Logo

स्वास्थ्य नै मानव पुँजी

अप्रिल ७, आज विश्व स्वास्थ्य दिवस । दिवसहरू त हामी मनाउँछौँ तर देश रोगी छ । अर्थतन्त्रका सूचकांकहरू निराशाजनक छन् । देशमा पुँजी निर्माण हुन सकेको छैन, लगानीको वातावरण सरकारले तय गर्न सकेको छैन र बैंक एवं वित्तीय संस्थाहरूमा तरलता अधिक छ । ब्याज कम हुँदा पनि कर्जा प्रवाह भएको छैन । मानव पुँजी अझ ठूलो पुँजी हो, त्यो अस्वस्थ छ र विदेश भौँतारिएको छ, हाम्रो लोकतन्त्रले जनशक्ति योजना तयार गरी लागू गर्न सकेन ।

राजनीतिकर्मीहरू झैं सबै एयर एम्बुलेन्स र जम्बो टोली लिएर विदेश उपचार गर्न जाने आम नेपालीको हैसियत नै छैन, यहीँको अस्पताल पुग्न, देख्न नसक्ने धेरै छन् । सरकारले बीमा नीति लियो, झन्डै एक दशक हुन लाग्यो, अलपत्र छ योजना, सबैतिर छैन, जता लागू भयो बन्द पनि भइसक्यो, बन्द नभएका स्थानमा गत माघदेखि बीमा बोर्डले बीमा शुल्कका अतिरिक्त थप १० प्रतिशत शुल्क लिन थालेको छ र निजी संस्थाहरूबाट सेवा लिए २० प्रतिशत थप शुल्क लाग्ने आदेश कार्यान्वयन हुनै लागेको छ ।

एकैपल्ट सयौँ स्वास्थ्यकेन्द्रको उद्घाटन भयो, तर बनेनन्, भएका सरकारी अस्पताल पनि सर्वसुलभ छैनन् । निजीहरूले त घरखेत सोत्तर बनाउने नै हुन् । पूर्वको एक मेडिकल कलेजले सम्बन्धन नपाउँदाको झोकमा सडकै ततायो, अदालतले सम्बन्धन दिनू भन्यो, अनशनी अभियन्ताहरूलाई टाउको दुखिसकेको छ ।

काठमाडौंमा वायु प्रदूषण कम छैन, हाम्रो अस्वस्थकर जीवनशैली छ, बढी आराम गर्ने बानी छ, खेतबारीमा रमाउने दिन ढलिसकेको छ, युवावयमै दीर्घरोगी भइरहेका छन् नेपालीहरू, असाध्य रोग बढेको छ । हिजो सग्लो देखिएको मान्छे आज अर्कै लोकमा पुगिसकेको अवस्था छ । हाम्रो खानपान निर्विषाक्त छैन र खाने बानीमा पनि ध्यान दिन सकिएको छैन । वायुमण्डल प्रदूषित छ, सरकारी वितरित पानी नै गुणस्तरीय छैन र जुनसुकै याममा अस्पतालहरू भरिभराउ देखिन्छन् ।

देशकोे संविधानले स्वास्थ्य सेवालाई मौलिक हकका रूपमा स्विकारेको छ । आधारभूत स्वास्थ्य सेवा निःशुल्क हुने भनेको छ, स्वास्थ्य सेवामा पहुँच बढाउने पनि । सुलभ स्वास्थ्य सेवाबाट स्वस्थ जीवन र दिगो विकासको परिकल्पना पनि गरेकोे छ । कुल प्रजनन दर ह्वात्तै घटेको छ । भूगोल र जनसंख्याको अनुपात हेरी चिकित्सक र स्वास्थ्य संस्थाको विकास भने गर्न सकिएको छैन ।

संघीयतापछि देशका सबैजसो संयन्त्र निष्क्रिय नै छन्, सरकारले धेरै औषधि निःशुल्क वितरण गर्ने नारा लिए पनि यो सुलभ छैन र गुणस्तर पनि । स्वास्थ्य बीमा कार्यक्रमको प्रभावकारिता देखिएन, कतिले नवीकरण नै गर्न छोडे । स्वास्थ्य क्षेत्रमा आउने वैदेशिक सहयोगमा समन्वय भएन, दोहोरोपना पनि देखियो । योजना, परियोजना र गैससहरूमा समन्वय भएन । भूकम्पबाट क्षतिग्रस्त भएका संरचनाहरू, स्वास्थ्य संस्थाको पुनर्निर्माण अझैं अधुरो छ । चालु पन्ध्रौँ योजना सकिन लाग्यो, उपलब्धि भरपर्दो देखिएको छैन ।

