Logo

२४ लाख लागतमा फोहोर व्यवस्थापन केन्द्र

नेपालगन्ज– नेपालगन्ज उपमहानगरपालिकामा २४ लाखको लागतमा दिसाजन्य लेदो व्यवस्थापन अस्थायी ट्रेन्च केन्द्र निर्माण भएको छ । उपमहानगरपालिका–२० बाबाघाटमा दिसाजन्य लेदो व्यवस्थापन अस्थायी ट्रेन्च केन्द्र निर्माण गरी सञ्चालनमा ल्याइएको हो । ट्रेन्च केन्द्र सञ्चालनमा आएसँंगै वर्षौंदेखिको यो समस्या अन्त्य हुने विश्वास नेपालगन्ज उपमहानगरको छ ।

नेपालगन्ज उपमहानगरपालिकाको अनुरोधमा एसएनभी नेपालको स्वास्थ्य तथा विकासका लागि नगर सरसफाइ तथा स्वच्छता कार्यक्रमअन्तर्गत वास एसडिजी परियोजनाको आर्थिक तथा प्राविधिक सहयोगमा निर्मित अस्थायी ट्रेन्च केन्द्र नेपालगन्ज उपमहानगरपालिकालाई हस्तान्तरण गरिएको मेयर प्रशान्त विष्टले बताए ।

लामो समयपछि दिसाजन्य लेदो व्यवस्थापन अस्थायी क्षेत्रको सञ्चालन भएसंँगै अब यो समस्या अन्त्य भएको नगर प्रमुख विष्टले दाबी गरे । ‘दिसा विर्सजन गर्ने ठाउँ नहुँदा पहिले निकै समस्या थियो,’ उनले भने, ‘नेपालगन्ज उपमहानगरपालिकाले अस्थायीरूपमा दिसा विर्सजन गर्ने ठाउँ निश्चित गरेर सञ्चालनमा ल्याएसँगै अब खुला ठाउँमा दिसाजन्य फोहोर फाल्नुपर्ने बाध्यात्मक अवस्थाको अन्त्य भएको छ ।’

नगर प्रमुख विष्टले खुला ठाउँमा दिसाजन्य फोहोर फाल्दा त्यसले पानीको सतहलाई समेत प्रदूषित पार्ने र संक्रामक रोगको महामारी फैलिने जोखिम टरेको बताए । ‘यो समस्या समाधान हुनु नेपालगन्ज उपमहानगरपालिकाका लागि सुखद दिन भएको बताउँदै घरजन्य र स्वास्थ्यजन्य फोहोर व्यवस्थापन साइट यसअघि नै बनिसके पनि दिसाजन्य लेदो ब्यवस्थापन कसरी गर्ने भन्ने टाउको दुःखाइ भएको उनको भनाइ छ ।

‘अहिले अस्थायीरूपमै भए पनि संरचना बनेको छ, यसले निकै सहज हुनेछ,’ विष्टले भने, ‘स्थायी ट्रेन्च केन्द्र बनाउनका लागि डम्पिङ साइट क्षेत्रमै डीपीआर भई काम अगाडि बढेको छ ।’ स्थायी ट्रेन्च बनाउन संघीय सरकारसँंग पनि सहयोग मागेको बताउँदै त्यसका लागि संघीय सरकारको सहयोग जुट्नेमा आशावादी रहेको मेयर विष्टको भनाइ छ । हाल सञ्चालनमा आएको अस्थायी ट्रेन्च केन्द्रको नियमन र अनुगमन गर्नका लागि संयन्त्र बनाइने उनले जानकारी दिए ।

एसएनभीकी वास टिम लिडर नादिरा खवाजाले यसले नेपालगन्ज उपमहानगरपालिकाको सुरक्षित दिसाजन्य लेदो व्यवस्थापनको प्रयासलाई सहयोग पुर्‍याउने विश्वास व्यक्त गरिन् । उनले नेपालगन्जलाई स्वास्थ्यजन्य हिसाबले सुरक्षित बनाउन यसले भूमिका खेल्ने बताइन् । दिसाजन्य लेदो व्यवस्थापन अस्थायी केन्द्रको जग्गा पाँच वर्षका लागि लिजमा लिइएको छ ।

दुई बिघा क्षेत्रफलमा रहेको अस्थायी केन्द्रमा १७ वटा खाल्डा खनिएका छन् । एसएनभीका कन्सल्टेन्ट इन्जिनियर मुनबहादुर खड्काका अनुसार दिसाजन्य लेदो व्यवस्थापन गर्न ४० मिटर लम्बाइ, दुई मिटर उचाइ र १.२० मिटर चौडाइ भएका खाल्डा खनिएका छन् । वरिपरि तारजाली लगाएर सुरक्षित बनाइएको छ । खड्काले द्रुत गतिमा काम गरेर एक महिनामै ट्रेन्च केन्द्रको निर्माण कार्य सम्पन्न गरेको बताए ।

प्रतिक्रिया दिनुहोस्