सफल पोखरा अन्तर्राष्ट्रिय म्याराथनमा ५ सय धावक सहभागी हुने

पोखराको खेलकुद सहितको पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले यही (आज) सोमबार हुने ‘१२ औं सफल पोखरा अन्तर्राष्ट्रिय म्याराथन २०७४’ मा करिब ५ सय जना धावक सहभागी हुने भएका छन् ।
भूतपर्व खेलाडी मञ्च नेपालको आयोजनामा सुजल डेरीको उत्पादन सफल दूधको मुख्य प्रयोजनामा प्रजातन्त्र दिवसको अवसरमा बिहान पोखरामा हुने उक्त प्रतियोगितामा करिब ५ सय जना धावकले म्याराथन सहितको विभिन्न इभेन्टमा प्रतिस्पर्धा गर्ने भएको मञ्चका अध्यक्ष तेजबहादुर गुरुङले बताए ।
म्याराथन (४२ किलोमिटर) दौडमा हालसम्म २५ जना धावकहरूले आफ्नो नाम दर्ता गराएको अध्यक्ष गुरुङले जनाए । उनका अनुसार १० किलोमिटर महिलातर्फको सडक दौडमा हालसम्म २५ जना, १० किलोमिटर सडक दौड पुरुषतर्फ ७५ जना, ५ किलोमिटर छात्रातर्फ एक सय जना र ५ किलोमिटर छात्रतर्फ १ सय ८० जना सहभागी हुने गरी नाम दर्ता गराएका छन् ।
पोखरा म्याराथनमा यस वर्ष पुरुस्कार राशिमा समेत वृद्धि गरिएको छ । यस वर्ष प्रथम हुनेले नगद ७० हजार दोस्रोले ४५ हजार र तेस्रोले ३० हजार चौथोले सान्त्वना स्वरूप नगद ५ हजार प्राप्त गर्ने छन् । १० किमी. पुरुष–महिला दौडमा प्रथम हुनेले १५ हजार, दोस्रो हुनेले १० हजार र तेस्रो हुनेले ५ हजार नगद पाउने छन् । यसैगरी ५ किलोमिटर छात्र–छात्रातर्फ प्रथमले १० हजार, दोस्रो हुनेले ७ हजार र तेस्रो हुनेले ४ हजार रुपैयाँ पाउने भएको मञ्चले जनाएको छ ।
प्रतियोगितामा ४ सय मिटर ह्विल चेयर पुरुष, १ सय मिटर ह्विल चेयर महिला र एक सय मिटर दृष्टिविहीन दौड प्रतियोगिता पनि समावेश गरिएको छ । उक्त इभेन्टमा विजेता हुनेले ५ हजार, उपविजेता हुनेले ३ हजार र तेस्रो हुनेले २ हजार साथमा मेडल र प्रमाणपत्र प्राप्त गर्न भएका छन् । यसबाहेक मनोरन्जन दौडका रूपमा विभिन्न क्षेत्रमा कार्यरत र आम पोखरेली करिब एक हजार जनाभन्दा बढीलार्ई ‘रन फर फन’ को रूपमा दौडाउने योजनामा रहेको अध्यक्ष गुरुङले बताए । उक्त प्रतियोगिता सम्पन्न गर्न करिब १७ लाख ३९ हजार खर्च लाग्ने भएको पूर्वअध्यक्ष खड्गबहादुर रानाभाटले बताए । अध्यक्ष गुरुङले पोखरालाई खेलकुदका विश्व मानचित्रमा स्थापित गराई खेलकुद पर्यटन सहरका रूपमा विकास गर्न, पोखरालाई स्र्पोट्स टुरिजमका रुपमा प्रवद्र्धन गर्न उक्त प्रतियोगिताले थप सहयोग पुग्ने विश्वास व्यक्त गरे ।
पत्रकार सम्मेलनमा वोल्दै पोखरा लेखनाथ महानगरपालिकाका मेयर मानबादुर जिसीले उक्त प्रतियोगितालाई महानगरपालिकाले सक्दो सहयोग गर्ने र दिगो रूपमा सञ्चालनका लागि समेत विशेष ध्यान दिने बताए । पोखराको खेलसहितको पर्यटनको विकासमा यस्तो प्रतियोगितलाई अन्तर्राष्ट्रियकै रूपमा स्थापित गर्न सबैले सहयोग गर्नुपर्ने गण्डकी विकास बैंकका अध्यक्ष जगन गुरुङ, सहारा युकेका सल्लाहकार महेश गुरुङलगायतले जोड दिएका थिए ।
–दीननाथ बराल