Logo

र्‍याडिसनमा डेढ करोडको होक्काइडो

काठमाडौं– जापानी खानालाई प्रवद्र्धन गर्दै आएको होक्काइडो नेपाल बिजनेस ग्रुप (एचएनविज) ले छैटौं शाखा इजाकाया होक्काइडो र्‍याडिसन होटल परिसर लाजिम्पाटमा सञ्चालनमा ल्याएको छ ।

करिब डेढ करोड लगानीमा शाखा विस्तार गरेको ग्रुपले स्वस्थ खानाको प्रवद्र्धन र रोजगारीमा जोड दिइएको जनाएको छ । १७ वर्ष जापानमा व्यावसायिक खानपानमा अनुभव संगालेर नेपाल फर्किएका होक्काइडो नेपाल बिजनेस ग्रुप निर्देशक अर्जुन अधिकारीसहितको समूहले होक्काइडो सञ्चालनमा ल्याएको हो ।

इजाकाया होक्काइडोले जापानी फुड पारखीका लागि ५० भन्दा बढी परिकार पस्कँदै आएको छ । इजाकायामा शाकाहारी र मांसाहारी दुवै मेनुको व्यवस्था छ । मद्यपान, धुम्रपानका लागि छुट्टै कक्षको व्यवस्था गरिएको इजाकायामा पारिवारिक, प्रेमिल तथा गोप्य सिटको व्यवस्था छ । नेपाली र जापानी चाडपर्वहरुमा इजाकायाले विशेष कार्यक्रमको साथै उपभोक्ताका लागि आकर्षक प्याकेज ल्याउँदै आएको छ ।

७० जना अट्ने हलको व्यवस्था रहेको इजाकायामा सभा, समारोह तथा अन्य कार्यक्रमका लागि मागबमोजिमका सेवा उपलब्ध छन् । साताको सबै दिन खुला रहने इजाकायाले सबै सेवाहरुमा १५ प्रतिशत छुट दिएको छ ।

पछिल्लो समय नेपाली समाज जापानी खानाको पारखी बन्दै गएको छ । जापानी पाककलासँग नेपाली खानेकुराको स्वाद मिश्रण गरेर स्वदिलो र स्वस्थ खाना पस्किने समूहले उद्देश्य लिएको छ । लाजिम्पाट शाखामा जापान ट्राभल ब्युरोका जनरल म्यानेजर मधु आचार्यसँगको सहकार्य रहेको छ । सन् २०१९ देखि नेपालको रेस्टुरेन्ट क्षेत्रमा जापानी फुड कल्चरलाई प्रवेश गराएका अधिकारीको नेतृत्वमा काठमाडौंको बुढानीलकण्ठमा रहेको पार्क भिलेज होटल हातामा होक्काइडो रामेन हाउस रेस्टुरेन्ट पहिलो शाखाको रुपमा सञ्चालनमा आएको थियो ।

पहिलो शाखामा नै होक्काइडो रामेन हाउसप्रति आम उपभोक्ताको आकर्षणका कारण यो समूहअन्तर्गत काठमाडौंका विभिन्न ६ स्थानमा जापानी रेस्टुरेन्ट सञ्चालनमा ल्याउन सकिएको ग्रुपका अध्यक्ष सुनिता अधिकारीले बताइन् । होक्काइडोका शाखाहरु देक्काइडो फार्महाउस बूढानीलकण्ठ, ओमाकासे नक्साल, इजाकाया होक्काइडो र्‍याडिसन होटल लाजिम्पाट, होक्काइडो हाउस सानेपा र होक्काइडो बेन्तो हाउस बौद्ध रहेका छन् । क्यूएक्सको रुपमा सञ्चालन भएका शाखा भने लबिम मल पुल्चोक र ली शेर्पा काठमाडौं हुन् ।