गुणस्तरीय स्वास्थ्य सेवाको पहुँचबाट स्वस्थ र सबल नागरिक तयार गरी मानव पुँजी निर्माण गर्न सके मात्र देश विकास हुने हो । समृद्धिको यात्रा अधुरै छ हाम्रो । सबै नागरिकले सुलभ आधारभूत स्वास्थ्य सेवा प्राप्त गर्ने वातावरण तय भएन, देशले राजनीतिक नारा दियो, बाँकी नारा अलपत्र परे । लोकतन्त्रमा पनि सबै वर्ग, क्षेत्र, समुदाय, समूहले नागरिकको मौलिक हक–अधिकारको प्रत्याभूति हुने अवस्था सिर्जना हुन सकेन ।

अनेकौँ स्वास्थ्य संस्था निजी क्षेत्रमा प्रतिस्पर्धी भएर आए तर सेवाको भन्दा मेवाको चाहना धेरै भयो, अति महँगा भएकाले सर्वसाधारणको पहुँचबाहिर नै रहे ती । शारीरिक र मानसिक विकलांगको अवस्था थप जटिल बन्दै छ । यातायात सेवाले निम्त्याएका दैनिकका दुर्घटना, प्राकृतिक विपत्तिसमेतले मानव स्वास्थ्यमा जटिलता थपेको छ । पुराना थोत्रा सवारी साधन, कच्ची बाटाघाटा, भू–स्खलन, बाढीपहिरो, हिमपात, भूकम्प, हावाहुरीजस्ता विनाशकारी परिवेशले मानव स्वास्थ्य आक्रान्त छ ।

देशमा केही वर्षयतादेखि जनशक्ति कम हुँदै छ, भएको जनशक्ति विदेश पोखिएको छ । हाल विश्वमा जम्माजम्मी २ करोड ९० लाख नर्स छन् र १ करोड २७ लाख चिकित्सक । १ करोड ४९ लाख अन्य स्वास्थ्यकर्मीहरू छन् भने ३७ लाख फार्मेसिस्ट, २५ लाख दन्त चिकित्सक र २२ लाख मिडवाइफहरू छन् ।

समग्रमा हाल विश्वमा ६ करोड ५० लाखभन्दा बढी स्वास्थ्यकर्मी रहेको तथ्यांक छ । आगामी सन् २०३० सम्ममा विश्वले यो संख्यालाई बढाएर ८ करोड ४ लाख पु¥याउने लक्ष्य राखेको छ । हाल ५५ देशमा स्वास्थ्यकर्मीहरूको जनशक्ति कम छ, त्यसमा उच्च कमी हाम्रो देशमा छ । स्टेट अफ नर्सिङ वल्र्डका अनुसार अमेरिका, युरोप, एसिया प्रशान्तक्षेत्रमै मात्र करिब ८१ प्रतिशत नर्स कार्यरत छन्, अफ्रिकी देशहरूमा प्रति १० हजार जनसंख्यामा ९ जना मात्रै नर्स रहेको तथ्यांक छ ।

हाम्रो मेडिकल काउन्सिलको तथ्यांकमा हाल जम्मा १० हजार ८० जना विशेषज्ञ चिकित्सक, ३२ हजार २ सय १८ जना एमबीबीएस र बीडीएस गरी ४२ हजार चिकित्सक छन् भने विशेषज्ञ नर्सहरूको संख्या १ हजार ३ सय २६ र नर्स ७३ हजार ५ सय १४ जना छन् । त्यस्तै ३७ हजार १ सय ४० अनमि र ८ सय ४८ विदेशी नर्सहरू छन् । समग्रमा चिकित्सक, नर्स, मिडवाइफ गरी १ लाख ५५ हजार १ सय ७७ जना स्वास्थ्यकर्मी रहेका छन् ।

विश्व स्वास्थ्य संगठनले नेपालको जनसंख्याअनुसार यो निकै कम हो भनेको छ । औसत आवश्यकताभन्दा धेरै नै कमी हुने देश नेपाल, बंगलादेश आदि ५५ देशमा स्वास्थ्यकर्मीहरूको चरम अभाव भनेको छ उसले । स्वास्थ्य क्षेत्रका जनशक्तिको कमीले सन् २०३० को स्वास्थ्य लक्ष्य पूरा नहुने पक्का छ । अफ्रिकाको अर्थतन्त्र त बलियो छ तर त्यहाँ पनि स्वास्थ्यकर्मीको भने कमी छ । यी देशहरूमध्ये पनि अंगोला, क्यामरुन, चाड, बुर्किनाफासो, नाइजेरिया, कंगो, रुवान्डामा धेरै कम छन् स्वास्थ्यकर्मीहरू । प्रति १० हजार जनसंख्यामा ४९ जना स्वास्थ्यकर्मी हुनुपर्ने मान्यता भए पनि यसो नभएको विश्व स्वास्थ्य संगठनको भनाइ छ । राम्रो आय आर्जनका कारण भएको जनशक्ति पनि विदेशतिर भासिएको हाम्रो यथार्थ छ ।

