आयोजनाको ढिलाईप्रति एडीबीको असन्तुष्टि

एसियाली विकास बैंक (एडीबी)ले गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण कार्य निकै सुस्त भएको भन्दै असन्तुष्टि जनाएको छ । आफ्नो आर्थिक एवं प्राविधिक सहायतामा सञ्चालित आयोजनाको समीक्षाका लागि मंगलबार काठमाडौंमा भएको बैठकमा एडीबीले गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको निर्माणमा भइरहेको ढिलाइप्रति असन्तुष्टि जनाएको हो । एडीबीका उपमहानिर्देशक दिवेश शरणले प्राथमिकता दिएर विमानस्थलको निर्माण कार्यलाई तिब्रता दिन सरकारसँग आग्रह गरे । उनले आयोजनाको काममा कुनै पनि बहानामा हुने ढिलाई एडीबीलाई स्वीकार्य नहुने चेतावनी दिए ।
म्याद सकिन जम्मा ७ महिना बाँकी रहँदा गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको भौतिक प्रगति २६ प्रतिशत मात्र छ । विमानस्थलको ठेकेदार चिनियाँ कम्पनी नर्थ इस्ट सिभिल एभिएसनले निर्माण कार्यलाई तिब्रता नदिएका कारण वित्तीय प्रगति पनि २३ प्रतिशतमा सीमित छ । एडीबीले मेलम्ची खानेपानी आयोजना र यससँग सम्बन्धित काठमाडौं उपत्यका खानेपानी वितरण योजना तथा त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलको सुधार कार्य पनि निकै सुस्त देखिएको भन्दै चिन्ता जनाएको छ । एडीबीले नेपाललमा हवाई यातायात, ऊर्जा, सहरी विकास एवं खानेपानी, सडक पूर्वाधार, शिक्षा र भूकम्पले क्षति पु¥याएका संरचनाको पुनर्निर्माणसँग सम्बन्धित ३५ वटा आयोजना २ खर्ब ३९ अर्ब लगानी गरेको छ ।
कार्यक्रममा एडीबीका नेपाल प्रमुख मुख्तोर खामाधानोभले एडीबीको लगानीमा नेपाल प्राथमिकतामा रहेको भन्दै नेपाललाई गर्ने सहयोगको मात्रा बढाउँदै लगेको र नेपालले पनि त्यसबाट लाभ लिन सक्नुपर्ने बताए । एडीबीले सन २०१७ मा आफ्नो योजनाका ४९ प्रतिशत अर्थात जम्मा ५ सय ३३ मिलियन अमेरिकी डलर बराबरको मात्रै सम्झौता सम्पन्न भएको जनाएको छ । सम्झौता भएकामध्ये पनि ५२ प्रतिशत अर्थात ३३९ मिलियन अमेरिकी डलर मात्रै भुक्तानी गरिएको खामाधानोभले जानकारी दिए । उनका अनुसार एडीबीले लक्ष्य अनुसारको वार्षिक प्रगति हासिल गर्न सरकार र एडीबीले संयुक्त रूपमा पहल कदमी लिनुपर्ने धारणा पनि राखेको छ । कार्यक्रममा अर्थ सचिव शंकरप्रसाद अधिकारीले एडीबीसँगको सहयात्राले नेपालको विकासमा नयाँ आयाम थपिएको बताए । एडीबीको सहयोगबाट अधिकतम लाभ लिन नेपालले प्रयास गरिहेको उनको भनाइ थियो ।