मकैको घोगामा दाना लागेन

व्यावसायिकरुपमा मकै खेती गर्दै आएका रौतहटको चन्द्रपुर नगरपालिका–३ गैंडाटारका किसानले लगाएको मकैको घोगामा दाना नलागेपछि उनीहरु चिन्तित भएका छन् । मकै उत्पादनका लागि पकेट क्षेत्र मानिने रौतहटको गैंडाटारमा यस पटक मकैको घोगामा दाना नलागेपछि किसान चिन्तित भएका हुन् ।
धेरै मेहनत गरेर मकै खेती गरे पनि मकैको घोगा लागेर दाना लाग्ने समयमा दाना नलागेपछि आफूहरु मर्कामा परेको किसान राधिका चौहानले बताइन् । सरकारले नै सिफारिस गरेको बन्नी जातको हाइब्रिड मकैको बिउमा दाना नलागेको किसानहरु बताउँछन् । रोपेको ९० दिनमा नै मकैमा घोगा लाग्ने भन्दै किसान उक्त जातको बिउतर्फ आकर्षित भएका थिए । धेरै उत्पादन हुने भन्दै किसानले सरकारबाट मान्यता प्राप्त सो जातको हाइब्रिड मकै लगाएका हुन् ।
भारतको हैदरावादमा उत्पादन भएको बन्नी एनएमएच ७१३ जातको बिउ रोपेको तर उत्पादन नहुँदा मर्कामा परेको किसान जितेन्द्र धामीले बताए । महँगो मूल्यमा बिउ खरिद गरेर रोपेको मकै भाँचेर बेच्ने बेलासम्म दाना नलाग्दा यहाँका किसान मर्कामा परेको धामीको भनाइ छ । एक बिगाहामा मकै खेती गर्दा ४५ हजार खर्च हुने गरेको भन्दै मकै उत्पादन नहुँदा यस भेगका किसान अहिले मर्कामा परेको उनले बताए ।
५ सय विगाहामा मकै खेती गरिएको गैंडाटारमा ३ सय विगाहमा यस्तो समस्या देखिएको गैंडाटार मकै पीडित संघर्ष समितिका अध्यक्ष होमनाथ दाहालले बताए । सरकारले उन्नत जात भनेर सिफारिस गरेको बन्नी र डाईगन जातको मकैमा दाना नै नलागेपछि सरकारसँग क्षतिपूर्तिको माग गरेको उनले बताए । राज्यले छानबिन गरेर क्षतिपूर्ति दिनुपर्ने र बिउ बिक्री गर्ने एग्रोभेटलाई कारबाही गर्नुपर्ने किसानको माग छ ।
यसैबीच कृषि सेवा केन्द्र सन्तपुरका प्रमुख रामकृपाल चौधरीले मौसममा भएको परिवर्तनका कारण यस्तो समस्या आउन सक्ने बताए । उनले तोकिएको तापक्रमभन्दा बढी चिसो भएमा यस्तो समस्या आउने बताए ।
–सुब्बा कार्की