देशले केही वर्षयतादेखि स्वास्थ्य बीमा लागू गरे पनि सेवा प्रभावकारी बनाउन सकेन र यो पनि व्यापारीकरण भयो, सेवा–सुविधा राम्रो भएन, बिमितहरू निराश छन्, धेरैले बीमा नवीकरण गरेका छैनन् । चिकित्सक सेवा उपलब्ध नहुने, भनेको औषधि नपाइने, पाइए पनि औषधिमा गुणस्तरको अभाव रहेको व्यापक गुनासो छ । जहाँबाट बीमा गरियो त्यहाँ त्यो क्षेत्रमा बिरामी उपचार सहज नभएको, पूर्वाधारको अभाव भएको रेफर गरेर अन्यत्र जाँदा समय अपुग भएकाले बीमासम्बन्धी नीति नै व्यावहारिक नभएको जनधारणा छ । सबै किसिमका औषधि नपाइँदा फेरि निजी औषधि पसलहरूमा जान बाध्य परेको अवस्था छ ।

साँच्चै मानव पुँजी भनेको निरोगी स्वास्थ्य नै होे । कोरोनाले स्पष्ट गरेको छ, विज्ञानलाई थर्कायो यसले, विश्वलाई त्रास बनायो । वैज्ञानिकहरू नै अचम्मित भए । अमेरिकालगायत विकसित देशहरू नै लर्बराए कोरोना देखेर, घुँडा टेके सबैले । मानव जीवन, असल स्वास्थ्यको पहिलो आधार प्रदूषणमुक्त संसार हो । विकसित देशका तुलनामा नेपालमा प्रदूषणको खतरा ज्यादा छ, जसले मानव स्वास्थ्यलाई बढी चुनौती दिइरहेको छ । यो भनाइलाई विश्व स्वास्थ्य संगठनले पनि पुष्टि गरेको छ ।

बच्चाहरूले खाने धूलो दूधमा विषाक्त मेलालाइन पाइएको हो र अन्य खाद्य सामग्रीमा विषादी परीक्षण हुन सकेको छैन, उपभोक्ताले छान्ने अवस्था छैन, मूल्य अधिक छ । भोलिको चिन्ताभन्दा आजकै चिन्ता ठूलो भएको छ आमनेपालीलाई । श्वास फेर्ने हावा नै विषाक्त छ र असाध्य रोगहरू थपिएका छन् । टोलटोलमै अस्पताल, चोकचोकमै औषधि पसलहरू खुलेका छन्, अतीतमा यस्तो थिएन । शरीरमा रोग प्रतिरोधात्मक शक्ति क्षीण भएको छ, असावधानीपूर्वक प्रयोग भएका रासायनिक मलले वातावरण भनौँ जलचरहरूलाई समग्रमा समस्या थपेको छ ।

सन् १८३० मा जर्मनीका एक वैज्ञानिकले उद्योग तथा प्लास्टिक, ट्वाइलेटमा प्रयोग गरिने टायलहरूमा प्रयोग गर्ने भनी ६७ प्रतिशत नाइट्रोजन हुने मेलालाइनलाई एक किसिमकोे रसायनको नामकरण गरिदिए, जुन आफैँमा अखाद्य साबित भई सन् २०१० मा अमेरिकामा प्रतिबन्धित भयो । चीनमा सन् २००८ मा मेलालाइन मिश्रित दूध सेवनले ३ लाख बालबालिका बिरामी परेको समाचार आयो ।

विश्व स्वास्थ्य संगठनले घातक सिद्ध गरेकोे औद्योेगिक रसायन मेलालाइन मानव खाद्यका रूपमा प्रयोग हुँदा मृगौला, मूत्रथैलीमा प्रत्यक्ष असर गर्ने भन्दै नेपाली विज्ञ चिकित्सकहरू अत्तालिएका थिए यहाँ पनि । आज क्यान्सर रोग भयावह भइसकेको छ, औषधि सर्वसुलभ छैन, पंक्तिकारकै कोही भन्दै छन्, ‘हरेक तीन महिनामा उपचार र फलोअपका लागि अर्को देश जाने गरेको छु, तीन–चार जना अरू साथी जानुपर्छ खर्च कसरी धान्ने ?’