जमिनबाहेक ग्रुपले करिब १७ करोड रुपैयाँ लगानी विस्तार गरिसकेको छ भने थप विस्तार गर्ने योजनासहित व्यावसायिक योजना अगाडि सारेको निर्देशक अधिकारीको भनाइ छ । ग्रुपले दैनिक ६ शाखाबाट ६ सयलाई मागअनुसार खानाका परिकारको सेवा दिँदै आएको छ । यसको अलावा रेस्टुरेन्टलाई आवश्यक पर्ने कच्चा पदार्थ उत्पादन गर्ने हेतुले रुपन्देहीको भैरहवामा देक्काइदो एग्रो फार्म सञ्चालनमा छ । जापानी फुड कल्चरको प्रवद्र्धन गर्दै रेस्टुरेन्टमार्फत जापानी खानाका पारखीको सेवामा समर्पित यो समूहमा करिब १७० जनाको टिमले काम गरिरहेको छ ।

जापानको होक्काइडोमा नेपाली फुड कल्चरलाई विस्तार गरेको अधिकारी नेतृत्वको समूह सोही प्रेरणाका कारण नेपालमा जापानी फुड कल्चर विस्तारमा लागेको हो । अधिकारीले भने, ‘नेपालमा जापानी खानाका परिकारको भविष्य राम्रो छ । गुणस्तरीय र स्वस्थ खानाका परिकारसहित हामीले शाखा विस्तार गर्दैै आएका छौं ।’ जापानमा आर्जन गरेको व्यावसायिक अनुभवलाई उपयोग गर्दै रेस्टुरेन्ट क्षेत्रमा लगानी र रोजगारी सिर्जनाको संकल्प बोकेर अधिकारी दम्पतीसहितको समूह नेपालमा जापानी फुड कल्चर प्रवद्र्धनमा सक्रिय छ । विदेशी भूमिमा श्रमसँगै आर्जन गरेको सीपलाई नेपालमा प्रयोग गर्दा उत्पादन र रोजगारीको क्षेत्रमा सहयोग पुग्ने धारणा बोकेका अधिकारीले जापानी फुड कल्चरलाई देशैभर विस्तारको योजना बनाएका छन् । कम्तीमा एक सय उद्यमी जन्माउने सपना बोकेका अधिकारीले हालसम्म ७ जना सफल उद्यमीलाई यो क्षेत्रमा स्थापित गराएका छन् ।

जापानमा व्यावसायिक पृष्ठभूमिका व्यक्तिहरुको समूह होक्काइडो नेपाल बिजनेस ग्रुप नेपालको समृद्धिसँग हातेमालो गर्ने उद्देश्य बोकेको संस्था हो । मुख्यगरी उत्पादन, उद्यमी र लगानीलाई प्राथमिकतामा राखेको यो समूहले आन्तरिक सशक्तीकरणमार्फत विदेशी लगानी भित्र्याउने वातावरण निर्माणको योजना बनाएको छ । देशको समृद्धिका लागि नागरिकलाई पहिला उत्पादनसँग जोड्नुपर्ने बताउने निर्देशक अधिकारी उत्पादनलाई गुणस्तरीय बनाउनका लागि विदेशी प्रविधि, लगानी र सीप भित्र्याउने गरी काम गर्ने बताउँछन् । उनी भन्छन्, ‘पहिला उत्पादनलाई फोकस गर्छौं अनि गुणस्तरीय उत्पादनका लागि सफल प्रविधि र सीपसँगै लगानी भित्र्याउँछौं । यसले उद्यमी बन्न प्रेरित गर्छ र स्वदेशमा नै उत्पादन, उद्यमी र गुणस्तरीय सेवा प्रवाह हुन्छ ।’

उद्यमीले सफल प्रविधि भित्र्याउन पहल गरेसँगै उत्पादनको गुणस्तर बढ्ने र यसले निर्यात प्रतिस्थापन तथा स्वदेशमा रोजगारीको अवसर सिर्जना हुने उनले बताए । उत्पादनसँग जोडिएपछि विस्तारै गुणस्तरीय उत्पादनमा जोड दिने र त्यसलाई मौलिक पहिचानका साथ अन्तर्राष्ट्रियकरण गरिनुपर्ने धारणाका साथ आफूहरु अगाडि बढेको अधिकारी बताउँछन् । उत्पादन र उपभोगलाई प्रतिस्पर्धी बनाउन विदेशको सफल प्रविधि र सीप भित्र्याउनुपर्ने अधिकारीको धारणा छ ।

प्रतिक्रिया दिनुहोस्