Logo

लगानी बढाउन कानुन संशोधनको सुझाव

वीरगन्ज– लगानी वातावरण बनाउन कानुनमा संशोधन गर्नुपर्ने सुझाव निजी क्षेत्रले दिएको छ । वीरगन्ज उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष तथा नेपाल भारत सहयोग मञ्चका अध्यक्ष अशोक वैदले वैशाखमा हुन लागेको लगानी सम्मेलनमा सरकारले कानुनमा धेरै संशोधन गर्नुपर्ने बताएका हुन् ।

उनले भने,‘अहिले स्वदेशी लगानी नै जोखिममा छ । पहिले स्वदेशी लगानी सुरक्षित भए मात्रै विदेशी लगानी आउने हो । नेपालमा विदेशी लगानीमा के कस्ता समस्याहरू आएका छन, त्यसको समाधान कसरी गर्ने भन्ने विषयमा सरकारले स्पष्ट पार्नुपर्छ ।’ देशमा भएका उद्योग व्यावसाय चल्ने वातावरण बनाएर स्वदेशी उद्योगहरूलाई सुरक्षित रहेको प्रत्याभूति गरे मात्रै विदेशी लगानी आउने उनको भनाइ छ ।

सरकारले स्वदेशी लगानीका उद्योगलाई संरक्षण गर्न र वैदेशिक लगानी भित्र्याउनका लागि केही कानुनहरू संशोधन गरी नीतिगत सुधार गर्नुपर्ने उद्योगी व्यवसायी र आर्थिक क्षेत्रका विज्ञहरूले बताएका छन् । यसअघि भएका लगानी सम्मेलनमा निजीक्षेत्रले भनेका विषयहरूमा सरकारले कानुन संशोधन नगर्दा विदेशी लगानी नआएको उनीहरूको तर्क छ । नेपालमा लगानी गर्ने विश्वासको वातावरण नै नरहेको भन्दै वैदले नेपालले पेरिस सम्झौता उल्लंघन गर्दा विदेशी लगानी आउन नसकेको बताए ।

नेपालमा विदेशी लगानीमा उद्योग स्थापना गर्नका लागि ट्रेडमार्कको समस्या, विभिन्न कानुनी छिद्रहरू देखाउने, रोयल्टी र डेपुटेशन मनीको कागजी प्रक्रिया झन्झटिलो रहेको वैदको भनाइ छ । एकद्वार प्रणाली सरकारले बजेटमा उल्लेख गरे पनि कार्यान्वयनमा अझै समस्या रहेको उनको भनाइ छ । बहुराष्ट्रिय कम्पनीहरूको ट्रेडमार्क चोरी र पेरिस सम्झौताको उल्लंघनले अन्तर्राष्ट्रिय रूपमा नेपालको छवि बिग्रिएको भन्दै उनले ट्रेडमार्कको समस्यालाई कानुन मन्त्रालयको प्रस्तावमा मन्त्रीपरिषद्बाटै निर्णय गरेर समाधान गर्नुपर्ने बताए ।

कच्चा पदार्थ र तयारी वस्तुको भन्सार दरबन्दीमा दुई तहको फरक हुनुपर्ने, व्यापार घाटा कम गर्नका लागि भारतमा निर्यात हुने वस्तुहरूमा दिइने छुट सिधै निर्यातकर्ताको खातामा पठाउने व्यावस्था हुनुपर्ने उनले बताए । सरकार परिवर्तन हुने वित्तिकै नीति पनि परिवर्तन हुँदा विश्वासको संकट पैदा हुने गरेको भन्दै लगानीको वातावरण बनाउन उद्योग व्यवसाय क्षेत्रमा दीर्घकालीन नीति आवश्यक रहेको वैदको भनाइ छ ।

आयात हुने एक सयभन्दा बढी वस्तुको स्वदेशमा उत्पादन सम्भाव्यताको सूची तयार गरी त्यसको उत्पादन गर्न पहल गर्नुपर्ने उनी बताउँछन् । विदेशी लगानीमा सञ्चालनमा रहेका उद्योगका लगानीकर्ताहरूको छुट्टै गोलमेच सम्मेलन गरी समस्या समाधान गर्ने प्रतिबद्धतासहित संरक्षणको प्रत्याभूति दिएमा मात्रै लगानीको वातावरण बन्ने उनको बुझाइ छ । सरकारले गर्दै आएको लगानी सम्मेलनमा लगानी नआउनुको कारणको अध्ययन र अनुसन्धान नगर्दा लगानी आउन नसकेको आर्थिक क्षेत्रका विज्ञहरू बताउँछन् ।

अर्थसास्त्री एवं वीरगन्ज कलेजका अध्यक्ष दीपेन्द्रकुमार चौधरी सरकारले विगतका वर्षदेखि अन्तर्राष्ट्रिय लगानी सम्मेलन गर्दै आए पनि सम्मेलनबाट उपलब्धि शुन्य देखिएको बताए । उनका अनुसार विदेशी लगानी तथा प्रविधि हस्तान्तरण ऐन तथा नियमावलीमा रहेको विदेशी वित्तीय संस्थाबाट ऋण लिन सक्ने, लगानी तथा आर्जित रकम फिर्ता लैजान पाउने सीमा, रुग्ण उद्योगले पाउने सुविधाहरू नदिने, रोयल्टी रकम वा अन्य शुल्कको सीमा, सेयर बिक्री, हस्तान्तरण र त्यसको कर, ट्रेडमार्क तथा रोयल्टीलगायतका व्यवस्थामा संशोधन आवश्यक रहेको छ ।

प्रतिक्रिया दिनुहोस्