आधुनिक युगमा धेरै वैज्ञानिक पद्धतिको विकास भए पनि मानव स्वास्थ्य जोखिममा छ । औलो, कुपोषणदेखि सयौं रोगको जोखिम झेल्दै आएको देश नेपालले पछिल्लो समय स्वाइनफ्लु, बर्डफ्लु, डेंगु हुँदै कोरोनासम्म पुग्यो । रुघाखोकी, निमोनियाँले मान्छे मरेका छन् । सिंगापुरमा एकपल्ट पंक्तिकार पुग्दा दुई जनालाई रुघा लाग्दा त्यहाँ देशैभरि हल्ला भएको र राष्ट्रिय पत्रिकाहरूले ठूलै अक्षरमा छापेको देखेको थियो ।

हामी विकासशील राष्ट्रमा स्तरोन्नति भइसकेका छैनौँ, सबै क्षेत्रको सूचक सुधार गरी सहस्राब्दी विकास लक्ष्य पूरा गर्न पनि हम्मेहम्मे छ हामीलाई । मानव स्वास्थ्य राम्रो नभई अन्य सूचकहरूको कुनै अर्थ रहँदैन । ऊर्जा, कृषि, पर्यटन, उद्योग, व्यापार, शिक्षा, खानेपानी, सडक यातायातजस्ता समग्र पूर्वाधार मानव जीवन भनौँ स्वास्थ्यकै लागि हो । मानव स्वास्थ्य, मानव पुँजीबिना कुनै देश उँभो लाग्ने होइन । संसारका धेरै देशमा नेपालीहरू उच्च जोखिममा विवशतापूर्वक रोजगारीमा लाग्नुपर्ने अवस्थाले पनि अनेकानेक रोगहरू भित्रिन सक्ने अवस्था छ ।

स्वस्थ जनशक्ति तयार गर्न पोषणयुक्त खाना आवश्यक हुन्छ । जंकफुड, बट्टाबन्दी खाना, केटाकेटीहरूको खाजा फास्टफुडदेखि बजारमा सजिएका विज्ञापनयुक्त खाना धेरै छन् हाम्रा । यसैले रोगप्रतिरोधी क्षमतामा ह्रास आएको छ र सामान्य रोगमा खाइने परम्परागत हाम्रा जडीबुटीका औषधिले काम गर्न छोडेका छन् र एन्टिबायोटिकको प्रयोग अधिक छ । विषादी तरकारी, विषाक्त तेल, अखाद्य मिठाई, दूध, मासु, फलफूल, गेडागुडी, दाल आदिमा अखाद्य वस्तुको प्रयोगले मानव स्वास्थ्य थप जोखिममा छ ।

उपभोक्ता संरक्षण कानुन प्रभावकारी छैनन् । प्रदूषित हावापानी, विकिरणयुक्त पर्यावरणले सबै जीवजन्तुसमेतको स्वास्थ्यमा सबैतिर धावा बोलिरहेको अवस्था छ अहिले । आधुनिक युग भनिए पनि धूवाँधूलोबाट आम नेपालीहरू मुक्त छैनन्, शुद्ध पानीको अभाव छ । पानीको मुहान नै राम्रो छैन् । शिक्षा र स्वास्थ्यमा गरिएको लगानी लगभग खेर गएको भन्नुपर्छ । निजी अस्पतालहरू पनि सर्वसाधारणको विरोधबाट टाढा छैनन्, विशेषज्ञ सेवा विज्ञापनमा मात्र सीमित छ ।

वैकल्पिक उपचार सेवा योग र आयुर्वेदिक सेवाले मन जित्न सकेको छैन । सबैतिर अस्पताल विकास समितिहरू छन्, स्वास्थ्यसम्बन्धी व्यावसायिक परिषद्हरू छन्, ती सक्षम र जवाफदेही बन्न सकेनन् । ज्येष्ठ नागरिकको स्वास्थ्य र सुरक्षामा राज्यले पर्याप्त ध्यान दिन सकेन । नाना, खाना, छानाले सताएको नेपाली परिवेशलाई सबैतिर चिन्ता छ । औषधि उत्पादनमा देश आत्मनिर्भर भएन, महँगा औषधि र उपकरण खरिद गर्दैमा धेरै रकम बिदेसिएको छ र मुलुक उच्च व्यापारघाटामा छ ।

प्रतिक्रिया दिनुहोस्