Logo

राजस्व कम हुँदा आन्तरिक सूचक कमजोर

काठमाडौं– अर्थमन्त्री वर्षमान पुनले चालु आर्थिक वर्षको हालसम्मको राजस्व संकलनको अवस्था उत्साहजनक हुन नसक्दा अर्थतन्त्रको आन्तरिक सूचकमा सुधार आउन नसकेको बताएका छन् । उनले राष्ट्रपति र उपराष्ट्रपति कार्यालय तथा संघीय संसदसहित संवैधानिक अंगहरुका सचिवहरुसँग छलफलमा सो कुरा बताएका हुन् ।

आगामी आर्थिक वर्षको बजेट निर्माण र चालु आर्थिक वर्षको समीक्षाका लागि आयोजित कार्यक्रममा लक्ष्य महत्वाकांक्षी राखिए पनि राजस्व वृद्धि अपेक्षित नभएको उनले बताएका थिए । चालु आर्थिक वर्षको नौ महिनासम्म नौ प्रतिशत हाराहारीमा मात्र राजस्व संकलन हुनु राम्रो नभएको उनको भनाइ थियो । यद्यपि आफू मन्त्री भएर आएको करिब एक महिनामा राजस्व संकलनमा केही सुधारका संकेत देखिएको मन्त्री पुनको दावी थियो ।

राजस्व चुहावट नियन्त्रणका लागि अर्थ र गृह मन्त्रालयको राजनीतिक र प्रशासनिक नेतृत्वबीच समन्वयमा कामअघि बढेको भन्दै मन्त्री पुनले आर्थिक वर्षको बाँकी तीन महिनामा राजस्व संकलनमा सकारात्मक वृद्धि गर्ने लक्ष्य राखिएको बताए । ‘चालु आर्थिक वर्षमा ४१ प्रतिशत राजस्व संकलनको लक्ष्य राखिएकामा म आउँदा नौ प्रतिशत हाराहारीमा मात्र वृद्धि रहेछ’, पुनले भने, ‘अर्थ र गृहको अन्तर मन्त्रालय समन्वयमा राजस्व चुहावट नियन्त्रणको काम सुरु गरिसकेका छौं । अब राजस्व संकलन बढ्छ ।’

प्रतिक्रिया दिनुहोस्