसँगको व्यापारमा मुख्य हिस्सा ओगट्ने मुसुरोको निर्यात क्रमशः घट्दै गएको तथा आयात भने दोब्बर बढिरहेको उनले बताए । विगतमा मुसुरो निर्यातको तुलनामा आयात कम भए पनि अहिले निर्यातको तुलनामा आयात दोब्बरभन्दा बढी भएको बताउँदै उनले मुसुरो आयात अझै बढ्न सक्ने र निर्यात घट्ने सम्भावना बढी रहेको जानकारी दिए । मुसुरोको दाल निकासीमा सरकारले भ्याट छुट दिएको र व्यवसायीहरूले मुसुरो दाल निर्यातका क्रममा अनिवार्य रूपमा खाद्य प्रयोगशालाको सिफारिस पेश गर्नुपर्ने व्यवस्था छ ।
प्रयोगशालाको सिफारिसपछि निकासी महसुलवापत प्रति एसेसमेन्ट ११३ रुपैयाँ बाहेक अन्य केही रकम बुझाउनु नपर्ने उनले बताए । मुसुरो दाल घट्दो निर्यातले नेपाल–बंगलादेशबीचको द्विपक्षीय व्यापारमा समेत प्रत्यक्ष असर पुगेको बताउँदै उनले यसले गर्दा पूर्वी नाका भएर हुने नेपाल र बंगलादेशबीचको द्विपक्षीय व्यापार घाटामा वृद्धि भएको जानकारी दिए ।