अम्रिसो खेतीतर्फ कृषक आकर्षित

बेथाञ्चोक गाउँपालिका–१ का दुर्गाप्रसाद घिमिरेले व्यावसायिक अम्रिसो खेती सुरु गरेका छन् । पाखोबारीको कान्लामा लगाइएको अम्रिसोले राम्रो मूल्य पाएपछि उनले ५ रोपनी जग्गामा व्यावसायिक खेती सुरु गरेका हुन् । उनलाई अम्रिसो खेतीबाट १० जनाको परिवार चलाउन सहज भएको छ ।
“मैले व्यावसायिक खेती सुरु गरेपछि अन्य कृषकले पनि सिको गर्न थालेका छन्, कम लगानी, कम परिश्रममा राम्रो आम्दानी लिन पाएपछि मकै, कोदो, फापर हुने बारीमा नै अम्रिसो लगाएको छु,” उनले भने, “सडक घर मै आएपछि अझ यसको खेती विस्तार गरेको छु ।” उनले यस वर्ष मात्र दुई लाख रुपैयाँ भन्दा बढीको अम्रिसो बिक्री गरेको बताए ।
डाले घाँसका रुपमा अम्रिसोको पात प्रयोग हुने र फूल तथा बोट बिक्री हुने भएपछि जिल्लाका विकट डाँडापारिका कृषक पनि यसको खेतीमा आकर्षित बनेका छन् । यहाँका अधिकांश कृषकले बारीका कान्लामा अम्रिसो रोपेका छन् । बहुउपयोगी अम्रिसो यतिखेर स्थानीय कृषकका लागि घर खर्च टार्ने राम्रो आम्दानीको स्रोत बनेको छ । महाभारत क्षेत्रको पहाडि भूभाग, जिल्लाको डाँडापारी क्षेत्र भनेर चिनिने खानीखोला, महाभारत गाउँपालिका तथा बेथाञ्चोक गाउँपालिकालगायतमा बढी मात्रामा लगाइएको अम्रिसोबाट वार्षिक ३० टन भन्दा बढी कुचो तथा बोट बिक्री हुने स्थानीय कृष्ण अधिकारीले बताए । उनका अनुसार अम्रिसोको फुल र बोट मात्र बेचेर यी गाउँमा करिब एक करोडभन्दा बढी आम्दानी हुने गरेको छ । यस वर्ष प्रतिकिलो ८० रुपैयाँसम्ममा कुचो बिक्री भएको छ । कृषकहरू अझै मूल्य बढ्ने आशा व्यक्त गर्छन् ।
व्यावसायिक रूपमा खेती गर्दै आएका अर्का कृषक छविलाल घिमिरेले यस वर्ष कुचो बिक्री बाट ६० हजार रुपैयाँ आम्दानी गर्न सफल भएको बताए । “काम गर्ने मान्छे छैनन्, भएका बारी किन बाँझो राख्नु भनेर अम्रिसो लगाएको छु,” उनले भने ।
अम्रिसोको बोटबाट फूल थुतेर १ हप्ता सुकाएपछि यो बिक्रीका लागि तयार हुन्छ । भीर पाखामा समेत लगाउन सकिने अम्रिसो भू–क्षय नियन्त्रणका लागि राम्रो मानिएको वनस्पति हो । सबै क्षेत्रमा एउटै मूल्य नभई व्यपारीअनुसार फरक–फरक मूल्य भए पनि कुचो नबिक्ने समस्या भने नभएको कृषकहरूको भनाइ छ । व्यापारीमार्फत कुचो घर–घरबाट नै बिक्री हुने गरेको छ । बिक्रीका लागि बजारको कुनै समस्या नभए पनि अम्रिसोको फूलको मूल्य स्थिर भने रहने गरेको छैन । घाँसमा समेत प्रयोग हुने कारण बजार मूल्यले अम्रिसो खेतीमा खासै प्रभाव नपर्ने कृषकहरू बताउँछन् । न्यून लगानीबाट राम्रो आम्दानी लिन सकिने कुचोको मूल्य गत वर्षको तुलनामा यस वर्ष भने उच्च भएको कृषकको भनाई छ । पहाडि भिरालो जग्गाका कारण यस क्षेत्रका कृषकहरूले भू–क्षयको समस्या व्यहोर्दै आएका छन् । बारीको कान्लामा लगाइने अम्रिसो भू–क्षय नियन्त्रणका लागि अति उपयोगी मानिन्छ । राम्रो कमाई हुने देखेकै भरमा यस खेती तर्फ लागेका कृषकहरूले कतैबाट सहयोग नपाएको गुनासो गरेका छन् । गाउँगाउँबाट उत्पादन भएको कुचो र बोट पनौती, बनेपा, धुलिखेल तथा काठमाडौं, भक्तपुर, ललितपुरलगायतका जिल्लामा व्यापारीले कुचो बनाएर बेच्न लैजाने गरेका छन् ।
-कपिल कोइराला